नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले युवा र संस्कृति संघ गठन गरेको छ । संघको गतिविधिलाई प्रभाबकारी बनाउन शनिवार बेनीमा आयोजित भेलाबाट कमल घर्तिमगरको अध्यक्षतामा नेपाल मगर युवा संघ र गंगा पुन मगरको अध्यक्षतामा नेपाल मगर संस्कृति संघ जिल्ला समन्वय समिति गठन गरिएको छ ।
नेपाल मगर युवा संघको उपाध्यक्षमा शिव पुर्जा मगर, सचिबमा बिनम थजाली, कोषाध्यक्षमा साजन बलम्पाकी मगर, सहसचिबमा शुसिल फगामी मगर लगायत रहनुभएको छ । त्यसैगरी संस्कृति संघको उपाध्यक्षमा प्रेमबहादुर राना मगर, सचिबमा दिशु गर्बुजा मगर, कोषाध्यक्षमा मिना जुग्जाली मगर,सहसचिबमा पविता पुन मगर लगायत रहनुभएको छ ।
दुबै समितिमा १५ सदस्यीय गठन गरिएको छ । आगामी माघे संक्रान्ति पर्वमा नेपाल मगर संघ म्याग्दीको मुल आयोजनामा हुन लागेको मगर साँस्कृतिक महोत्सवलाई सफल बनाउन संघ अन्तर्गत रहने गरी विभिन्न विद्या र क्षेत्रगत संघ गठनलाई पूर्णता दिएर उपसमितिहरु गठनको तयारी गरिएको नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापा मगरले बताउनुभयो । उहाँका अनुसार, विद्या र क्षेत्रगत संघलाई क्रियाशिल बनाउँदै संघका गतिविधिलाई प्रभाबकारी बनाउनुका साथै संघमा गोलबद्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य टकसरा रानाले मगर समुदायको कला, भाषा, भेषभूषा र परम्पराको संरक्षणका लागि आगामी माघे संक्रान्तिमा आयोजना हुने मगर साँस्कृतिक महोत्सवलाई सफल बनाउन सबै क्षेत्रबाट रचनात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो । मगर संघ म्याग्दीका अध्यक्ष थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु रोका, नेपाल पुन मगर समाज अन्नपूर्णका अध्यक्ष टकबहादुर पुन मगरलगायतले मन्तव्य राख्नुभएको थियो भने नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका सहसचिब रमेश फगामी मगरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

