म्याग्दी । असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि बाढीपहिरोको जोखिम बढेका म्याग्दीका २६ स्थानमा भूगर्भविद्सहितको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ। बाढीपहिरोको दीर्घकालीन समाधान, जोखिम न्यूनीकरण तथा सुरक्षित बस्ती व्यवस्थापनका लागि नेपाल भौगर्भिक समाजको नेतृत्वमा विज्ञ टोलीले प्रभावित क्षेत्रमा पुगेर वैज्ञानिक अध्ययन गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्य तथा साहरा समूहको समन्वयमा गरिएको अध्ययनअन्तर्गत बेनी नगरपालिकाका २२ र रघुगंगा गाउँपालिकाका चार स्थानमा भौगर्भिक जोखिमको अवस्था अध्ययन गरिएको नेपाल भौगर्भिक समाजका भूगर्भविद् तथा त्रिचन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. चम्पकबाबु सिलवालले जानकारी दिए। थप जोखिमयुक्त क्षेत्रमा समेत नयाँ कार्यतालिका बनाएर अध्ययन गरिने समाजले जनाएको छ।
पहिरोको अवस्था, जमिनको बनोट र जोखिमको वास्तविक स्थिति पहिचान गर्न आधुनिक सर्वेक्षण उपकरण तथा ड्रोनको प्रयोग गरिएको थियो। पहिरो गएको स्थानबाट ढुंगा र माटोका नमुना संकलनसमेत गरिएको छ। संकलित नमुना तथा स्थलगत विवरणको विश्लेषणपछि जोखिमको प्रकृति र सम्भावित नियन्त्रणका उपायबारे वैज्ञानिक निष्कर्ष निकालिने भूगर्भविद्हरूले बताएका छन्।
नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा चारजना विज्ञसहित जिल्लामा कार्यरत इन्जिनियर तथा प्राविधिकको सहभागितामा पहिलो चरणको अध्ययन गरिएको हो। बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार समाजको नेतृत्वमा रहेको प्राविधिक टोलीले शनिबारदेखि पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको थियो। अध्ययनका क्रममा पहिरोको प्राकृतिक अवस्थासँगै मानवीय त्रुटिका कारण सिर्जना हुने जोखिमका विषयमा समेत स्थानीयलाई जानकारी गराइएको र तत्काल व्यवस्थापनका उपाय पहिचान गर्न सहयोग पुग्ने उनले बताए।
स्थलगत अध्ययन र संकलित नमुनाको वैज्ञानिक विश्लेषणपछि विज्ञ टोलीले सरकार तथा सम्बन्धित निकायलाई प्राविधिक प्रतिवेदन उपलब्ध गराउनेछ। सोही प्रतिवेदन र विज्ञको सुझावका आधारमा पहिरो नियन्त्रण, जोखिम न्यूनीकरण तथा बजारवासी र जोखिममा रहेका बस्तीको सुरक्षाका लागि दीर्घकालीन योजना बनाइने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।
बेनी नगरपालिका–८ खोरियामा करिब तीन सय मिटर उचाइ र पाँच सय मिटर चौडाइ क्षेत्रफलमा फैलिएको खरबारीको माथिल्लो भाग एक मिटरभन्दा तलसम्म दबिएको र बीच भागमा विभिन्न ठाउँमा चिरा तथा धाँजा फाटेको अवस्थामा रहेकाले स्थानीयमा त्रास थियो। अध्ययनपछि जोखिमको वास्तविक अवस्था पहिचान हुने भएकाले केही राहतको महसुस भएको स्थानीय निशा सुवेदीले बताइन्।
नेपाल भौगर्भिक समाजका अध्यक्ष खतिवडाका अनुसार पाखोमा चिरा परेपछि रुखहरू लड्दा जमिन दबिएको देखिए पनि त्यसको कालिगण्डकी नदीको बहावसँग प्रत्यक्ष सम्बन्ध नरहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ।
भूगर्भविद्को टोलीले बेनी नगरपालिकाका भस्भसे, खवरा, लभ्लीहिल पाखा, हाडेभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, तातोपानी–सिंगा, आँखेबगर, अर्थुङे–अँधेरी गैह्रा, जम्रेली, जमुनाखर्क, महारानीस्थान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी र माटे बिसौनामा अध्ययन गरेको हो।
त्यसैगरी रघुगंगा गाउँपालिकाका हर्खर्क–धाइखर्क, बर्खर्क, माझखर्क र कल्लेनीमा पनि भौगर्भिक जोखिमको अध्ययन गरिएको समाजले जनाएको छ।
भूगर्भविद्, इन्जिनियर तथा ड्रोन अपरेटरसहित १२ सदस्यीय विज्ञ टोलीले स्थलगत अवस्था, पहिरोको प्रकृति र जोखिमका विषयमा विवरण संकलन गरेको थियो। अध्ययन टोलीमा भूगर्भविद् भास्कर खतिवडा, डा. चम्पकबाबु सिलवाल, दिपक गौतम, रुपक ज्ञवाली, जानकी खत्री र मिरा जिसी तथा इन्जिनियर माधव देवकोटा, सुमन सुवेदी र विजय नारायण मण्डल सहभागी थिए।
नेपाल भौगर्भिक समाजले अध्ययनबाट प्राप्त प्रतिवेदन छिट्टै सम्बन्धित निकायलाई उपलब्ध गराउने जनाएको छ। प्रतिवेदनका आधारमा जोखिम न्यूनीकरण, सुरक्षित बस्ती व्यवस्थापन, पहिरो नियन्त्रण तथा आगामी विपद्का लागि आवश्यक पूर्वतयारीको योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। समाजले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई सतर्क रहन तथा सम्भावित जोखिमबाट सुरक्षित रहनसमेत आग्रह गरेको छ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.2.11.0.W20;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;