अमृत बास्कुने, म्याग्दी
कार्तिक २१ गते । म्याग्दीको बेनीमा जारी चौथो बौद्ध कप फुटबल प्रतियोगिता–२०८३ को फाइनल समीकरण पूरा भएको छ । शनिबार सम्पन्न सेमिफाइनलका खेलबाट एभरग्रिन युवा क्लब र मितेरी युवा क्लब दुःखुबेंसीले फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
बेनी नगरपालिका–७, मंगलाघाटको बौद्ध युवा क्लबले आयोजना गरेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मितेरी युवा क्लब दुःखुबेंसीले द मुनसन युवा क्लब चुत्रेनीलाई सडनडेथसम्म पुगेको रोमाञ्चक टाइब्रेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । निर्धारित खेल गोल रहित बराबरी भएपछि टाइब्रेकरमा पुगेको खेल सडनडेथसम्म लम्बिएको थियो ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा एभरग्रिन युवा क्लब बेनीले पश्चिम म्याग्दी युवा क्लब दरवाङलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेको एभरग्रिनले जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
प्रतियोगिताको तेस्रो स्थानका लागि आइतबार पश्चिम म्याग्दी युवा क्लब दरवाङ र द मुनसन युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि उपाधिका लागि एभरग्रिन युवा क्लब र मितेरी युवा क्लब दुःखुबेंसीबीच फाइनल भिडन्त हुने बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढा मगरले जानकारी दिए ।
बौद्ध युवा क्लबको आयोजनामा कात्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टोलीको सहभागिता रहेका थिए । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दोश्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैंया पुरस्कार पाउने छन् ।
प्रतियोगिताको तेस्रो हुने टोलीले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अनुशासित टोलीलाई २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गरिने क्लबका सचिव श्यामसुन्दर कँडेलले जानकारी दिए । उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही सात हजार सात सय ७७ रुपैयाँ नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि १६ लाख ५७ हजार सात सय ७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष कमल घर्तीमगरले बताए ।
बेनीमा सञ्चालन हुने गरेको फुटबल प्रतियोगितामा पहिलो पटक प्रवेश टिकटको व्यवस्था गरीएको छ । प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । टिकट बिक्रीबाट संकलित रकमको ४० प्रतिशत रकम म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गरिने अध्यक्ष बुढामगरले बताए ।
बेनीमा फुटबल प्रतियोगिता अवलोकनका लागि टिकट बिक्री गर्ने अभ्यास पहिलोपटक गर्न लागिएको आयोजकको भनाइ छ । प्रतियोगिताबाट प्राप्त आम्दानीमध्ये खर्च कटाएर बचत भएको रकम क्लबको भवन निर्माणमा परिचालन गर्ने लक्ष्य राखिएको छ ।
