कास्कीको इमेज बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र सवा करोड रुपैयाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले कात्तिक १७ गते देवकुमारसहित ७ जनालाई कैद सजाय, जरिबाना र बिगो रकम असुल गर्ने फैसला गरेको हो । फैसलाको पूर्णपाठ आइसकेको छैन ।
पोखराको सिर्जनाचोकस्थित इमेज सहकारीको रकम हिनामिनामा देवकुमारलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबानाको फैसला भएको छ । सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई ७ वर्ष तथा अन्य ४ जना प्रतिवादीलाई ६ वर्षका दरले कैद सजाय हुने फैसला गरेको छ ।
सञ्चालक चित्रबहादुर र शक्तिलाई ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकिएको छ । निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङसहित ४ जनालाई जनही ६ वर्ष कैद सजाय र १ लाख २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने फैसला भएको छ ।
यो सहकारी ठगी प्रकरणमा अझै ८ जना फरार छन् । उनीहरुको हकमा पूर्णपाठ आएपछि मात्रै भन्ने सकिने अदालतले जनाएको छ ।
सुरुमा ५ सय २४ जनाको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै २०८० भदौ १२ गते कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो ।
जसमध्ये ५ किस्तामा ४ सय जनाको मिलापत्र भएको थियो । बाँकी १ सय १० जनाको जाहेरीका आधारमा झण्डै १८ करोड बिगो माग दाबी गर्दै १५ जनाविरुद्ध नै अभियोगपत्र दायर गरिएको थियो ।
२०८२ कात्तिक २५ कास्की जिल्ला अदालतमा दायर भएको पुरक अभियोगपत्र अनुसार फैसला भएको हो । बागलुङको इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि बागलुङ कारागार चलान भएका देवकुमार नेपालीसहित १५ जनाविरुद्ध पोखरामा अभियोग दर्ता भएको थियो ।
