अमृत बास्कुने, दरवाङ
विश्व पर्यटन उद्योग आज विश्व अर्थतन्त्रको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो । संयुक्त राष्ट्रसंघको पर्यटन संगठनका अनुसार पर्यटनले विश्वको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान पु¥याउनुका साथै करोडौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ । प्राकृतिक सम्पदा, संस्कृति, धार्मिक आस्था र स्थानीय जीवनशैलीलाई आर्थिक समृद्धिको आधारमा रूपान्तरण गर्ने क्षमता पर्यटनसँग छ । यही कारणले विश्वका धेरै देशहरूले पर्यटनलाई विकासको प्रमुख आधार बनाएका छन् ।

नेपाल पनि हिमाल, जैविक विविधता, संस्कृति र धार्मिक सम्पदाका कारण विश्वकै आकर्षक पर्यटन गन्तव्य हो । सगरमाथादेखि लुम्बिनीसम्म, अन्नपूर्ण पदमार्गदेखि मुक्तिनाथसम्म नेपालले विश्वलाई आकर्षित गरिरहेको छ । तर, यस्ता प्रसिद्ध गन्तव्यहरूसँगै सम्भावनाले भरिपूर्ण थुप्रै क्षेत्र अझै पनि प्रचार–प्रसार र योजनाबद्ध विकासको अभावमा ओझेलमा परेका छन् । म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित मालिका गाउँपालिका त्यस्तै सम्भावनाको खानी हो ।

प्राकृतिक सुन्दरता, धार्मिक आस्था, ऐतिहासिक महत्व, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीको अनुपम संगम बनेको मालिका गाउँपालिकाले पर्यटनको क्षेत्रमा ठूलो सम्भावना बोकेको छ । तर, यी सम्भावनालाई योजनाबद्ध ढङ्गले उजागर गर्न नसक्दा यहाँका धेरै गन्तव्यहरू अझै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित हुन सकेका छैनन् ।
म्याग्दी उद्योग वाणिज्य संघ मालिका बजार इकाइका अध्यक्ष लेकबहादुर पुन भने मालिकालाई भविष्यमा म्याग्दीकै मात्र नभई धवलागिरि क्षेत्रकै महत्वपूर्ण पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्छन् ।
उनका अनुसार मालिका गाउँपालिकाका सातै वडामा पर्यटकलाई लोभ्याउने दर्जनौँ प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरू रहेका छन् । वडा नम्बर १ निस्कोटमा रहेको बराही ताल, राताम्य गुराँसले ढाकिएका डाँडाहरू, सिद्ध (ठूल) देवता थान, भालु गुफा र स्याल गुफाले प्रकृतिप्रेमीलाई आकर्षित गर्छन् । वडा नम्बर २ को दुरलेक मन्दिर र स्लेट ढुङ्गा खानी, वडा नम्बर ३ को शोले डाँडा र ट्राउट माछा पालन केन्द्र, वडा नम्बर ४ को तामाखानी, वडा नम्बर ५ को देउताभिर र बालचौर, वडा नम्बर ६ मा रहेको विश्वमै चर्चित मानिने भाले बास्ने ताल तथा प्रसिद्ध मालिकाधुरी र वडा नम्बर ७ को प्रभु चेलास्थल मालिका क्षेत्रका प्रमुख आकर्षण हुन् ।

यी सम्पदाले मालिका गाउँपालिकालाई धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सक्ने क्षमता राख्छन् । तर सम्भावना मात्र पर्याप्त हुँदैन । त्यसलाई योजनामा रूपान्तरण गर्न स्थानीय सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र समुदायको साझा प्रयास अपरिहार्य हुने पुनको भनाइ छ ।
हालसम्म विदेशी पर्यटकहरू मालिका हुँदै धवलागिरि हिमाल आरोहणका लागि जाने गरे पनि उनीहरू गाउँपालिकाभित्र बस्ने अवधि अत्यन्त न्यून रहेको अध्यक्ष पुन बताउँछन् । अधिकांश पर्यटक एक–दुई दिन पनि नबसी गन्तव्यतर्फ लाग्ने गरेका छन् । यसले पर्यटनबाट स्थानीय अर्थतन्त्रले पाउन सक्ने लाभ गुमिरहेको उनको निष्कर्ष छ । अर्कोतर्फ, प्रभुचेला दर्शन तथा मालिकाधुरीमा पूजा गर्न आउने धार्मिक पर्यटकहरूको आगमन भने निरन्तर रहेको छ ।

पर्यटन विकासमा सबैभन्दा ठूलो चुनौती पूर्वाधार रहेको उनी स्वीकार गर्छन् । गुणस्तरीय सडक, सुरक्षित यातायात, सूचना प्रणाली, सञ्चार सुविधा, व्यवस्थित होटल तथा होमस्टे, तालिमप्राप्त गाइड र प्रभावकारी प्रचार–प्रसारबिना पर्यटनको दिगो विकास सम्भव नहुने उनको धारणा छ । पर्यटकलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई पुनः फर्किन प्रेरित गर्ने सेवा र आतिथ्य विकास गर्नु आजको आवश्यकता भएको उनी बताउँछन् ।
अध्यक्ष पुनका अनुसार उद्योग वाणिज्य संघले मालिकाभित्र रहेका कम्तीमा २० वटा प्रमुख पर्यटकीय क्षेत्रको पहिचान र औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ । ती गन्तव्यहरूको ब्रान्डिङ, प्रचार–प्रसार तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने योजना पनि अघि बढाइएको छ ।

पर्यटन र व्यापारलाई उनले “नङ र मासु“ जस्तै सम्बन्ध भएको क्षेत्रका रूपमा चित्रण गर्छन् । पर्यटकको आगमन बढेसँगै होटल, रेष्टुरेन्ट, यातायात, कृषि उत्पादन, हस्तकला, स्थानीय खाद्य सामग्री, स्मरणीय कोशेली र अन्य व्यवसायहरू स्वतः विस्तार हुने भएकाले पर्यटनलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा लिनुपर्ने उनको भनाइ छ । कोभिड–१९ पछि कमजोर बनेको स्थानीय व्यापारलाई पुनर्जीवित गर्न पनि पर्यटन नै सबैभन्दा प्रभावकारी माध्यम हुन सक्ने उनी बताउँछन् ।
स्थानीय कला, संस्कृति र कृषि उत्पादनको संरक्षणलाई पनि उनले पर्यटनसँग प्रत्यक्ष जोड्छन् । स्थानीय उत्पादनको बजारीकरण, कृषक तथा हस्तकलाकर्मीलाई प्रोत्साहन, बजार व्यवस्थापन, अनुदान र आवश्यक समन्वयमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उद्योग वाणिज्य संघले पहल गरिरहेको जानकारी उनले दिएका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङलाई भविष्यमा पर्यटन र व्यापारिक हबका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको अध्यक्ष पुनले बताएका छन् । दरवाङ हुँदै बागलुङ, रुकुम, धवलागिरिको गुर्जा हुँदै डोल्पासम्म सडक सञ्जाल विस्तार गर्न सके कर्णाली प्रदेशसम्म पुग्ने छोटो मार्ग बन्ने र यसले पर्यटनसँगै व्यापारलाई पनि नयाँ उचाइमा पु¥याउने उनको विश्वास छ ।
उनी स्थानीय सरकार, उद्योग वाणिज्य संघ, पर्यटन बोर्ड, राजनीतिक दल, सञ्चारमाध्यम, बुद्धिजीवी, सुरक्षा निकाय र प्रवासी मालिकाबासी सबैको साझा सहकार्यबाट मात्र मालिका गाउँपालिकाको पर्यटन सम्भावना यथार्थमा परिणत हुने बताउँछन् । पर्यटन प्रवद्र्धनसँगै स्थानीय सरकारको राजस्व वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता विकास र गाउँको समग्र आर्थिक रूपान्तरण सम्भव हुने भएकाले पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने उनको आग्रह छ ।
मालिकासँग प्रकृतिले दिएको अनुपम सौन्दर्य छ, संस्कृतिले दिएको मौलिकता छ, धर्मले दिएको आस्था छ र समुदायसँग अतिथिलाई आत्मीयतापूर्वक स्वागत गर्ने संस्कार पनि छ । अब आवश्यक छ त केवल योजनाबद्ध विकास, दिगो लगानी र प्रभावकारी प्रवद्र्धन । यदि यी पक्षमा सबैको साझा प्रतिबद्धता कायम रह्यो भने मालिका गाउँपालिका केवल म्याग्दीको मात्र होइन, नेपालको उदीयमान पर्यटन गन्तव्यका रूपमा विश्व पर्यटन नक्सामा स्थापित हुन धेरै समय लाग्ने छैन ।
