म्याग्दी । सिद्धशान्ति माध्यमिक विद्यालय हिदीमा साप्ताहिक कार्यक्रमअन्तर्गत कक्षा ६ देखि ८ सम्मको आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा ६, ७ र ८ का सम्पूर्ण छात्रछात्रालाई १० समूहमा विभाजन गरी सहभागी गराइएको थियो । प्रतियोगितामा आशिका दर्जीको समूह प्रथम, निर्जन रोकाको समूह द्वितीय र भविन पुनको समूह तृतीय भएका छन् ।
विद्यार्थीको ज्ञान, सिर्जनात्मक क्षमता तथा तत्काल निर्णय गर्ने क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न चरणमा फरक–फरक प्रकृतिका प्रश्नहरू सोधिएको थियो । पहिलो चरणको साधारण प्रश्नोत्तरमा नेपाली तथा स्वास्थ्य, शारीरिक र सिर्जनात्मक कलाबाट १०/१० गरी जम्मा २० प्रश्न सोधिएको थियो ।
त्यसैगरी दोस्रो चरणमा ‘वन फर अल’ विधिबाट सांगीतिक प्रश्नोत्तर सञ्चालन गरिएको थियो । प्रतियोगितामा र्यापिड फायर राउन्ड, भिजुअल राउन्ड तथा बजर राउन्डसमेत सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक तुलसी सुवेदीले गर्नुभएको थियो । कार्यक्रमका सभाध्यक्ष गौदेवी पुर्जा पुनले स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रतियोगितामा समूह व्यवस्थापनको जिम्मेवारी कक्षा ९ का सम्पूर्ण छात्रछात्राले सम्हालेका थिए भने समय व्यवस्थापन शिक्षक सुनिता छन्त्याल र अङ्क गणनाको जिम्मेवारी कक्षा १० का छात्र माहिजोन थापाले सम्हालेका थिए ।
विद्यालयमा सञ्चालन हुँदै आएका साप्ताहिक अतिरिक्त क्रियाकलापले विद्यार्थीमा अध्ययनसँगै सामान्य ज्ञान, आत्मविश्वास, सिर्जनशीलता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ ।
