प्रभुचेला धुरी: आध्यात्मिक शान्तिदेखि ग्रामीण पर्यटनसम्मको नयाँ गन्तव्य
कहिलेकाहीँ कुनै ठाउँको परिचय त्यहाँ बनेका ठूला भवनले दिँदैनन् । सडकले दिँदैन । न त पर्यटकको भीडले नै दिन्छ । कुनै ठाउँको वास्तविक परिचय त्यस माटोमा बसेका मानिस, उनीहरूले गरेको साधना, त्यहाँ जोडिएका विश्वास र पुस्तौँदेखि सुनाइँदै आएका कथाले दिन्छ । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा रहेको प्रभुचेला धुरी यस्तै एउटा ठाउँ हो ।
शान्त छ । गहिरो आस्था छ । प्रकृतिसँग निकै नजिक छ । वरिपरि हेर्दा हरियालीका पहाड छन् । मौसम खुलेका बेला धौलागिरि हिमशृङ्खला आँखैअगाडि उभिएको अनुभूति हुन्छ । वनभित्र पाइने विभिन्न वनस्पति र जडीबुटीको सुगन्धले वातावरणलाई थप प्राकृतिक बनाइदिन्छ । कतै रातो गुराँस फुलेको देखिन्छ, कतै सेतो गुराँस । चिसो हावा चलिरहेको हुन्छ । चराचुरुङ्गीको आवाज सुनिन्छ । अनि त्यही शान्त वातावरणमा बसेर केही बेर आँखा चिम्लिँदा बाहिरी संसारको कोलाहल बिस्तारै हराउँदै जान्छ । तर प्रभुचेला धुरीको महत्व यतिमै सीमित छैन ।
यो त्यो भूमि हो, जहाँ महान तपस्वी स्वर्गद्वारी महाप्रभुका शिष्य कपिलानन्द गिरीले आजभन्दा करिब एक सय १३ वर्षअघि, विसं १९७० सालतिर तपस्या गरेको विश्वास र ऐतिहासिक प्रमाण जोडिएको छ । सन्त पुरुषले साधना गरेको भूमि आफैंमा तीर्थ बन्छ भन्ने आध्यात्मिक मान्यताअनुसार प्रभुचेला धुरीको महत्व झन् गहिरो देखिन्छ ।
लामो समयसम्म ओझेलमा रहेको यो तपोभूमि अहिले विस्तारै आफ्नो परिचय खोज्दैछ । यही स्थानमा प्रसिद्ध आयुर्वेदविज्ञ डा.विपी तिमिल्सिनाको व्यक्तिगत रुपमा झण्डै ५० लाख रुपियाँको लागतमा पाथीभरा माताको मन्दिर स्थापना भएको छ । साधना र ध्यानका लागि संरचना बनेका छन् । धार्मिक तथा आध्यात्मिक गतिविधि सुरु भएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा, यो ठाउँलाई केवल पूजा गर्ने स्थलका रूपमा होइन, मानव कल्याण, शिक्षा, आध्यात्मिक जागरण र ग्रामीण पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । त्यसैले प्रभुचेला धुरी केवल धार्मिक आस्थाको गन्तव्य होइन । यो प्रकृतिलाई महसुस गर्ने, इतिहासलाई बुझ्ने, केही समय आफैंभित्र फर्कने र गाउँको सम्भावनालाई नजिकबाट नियाल्ने ठाउँ पनि हो ।
मालिका गाउँपालिकाले पहिचान गरेका ३५ पर्यटकीय गन्तव्यमध्ये प्रभुचेला धुरी पनि एक महत्वपूर्ण गन्तव्य हो । यी ३५ गन्तव्यको सूचीमा पर्नु यसको धार्मिक तथा प्राकृतिक महत्वको औपचारिक पहिचान पनि हो । अब यसलाई स्थानीय मात्र होइन, बाहिरका पर्यटक र तीर्थयात्रीको गन्तव्य बनाउने चुनौती र अवसर दुवै अगाडि आएको छ ।
गुमनाम तपोभूमिबाट परिचित गन्तव्यसम्म
प्रभुचेला धुरीको कथा आजको होइन । एक शताब्दीअघि कपिलानन्द गिरीले यहाँ साधना गरेको भनिए पनि लामो समयसम्म यस ठाउँबारे सीमित मानिसलाई मात्र जानकारी थियो । गाउँका अग्रजहरूले यहाँ कुनै जोगी बसेर तपस्या गरेको कुरा सुनाउँथे । तर त्यो कथा पुस्तान्तरण हुँदै जाँदा पनि यसको ऐतिहासिक महत्व व्यापक रूपमा बाहिर आउन सकेन । त्यसैले धुरी थियो, कथा थियो, विश्वास थियो, तर परिचय गुमनामजस्तै थियो ।
समयक्रममा योग र आध्यात्मिक चिन्तनमा लागेका योगगुरु नवीन जुग्जालीको हातमा एउटा पत्रिका प¥यो । त्यसमा स्वर्गद्वारी महाप्रभुका विभिन्न शिष्यहरूले कहाँ–कहाँ साधना गरेका थिए भन्ने विवरण उल्लेख गरिएको थियो । पढ्दै जाँदा उनको नजर ‘प्रभुचेला धुरी’ भन्ने नाममा पुग्यो ।
त्यो एउटा सामान्य शब्द थिएन ।
त्यही नामले उनको मनमा प्रश्न जन्मायो– आफ्नै जन्मभूमिको माथिल्लो क्षेत्रमा उल्लेख गरिएको प्रभुचेला धुरी यही त होइन ? बाल्यकालदेखि अग्रजहरूबाट सुन्दै आएको जोगी बसेको ठाउँ र पत्रिकामा उल्लेख भएको प्रभुचेला धुरीबीचको सम्बन्ध खोज्ने जिज्ञासा बढ्दै गयो । अन्ततः उनले त्यस ठाउँमा पुगेर अध्ययन गरे । स्वर्गद्वारी पुगेर त्यहाँका गुरुहरूसँग पनि जानकारी आदानप्रदान गरे ।
अनुसन्धान र खोजपछि कपिलानन्द गिरीले प्रभुचेला धुरीमा साधना गरेको तथ्य पुष्टि हुने आधार भेटिएपछि यो ठाउँलाई संरक्षण र विकास गर्ने सोचले गति लियो ।
कुनै ठाउँको इतिहास कहिलेकाहीँ पुस्तकमा भेटिन्छ । कुनै ठाउँको इतिहास पुरानो भग्नावशेषमा भेटिन्छ । तर प्रभुचेला धुरीको इतिहास मानिसको विश्वास, साधना र स्थानीय स्मृतिमा बाँचेको थियो । त्यसलाई खोजेर बाहिर ल्याउने काम आफैंमा एउटा महत्वपूर्ण प्रयास बन्यो ।
एउटा सपनाले देखाएको बाटो
योगगुरु नवीन जुग्जालीको जीवनमा योग केवल शारीरिक अभ्यास रहेन । विसं २०५७ सालतिर योग सिक्न थालेपछि उनले आफ्नो स्वास्थ्य र मानसिक शान्तिमा आएको परिवर्तनलाई नजिकबाट अनुभव गरे । योगले मानिसको शरीर मात्र होइन, सोच र जीवनशैलीलाई समेत बदल्न सक्छ भन्ने अनुभव भएपछि उनको रुचि अझ गहिरिँदै गयो ।
त्यसपछि उनको यात्रा व्यक्तिगत स्वास्थ्यबाट सामूहिक कल्याणतर्फ मोडियो ।
‘आफू मात्र स्वस्थ र शान्त भएर पुग्दैन, अरूलाई पनि सत्य र शान्तिको बाटोमा लैजानुपर्छ’ भन्ने भावना विकसित भयो । यही भावनाले उनलाई योग सिकाउने, मानिसलाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने र मानव कल्याणका काममा लाग्ने ऊर्जा दियो ।
प्रभुचेला धुरीको इतिहास थाहा पाएपछि उनको मनमा अर्को सपना जन्मियो । किन यो ठाउँलाई साधना केन्द्र नबनाउने ?
किन यहाँ मानिसहरू आएर केही दिन संसारको दौडधुपबाट टाढा बसेर आफूलाई बुझ्ने अवसर नपाउने ? किन नेपालजस्तो ऋषि, मुनि, योगी र सन्तहरूको भूमि फेरि आध्यात्मिक साधनाको केन्द्र बन्न नसक्ने ? यी प्रश्नहरू विस्तारै संकल्पमा परिणत भए । त्यसपछि मन्दिर, हवन कुण्ड, साधना हल र साधकका लागि आवासीय संरचना निर्माणको काम सुरु भयो । सपना देख्न सजिलो हुन्छ । त्यसलाई माटोमा उतार्न कठिन हुन्छ ।
संरचना निर्माणका क्रममा अनेक चुनौती आए । आर्थिक स्रोत जुटाउनेदेखि भौगोलिक कठिनाइसम्मका समस्या थिए । तर ती चुनौतीलाई नै साधनाको एउटा भाग मानेर काम अघि बढाइयो । स्थानीय शुभेच्छुक, मालिका गाउँपालिका तथा केन्द्र सरकारको सहयोगसमेत जोडिँदै गएपछि आज यहाँ करिब ४० जना साधकले सामूहिक रूपमा साधना गर्न सक्ने हल, हवन कुण्ड, मन्दिरलगायतका संरचना तयार भएका छन् ।
ढुङ्गाको छानोमुनि ध्यानको संसार
प्रभुचेला धुरी पुगेपछि सबैभन्दा पहिले प्रकृतिले आकर्षित गर्छ । त्यसपछि त्यहाँ निर्माण गरिएको साधना हलले ध्यान खिच्छ । पिरामिड शैलीमा निर्माण गरिएको हलमा स्थानीय ढुङ्गाको छानो प्रयोग गरिएको छ । आधुनिक निर्माण शैलीको प्रभाव देखिए पनि स्थानीय सामग्री र मौलिकताको प्रयोगले यसलाई आफ्नै किसिमको पहिचान दिएको छ ।
त्यहाँ बसेर बाहिर हेर्दा हिमाल देखिन्छ । आँखा बन्द गर्दा शान्ति महसुस हुन्छ । अनि केही समय ध्यानमा बस्दा प्रकृतिको आवाज नै संगीतजस्तो लाग्न सक्छ । शहरमा बस्ने मानिसका लागि यस्तो अनुभव आफैंमा एउटा यात्रा हो ।
दिनभर मोबाइलको स्क्रिनमा झुन्डिएको मानिस केही समय नेटवर्कको खोजी नगरी बस्न सक्छ । कार्यालयको तनाव बोकेर हिँडेको व्यक्ति केही समय आफूलाई सुन्न सक्छ । निरन्तर दौडिरहेको जीवनबाट केही क्षण विश्राम लिन चाहने मानिसका लागि प्रभुचेला धुरी एउटा सम्भावित आध्यात्मिक आश्रय बन्न सक्छ । यही कारणले पनि यो ठाउँ धार्मिक पर्यटक मात्र होइन, प्रकृति र शान्ति खोज्ने पर्यटकका लागि पनि आकर्षक बन्न सक्छ ।
पाथीभरा माताको आगमन
प्रभुचेला धुरीको धार्मिक महत्वलाई अझ फराकिलो बनाउने गरी यहाँ पाथीभरा माताको मन्दिर स्थापना भएको छ । पवित्र स्थलमा असार २५ गतेदेखि विशेष पूजा सुरु भयो । असार २६ गते प्राणप्रतिष्ठा र २७ गते वैदिक अनुष्ठान सम्पन्न भएपछि मन्दिरमा नियमित पूजापाठ सुरु गरिएको हो । मन्दिरमा स्थापना गरिएको पाथीभरा माताको मूर्ति पूर्वी नेपालको ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा मन्दिरकै स्वरूपमा निर्माण गरिएको छ । आयोजकका अनुसार मूर्ति एक स्थानबाट अर्को स्थानमा सारिएको नभई वैदिक विधिबाट आह्वान गरी प्राणप्रतिष्ठा गरिएको हो ।
पश्चिम नेपालबाट ताप्लेजुङ पुग्न लामो समय, खर्च र कठिन यात्रा आवश्यक पर्छ । त्यसैले पूर्वी नेपाल पुग्न नसक्ने भक्तजनलाई स्थानीयस्तरमै पाथीभरा माताको दर्शन र पूजा गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले यो मन्दिर स्थापना गरिएको हो । यसले प्रभुचेला धुरीको धार्मिक आकर्षण थप बढाएको छ । तर मन्दिर स्थापनाको सबैभन्दा सुन्दर पक्ष यसको सामाजिक उद्देश्यमा छ ।
जब भेटी शिक्षाको उज्यालो बन्छ
मन्दिरमा भक्तजनले चढाएको भेटी सामान्यतः पूजा, मन्दिरको संरक्षण र धार्मिक गतिविधिमा खर्च हुने गर्छ । तर प्रभुचेला धुरीमा एउटा फरक अभ्यास सुरु गरिएको छ । यहाँ संकलन हुने कुल भेटीमध्ये ५० प्रतिशत रकम स्थानीय विपन्न बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरिएको छ । बाँकी ५० प्रतिशत मन्दिर संरक्षण, पूर्वाधार विकास तथा धार्मिक गतिविधिमा प्रयोग गरिनेछ । धर्म र समाजसेवालाई जोड्ने यो निर्णयले मन्दिरको अर्थलाई अझ फराकिलो बनाइदिएको छ ।
कुनै बालबालिकाले आर्थिक अभावकै कारण विद्यालय जान नपाउने अवस्था छ भने त्यहाँ चढाइएको भेटीबाट उसको कापी–कलम जुट्न सक्छ । विद्यालयको शुल्क तिर्न नसक्ने बालबालिकाको पढाइ निरन्तर हुन सक्छ । गरिब परिवारको बच्चाले शिक्षा पाउने अवसर पाउन सक्छ ।
त्यस अर्थमा यहाँ चढाइएको एउटा भेटी केवल धार्मिक कर्मकाण्डमा सीमित हुँदैन । त्यो कसैको भविष्य उज्यालो बनाउने माध्यम बन्न सक्छ । सायद धर्मको सबैभन्दा सुन्दर अर्थ यही हो– आफूले पाएको शान्ति र पुण्यलाई अरूको जीवनमा उज्यालोका रूपमा बाँड्नु ।
तातोपानीदेखि मालिकासम्मको यात्रामा नयाँ गन्तव्य
प्रभुचेला धुरीको अर्को ठूलो सम्भावना यसको भौगोलिक अवस्थिति हो । म्याग्दी सदरमुकाम बेनीबाट दरबाङ हुँदै बिमतर्फ जाने यात्रामा पर्यटकले एकै यात्रामा धेरै प्रकारका अनुभव लिन सक्छन् । बाटोमै पर्ने प्रसिद्ध तातोपानी कुण्डले यात्रालाई अर्को आकर्षण थप्छ । प्राकृतिक रूपमा तातोपानी निस्कने यस कुण्डमा स्नान गर्दा शरीरको थकान कम हुने र विभिन्न प्रकारका स्वास्थ्य समस्यामा लाभ हुने जनविश्वास छ ।
बेनीबाट यात्रा सुरु गरेर तातोपानीमा केही समय बिताउने, दरबाङको स्थानीय जीवन र बजार हेर्ने, बिमको ग्रामीण परिवेश अनुभव गर्ने र अन्ततः प्रभुचेला धुरी पुग्ने यात्रा आफैंमा एउटा सुन्दर ग्रामीण पर्यटन प्याकेज बन्न सक्छ । त्यसपछि यो क्षेत्र मालिका अर्थात् मालिका धुरीतर्फ जाने पदमार्गसँग पनि जोडिन्छ ।
मालिका दर्शनका लागि जाने तीर्थयात्री र पदयात्रीका लागि प्रभुचेला धुरी अर्को महत्वपूर्ण आध्यात्मिक गन्तव्य बन्न सक्छ । एउटा यात्रामा तातोपानीको प्राकृतिक उपचार, प्रभुचेला धुरीको आध्यात्मिक शान्ति र मालिकाको धार्मिक तथा प्राकृतिक सौन्दर्य अनुभव गर्न सकिने सम्भावना छ ।
यसलाई योजनाबद्ध रूपमा जोड्न सकियो भने म्याग्दीको पश्चिमी क्षेत्रमा नयाँ धार्मिक–पर्यटकीय सर्किट विकास गर्न सकिन्छ ।
पर्यटक किन पुग्ने प्रभुचेला धुरी ?
पर्यटकका लागि कुनै ठाउँमा पुग्ने कारण केवल ‘प्रसिद्ध’ हुनु मात्र होइन । कहिलेकाहीँ कुनै ठाउँमा पुग्नुको अर्थ आफूलाई केही समय भेट्नु पनि हो । प्रभुचेला धुरी त्यही अनुभव दिने ठाउँ बन्न सक्छ । धार्मिक आस्था भएका व्यक्तिका लागि यहाँ पूजा र साधना गर्ने अवसर छ । योग र ध्यानमा रुचि राख्नेका लागि शान्त वातावरण छ । प्रकृति प्रेमीका लागि हरियाली, वनस्पति र हिमशृङ्खलाको दृश्य छ । पदयात्रामा रुचि राख्नेका लागि ग्रामीण बाटो र पहाडी भूगोल छ । इतिहास र संस्कृति बुझ्न चाहनेका लागि कपिलानन्द गिरीको तपस्यासँग जोडिएको कथा छ । फोटोग्राफी गर्नेहरूका लागि हिमाल र प्राकृतिक दृश्य छन् । गाउँको जीवन बुझ्न चाहनेका लागि स्थानीय बस्ती र संस्कृति छन् । केही दिनको मानसिक विश्राम खोज्नेका लागि एकान्त छ । अनि सामाजिक सेवामा विश्वास गर्नेहरूका लागि भेटीबाट बालबालिकाको शिक्षामा सहयोग गर्ने उदाहरण छ ।
त्यसैले प्रभुचेला धुरी एउटै प्रकारको पर्यटकीय गन्तव्य होइन । यहाँ धार्मिक पर्यटन, आध्यात्मिक पर्यटन, ग्रामीण पर्यटन, प्रकृति पर्यटन र पदयात्रा पर्यटनलाई एकै ठाउँमा जोड्न सकिने सम्भावना छ ।
गाउँको बाटोले देखाउने नयाँ सम्भावना
पर्यटनको विकास भन्नाले केवल पर्यटक आउने कुरा मात्र होइन । पर्यटक आएपछि गाउँका होटल चल्छन् । स्थानीय उत्पादन बिक्री हुन्छन् । यातायात व्यवसायीले काम पाउँछन् । स्थानीय गाइडको आवश्यकता पर्छ । हस्तकलाका सामग्री बिक्री हुन सक्छन् । दूध, तरकारी, फलफूल, मह, घिउ, अचारलगायत स्थानीय उत्पादनको बजार विस्तार हुन सक्छ ।
त्यसैले प्रभुचेला धुरीको विकास धार्मिक संरचनाको विकास मात्र होइन, स्थानीय अर्थतन्त्रसँग पनि जोडिएको विषय हो । यसका लागि सडक पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, विश्रामस्थल, आवास, स्थानीय गाइड र पर्यटकको सुरक्षाजस्ता पक्षमा क्रमशः सुधार गर्न आवश्यक छ ।
अहिले वर्षायाममा सडक केही कठिन भए पनि आगामी दिनमा सडक पहुँचलाई बाह्रै महिना सहज बनाउने प्रयास भइरहेको बताइएको छ । सडकसँगै पदमार्गलाई पनि व्यवस्थित गर्न सकियो भने पैदल यात्रामा रुचि राख्ने पर्यटकका लागि थप आकर्षण सिर्जना गर्न सकिन्छ ।
३५ गन्तव्यमध्ये एउटा सम्भावनायुक्त गन्तव्य
मालिका गाउँपालिका धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक दृष्टिले सम्भावनायुक्त क्षेत्र हो । गाउँपालिकाले पहिचान गरेका ३५ पर्यटकीय गन्तव्यमा प्रभुचेला धुरी पनि समेटिएको छ । यो सूचीमा समेटिनु मात्र पर्याप्त छैन । अब प्रत्येक गन्तव्यलाई आवश्यक पूर्वाधार, प्रचारप्रसार र स्थानीय सहभागितासँग जोडेर पर्यटकीय उत्पादनका रूपमा विकास गर्नुपर्ने समय आएको छ । प्रभुचेला धुरी त्यसका लागि राम्रो उदाहरण बन्न सक्छ । यहाँ धार्मिक आस्था छ । इतिहास छ । प्राकृतिक सौन्दर्य छ । हिमालको दृश्य छ । योग र ध्यानको सम्भावना छ । पाथीभरा मन्दिर छ । मालिकातर्फ जाने मार्गसँग सम्बन्ध छ । तातोपानी कुण्डसँग जोडिने सम्भावना छ । सबैभन्दा महत्वपूर्ण कुरा, स्थानीय समुदायको सहभागिता र सामाजिक सेवाको भाव पनि जोडिएको छ ।
यी सबै पक्षलाई एउटै कथामा बाँध्न सके प्रभुचेला धुरी केवल मालिका गाउँपालिकाको ३५ गन्तव्यमध्ये एउटा नाममा सीमित रहने छैन । यो म्याग्दीको पहिचान बोकेको एउटा विशिष्ट धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्छ ।
यहाँ पुग्दा केही लिएर फर्कन सकिन्छ
प्रभुचेला धुरीबाट फर्किँदा पर्यटकले केवल फोटो र भिडियो मात्र लिएर फर्कनुपर्ने छैन । कसैले शान्ति लिएर फर्कन सक्छ । कसैले नयाँ सोच लिएर फर्कन सक्छ । कसैले कपिलानन्द गिरीको तपस्याको कथा बोकेर फर्कन सक्छ । कसैले प्रकृतिको सुन्दरता मनमा राखेर फर्कन सक्छ । कसैले पाथीभरा माताको आशीर्वाद सम्झँदै फर्कन सक्छ । अनि कसैले यहाँको भेटीबाट पढ्न पाउने कुनै बालबालिकाको भविष्य सम्झेर फर्कन सक्छ । सायद यही प्रभुचेला धुरीको सबैभन्दा ठूलो शक्ति हो ।
यहाँ धर्म केवल मन्दिरमा सीमित छैन । धर्म सेवा बनेको छ । साधना केवल आफूभित्र सीमित छैन । मानव कल्याणसँग जोडिएको छ । पर्यटन केवल घुमघाममा सीमित छैन । स्थानीय जीवन र अर्थतन्त्रसँग जोडिएको छ ।
त्यसैले प्रभुचेला धुरी पुग्नु भनेको एउटा ठाउँमा पुग्नु मात्र होइन । यो एउटा कथा भेट्नु हो । एउटा विश्वास भेट्नु हो । प्रकृतिसँग संवाद गर्नु हो । अनि सम्भवतः केही समयका लागि आफ्नै मनभित्र फर्किनु पनि हो । मालिका गाउँपालिकाको ३५ गन्तव्यमध्ये एक भएर आफ्नो परिचय बनाउँदै गरेको प्रभुचेला धुरीले अब पर्यटकलाई बोलाइरहेको छ ।
धौलागिरिको दृश्य हेर्न, वनको सुगन्ध महसुस गर्न, पाथीभरा माताको दर्शन गर्न, कपिलानन्द गिरीको तपस्याको कथा बुझ्न, ध्यान र साधनाको शान्ति अनुभव गर्न र गाउँको सरल जीवनलाई नजिकबाट नियाल्न सकिन्छ । बेनीबाट यात्रा सुरु गरेर दरबाङ हुँदै बिमतर्फ लाग्ने यात्रुले आफ्नो गन्तव्यमा एउटा थप ठाउँ अवश्य राख्न सक्छन् प्रभुचेला धुरी । किनकि कहिलेकाहीँ यात्रा नयाँ ठाउँ हेर्नका लागि मात्र हुँदैन । यात्रा आफूभित्रको थकान बिसाउन पनि हुन्छ । र प्रभुचेला धुरी त्यस्तो ठाउँ बन्न सक्छ, जहाँ पुगेर मानिसले केही क्षण प्रकृतिलाई हेर्छ, केही क्षण इतिहासलाई सम्झन्छ र केही क्षण आफ्नै जीवनलाई पनि नियाल्छ । स्वर्गद्वारी महाप्रभुका शिष्य कपिलानन्द गिरीले साधना गरेको भनिएको यही तपोभूमि आज नयाँ यात्राको प्रतीक्षामा छ । धर्म, प्रकृति, इतिहास, पर्यटन र सेवाको संगम बनिरहेको प्रभुचेला धुरीले अब म्याग्दीको पहिचानलाई अझ फराकिलो बनाउने समय आएको छ ।
यहाँ आउनुहोस् । हिमाल हेर्नुहोस् । प्रकृति महसुस गर्नुहोस् । मन्दिरमा पुगेर श्रद्धा व्यक्त गर्नुहोस् । केही समय मौन बस्नुहोस् । र फर्किँदा एउटा कुरा सम्झनुहोस् साँचो तीर्थ केवल जहाँ पुगिन्छ त्यो ठाउँ होइन, जहाँ पुगेपछि मन केही राम्रो भएर फर्किन्छ, त्यो ठाउँ पनि तीर्थ हो ।
प्रभुचेला धुरी त्यही अनुभूति दिने सम्भावना बोकेको म्याग्दीको एउटा सुन्दर तपोभूमि हो ।
