अर्चना बगाले
बच्चा जन्मिएको कम्तिमा ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्छ । बच्चालाई औषधि वा जीवनजल आवश्यक परेको बेलामा दिन सकिन्छ । तर, सकभर नवजात शिशुलाई आमाको दूध मात्र खुवाउनु राम्रो हो । विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई कम्तिमा पनि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ, जसले शिशुको शारीरिक एवं मानसिक विकासमा सहयोग पु¥याउँछ । ६ महिनापछि भने शिशुलाई अन्य पोषण तत्व मिसाइएका खानेकुरा खुवाउन सकिन्छ । ६ महिनापछि आमाको दूधले मात्र शिशुको विकासमा पर्याप्त सहयोग गर्दैन । सामान्यतया अन्य पोषण तत्वसँगै बच्चालाई दुई वर्षसम्म स्तनपान गराउन सकिन्छ । हाम्रो समाजमा नवजात शिशुलाई जन्मिने बित्तिकै मह, घिउ खुवाउने चलन छ । तर, यो पटक्कै गर्न नहुने काम हो । यसले स्तनपानमा समस्या आउन सक्छ भने शिशुलाई संक्रमण हुन सक्छ । केही बच्चालाई झाडाबान्ता समेत हुन्छ । शिशु जन्मिने बित्तिकै पहिलो पटक आउने दूध शिशुका लागि निक्कै लाभदायक हुन्छ । पहिलो दूधलाई नफाली बच्चालाई खुवाउनुपर्छ ।
स्तनपानको महत्व
१) आमाको दूधमा पाइने कार्बोहाइड्रेड, प्रोटिन र मिनरलले बच्चालाई चाहिने सम्पूर्ण पोषणतत्व परिपूर्ति गर्छ ।
२) बच्चामा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँछ ।
३) बच्चालाई संक्रमण हुनबाट जोगाउँछ ।
४) आमा र शिशुबीच आत्मीयता बढाउँछ ।
५) आमाको दूध शिशुले सजिलै पचाउन सक्छ ।
६) आमाको पाठेघर खुम्चिन सहयोग पुग्छ । स्तनपान गर्दा शरीरमा आउने अक्सिटाइसिन नामक हर्मोनले आमाको शरीर पुरानै अवस्थामा फर्काउन मद्दत गर्छ ।
७) आमाको स्तन र पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।
८) शिशुुलाई स्तनपान गराउँदा केही महिना परिवार नियोजनको समेत काम गर्छ । यसलाई ल्याक्टरनल यमिनोरिया भनिन्छ । तर, यसका लागि आमाले दिउँसो मात्र होइन राति पनि कम्तिमा चार घण्टाको फरकमा स्तनपान गराउनुपर्ने हुन्छ ।
९) बाहिरको दूध (ल्याक्टोजिन) किनेर खुवाउनु नपर्दा खर्च जोगिन्छ ।
१०) स्तनपान गराउँदा बच्चाको शारीरिक र मानसिक विकासमा टेवा पुग्छ । आमाको दूध नै बच्चाको लागि सर्वोपरी हुन्छ। त्यसैले स्तनपानलाई ‘गोल्ड स्ट्यान्डर्ड’ पनि भनिन्छ ।
स्तनपान गराउने आमाले के गर्ने ?
१. सुत्केरी हुनपूर्व नै बच्चालाई स्तनपान कसरी गराउने भन्नेबारे आमाले जानकारी राख्ने। ताकि बच्चा जन्मी सकेपछि स्तनपानमा कठिनाइ नपरोस् ।
२) शिशु जम्मिएको एक घण्टाभित्र नै स्तनपान गराउने ।
३) प्रत्येक दुई घण्टामा बच्चालाई स्तनपान गराउने ।
४) प्रत्येक पटक स्तनपान गराइसकेपछि एक गिलास दूध वा जुस पिउने ।
५) बच्चा बिरामी छ तर खान सक्छ भने स्तनपानलाई निरन्तरता दिने ।
६) शिशुलाई स्तनपान गराउँदा राति पनि उठ्नुपर्ने हुनाले आमाले समय मिलाएर आराम गर्नु अत्यन्त जरुरी हुन्छ ।
७) आमाको स्वास्थ्य मजबुत राख्नका लागि सम्पूर्ण पोषण तत्व पुग्ने गरी खानेकुरा खाने ।
८) स्तनमा संक्रमणका कारण आमाले औषधि प्रयोग गरेको अवस्थामा पनि स्तनपान नगराउने ।
९) आमालाई टिबी, हेपाटाइटिस बि र सी जस्ता रोग छन् भने स्तनपान गराउनु हुँदैन । स्तनपानमा समस्या आए स्वास्थ्यकर्मीको सल्लाह लिनुहोला ।
नवजात शिशुको तौल एकदमै कम भएमा शिशुले स्तनपान गर्न सक्दैन । शिशुमा श्वासप्रश्वासको समस्या भएमा पनि स्तनपान गर्न सक्दैन । आमाले स्तनपान नगराउने वा शिशुले स्तनपान गर्न नसक्ने अवस्था भएमा मात्र १ नम्बरको ल्याक्टोजिन प्रयोग गर्नुपर्छ । ल्याक्टोजिनको प्रयोग गर्दा सरसफाइमा एकदमै ध्यान दिनुपर्छ । यदि लापरबाही भयो भने बच्चामा चाँडै संक्रमण फैलिएर रोगले च्याप्न सक्छ ।
स्वास्थ्यखबर अनलाईनबाट ।