म्याग्दी/ जिल्लाको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ८३ मा विनियोजित बजेटको ७७.४२ प्रतिशत खर्च गर्दै अधिकांश विकास योजना सम्पन्न गरेको जनाएको छ ।
गाउँपालिकाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा कुल ५१ करोड ३८ लाख २८ हजार रुपैयाँ बजेटमध्ये ३९ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए । वर्षभरि सम्झौता गरिएका १६५ योजनामध्ये १५९ वटा सम्पन्न भएका छन् भने ६ वटा योजना सम्पन्न हुन बाँकी रहेका छन् । झोलुङ्गे पुलसहित केही योजना निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।
गाउँपालिकाले आर्थिक वर्षभरि ७९ लाख ७६ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा नागरिकले ३३ हजार ४१८ पटक सेवा लिएका थिए भने पाँचवटा बर्थिङ सेन्टरबाट महिलाहरुले सुरक्षित सुत्केरी सेवा लिएका छन् । गत वर्ष गाउँपालिका भित्रका सबै सुत्केरी स्वास्थ्य संस्थामै भएको र घरमै सुत्केरी हुने संख्या शून्य रहेको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तु केसीले जानकारी दिइन् ।
कृषि क्षेत्रमा ७४ मिनी टिलर, ६७ प्लास्टिक टनेल, १० हजार ६१२ सुन्तलाका बिरुवा वितरण गर्नुका साथै विभिन्न कृषि कार्यक्रममार्फत सयौँ कृषक लाभान्वित भएका छन् । पशु सेवा अन्तर्गत १३ हजारभन्दा बढी पशुको उपचार, १०३ वटा कृत्रिम गर्भाधान तथा १०४ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
शिक्षा क्षेत्रमा ८३.९४ प्रतिशत बजेट खर्च भएको, स्थानीय शिक्षा योजना कार्यान्वयन, शिक्षक तालिम, विद्यालय अनुगमन र शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । रोजगार तथा उद्यमशीलता कार्यक्रममार्फत ९४ बेरोजगारले औसत ९१ दिन रोजगारी पाएका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तीन श्रमिकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सार्वजनिक सुनुवाइमार्फत वित्तीय प्रगति, सेवा प्रवाह, विकास निर्माण र आगामी सुधारका योजनाबारे नागरिकलाई जानकारी गराउँदै प्राप्त सुझावलाई आगामी कार्यक्रम सञ्चालनमा समेट्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा नन्दी घर्ती, हिरा पुन, छेमबहादुर बिश्वकर्मा लगायतले आफ्नो प्रश्न राखेका थिए । सर्वसाधारणको प्रश्नको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकाल, ६ नम्बर वडा अध्यक्ष पथबहादुर रोका लगायतले जवाफ दिएका थिए ।
