नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा नेकपा (एमाले) म्याग्दीले बेनीमा एक विचार गोष्ठीको आयोजना गरेको छ।
एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेताहरूले पुष्पलाल श्रेष्ठको जीवनी, उहाँको वैचारिक योगदान र नेपालको वाम-प्रजातान्त्रिक आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिकाबारे चर्चा गरेका थिए।
विचार गोष्ठीमा बोल्दै नेताहरूले वर्तमान समयमा नेकपा एमाले जनमत र सङ्गठनात्मक दुवै हिसाबले रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै गम्भीर आत्मसमीक्षा गरेका छन्। एमालेले लिएको नीति र विचारले अझै पनि देशको राजनीतिक तथा आर्थिक मार्गदर्शन गरिरहेको भए पनि नेता-कार्यकर्ताको व्यवहारका कारण जनतामा निराशा छाएको उनीहरूको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नरदेवी पुन, केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले मन्तव्य व्यक्त गर्दै अब एमालेका नेता तथा कार्यकर्ताहरू आचरणगत र साङ्गठनिक रूपमा रूपान्तरित हुनुपर्नेमा जोड दिए ।
नेताहरूले भने, “हामी र हाम्रा नेताका व्यवहार तथा आचरणबाट असन्तुष्ट बनेका जनताले निर्वाचनमार्फत आफ्नो आक्रोश पोखेका हुन्। विगतमा जनताको घरदैलोमा पुगेर सोचेअनुसार काम गर्न नसकेकोमा अब जनतासमक्ष माफी माग्दै पुनःसङ्गठन निर्माणमा लाग्नुपर्छ।”
सो अवसरमा नेताहरूले वर्तमान सत्ता गठबन्धन र सरकारको पनि आलोचना गरेका थिए। वैचारिक मार्गदर्शनविहीन र हुलमुलबाट बनेका राजनीतिक शक्तिहरूले मुलुकलाई सही दिशा दिन नसक्ने दाबी गर्दै नेताहरूले पुष्पलालका विचार र सिद्धान्तलाई अङ्गीकार गरेर अघि बढे मात्रै वामपन्थी आन्दोलन र देशको समृद्धिको सपना पूरा हुने बताएका थिए।
कार्यक्रममा जिल्ला तहका अन्य नेता, कार्यकर्ता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पुष्पलाल श्रेष्ठको संक्षिप्त जीवनी
पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको मन्थलीमा भएको थियो। उनका पिता भक्तलाल श्रेष्ठ सरकारी जागिरे थिए भने माता लक्ष्मी श्रेष्ठ हुन्।
विद्यालय तहमै अध्ययनरत रहँदादेखि नै उनी ब्रिटिस साम्राज्यवाद र राणा शासनविरोधी विचारतर्फ आकर्षित भए। राणाविरोधी आन्दोलनका क्रममा दाजु गंगालाल श्रेष्ठलाई वि.सं. १९९७ मा राणा शासकहरूले सहिद बनाएपछि उनको राजनीतिक चेतना अझ तीब्र भयो। दाजुको बलिदानले उनलाई आजीवन क्रान्तिको बाटोमा होमिन ऊर्जा प्रदान गर्यो।
पुष्पलालकै प्रमुख पहलमा वि.सं. २००६ साल वैशाख १० गते (सन् १९४९ अप्रिल २२) भारतको कलकत्ता (हाल कोलकाता) को श्यामबजारस्थित एक अपार्टमेन्टमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भयो।
वि.सं. २००७ को क्रान्ति, त्यसपछिको प्रजातान्त्रिक अभ्यास, २०१५ सालको निर्वाचन र २०२२ सालको पुनर्गठन हुँदै उनले जीवनको अन्तिम समयसम्म नेपाली समाजको रूपान्तरणका लागि संघर्ष गरेका श्रेष्ठको उपचारका क्रममा वि.सं. २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पताल, भारतमा उनको निधन भयो।
पुष्पलाल केवल एक संगठक मात्र थिएनन्, उनी नेपाली क्रान्तिको मौलिक कार्यदिशा निर्माण गर्ने प्रमुख सैद्धान्तिक चिन्तक पनि थिए। उनले विदेशी मोडलका क्रान्तिलाई जस्ताको तस्तै उतार्नुको सट्टा नेपालको भूराजनीतिक अवस्था, सामाजिक बनोट र सामन्ती उत्पादन सम्बन्धलाई ध्यानमा राखेर मार्क्सवाद–लेनिनवादको प्रयोग गर्नुपर्ने मान्यता राखे।
नेपाली जनतालाई मार्क्सवादी दर्शन बुझाउनका लागि उनले वि.सं. २००६ सालमै कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा रचित ‘कम्युनिष्ट घोषणापत्र’ लाई नेपाली भाषामा अनुवाद गरे। यो नै नेपाली वामपन्थी आन्दोलनको पहिलो सैद्धान्तिक दस्तावेज थियो।
पुष्पलालले निरंकुशताको अन्त्य र जनताको अधिकार प्राप्तिका लागि वामपन्थी शक्ति मात्र नभई लोकतान्त्रिक शक्तिहरूसँग समेत सहकार्य गर्नुपर्ने दूरदर्शी विचार अगाडि बढाए। उनले २०१४ सालको तेस्रो महाधिवेशनबाटै ‘संयुक्त मोर्चा’ को कार्यदिशालाई जोड दिएका थिए।
पुष्पलाल श्रेष्ठले देखाएको बाटो, विपी कोइराला लगायतका नेताहरूसँगको लोकतान्त्रिक सहकार्यको आवश्यकता र उनले प्रतिपादन गरेको संयुक्त जनआन्दोलनको कार्यदिशा नै पछि नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरू (२०४६ र २०६२/०६३ को जनआन्दोलन) को आधारशिला बन्यो। आज पनि नेपालका वामपन्थी तथा परिवर्तनकारी दलहरूले सैद्धान्तिक विमर्श गर्दा पुष्पलालको वैचारिक निष्ठा र सादा जीवन शैलीलाई आफ्नो प्रेरणाको स्रोतका रूपमा स्मरण गर्ने गर्छन्। पुनहिल डटकमबाट साभार
