बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको आरुघाट गाउँपालिकाको सोतीबजार र मान्बु जोड्ने पुल बगाएको छ ।
बाढीले पुल बगाएपछि सोतीबजार र मान्बुबिच आवागमन प्रभावित भएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।
बुढीगण्डकी नदीमा आकस्मिक आएको बाढीले पुल बगाएसँगै स्थानीय बासिन्दालाई आवगजावतमा समस्या हुने भएको छ ।
उक्त पुल स्थानीयका लागि एक स्थानबाट अर्को स्थानमा आवजावत गर्न माध्यमका रुपमा रहेको थियो । पुल बगाएपछि स्थानीयको दैनिकी, यातायात तथा विभिन्न कामकाजमा असर पर्ने देखिएको छ ।
आरुघाट गाउँपालिकाले पुल बगाएपछि स्थानीय क्षेत्रमा थप जोखिम बढ्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीका कारण बहाव बढिरेहेको अवस्थामा नदी तर्ने, किनारमा जाने तथा जोखिमपूर्ण स्थानमा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको आरुघाट गाउँपालिकाले जनाएको छ ।
बाढी निरन्तर रुपमा बढिरहेकाले क्षतिको विस्तृत विवरण र अन्य संरचनाबाट पुगेको क्षति वैकल्पिक आवगमनको व्यवस्था बारे थप विवरण आउन बाँकी रहेको छ ।
मान्बुका स्थानीयबासीले आवतजावत सहज बनाउन सम्बन्ध्ति निकायले तत्काल आवश्याक पहल गर्नुपर्ने अपेक्षा गरेका छन् । पुल पुननिर्माण तथा वैकल्पिक व्यवस्था नहुँदासम्म सोती बजार र मान्बुको दुई हजार भन्दा बढी घरधुरीका बासिन्दाहरुलाई कठिनाई हुने देखिएको छ ।
