गाउँको एउटा पुरानो घर थियो ।
ठूलो थिएन, तर आँगन फराकिलो थियो । आँगनको बीचमा एउटा पुरानो तुलसीको मठ थियो । पूर्वतिर फर्किएको घरको छानामाथि वर्षौँ पुरानो खरानी र धुवाँका दाग थिए । भित्तामा पुराना तस्बिरहरू थिए—छोराहरू सानै हुँदाका, छोरीको विवाहको, अनि कहिलेकाहीँ गाउँमा हुने कुनै ठूलो पूजापर्वका ।
घर पुरानो थियो ।
तर घरभित्रका सम्बन्धहरू त्यो घरभन्दा पनि पुराना थिए ।
त्यही घरमा बस्ने गर्थे करिब ७० वर्ष नाघिसकेका एक वृद्ध बुबा र ७० वर्ष पुग्न लागेकी उनकी श्रीमती ।
उनीहरूका चार सन्तान थिए ।
तीन छोराछोरी आफ्ना–आफ्ना घरमा थिए । कसैको छुट्टै परिवार थियो, कसैको आफ्नै व्यस्तता । माइती आउँदा छोरी केही दिन बस्थिन् । छोराहरू पनि कहिलेकाहीँ आउँथे । तर स्थायी रूपमा बाबुआमाको साथमा रहने भने कान्छो छोरा रमेशकी श्रीमती सीता थिइन् ।
रमेश भने घरमा थिएनन् ।
देशभित्रकै अर्को सहरमा जागिर गर्थे ।
श्रीमती घरमा ।
श्रीमान् टाढा ।
बीचमा दूरी थियो ।
तर प्रेम अथाह थियो ।
सीता र रमेशको विवाह भएको धेरै वर्ष भइसकेको थियो । उनीहरूबीच कुनै ठूलो माग थिएन । न ठूलो सपना ।
उनीहरूको सपना साधारण थियो ।
शान्त घर ।
एकअर्काको साथ ।
छोराछोरीको राम्रो भविष्य ।
बुढा भएका बाबुआमाको सेवा ।
र साँझको समयमा एक कप चिया सँगै बसेर पिउन पाउने सानो खुसी ।
तर जीवनले उनीहरूलाई त्यो सामान्य खुसी पनि पूरा रूपमा दिएको थिएन ।
रमेश आफैं पनि बिरामी थिए ।
दायाँ हातमा टेनिस एल्बोको समस्या थियो । बायाँ हातको औँला फ्र्याक्चर भएको थियो । दुवै खुट्टामा समेत फ्र्याक्चरका कारण पीडा र असहजता थियो । कोलेस्ट्रोलको मात्रा बढेको थियो । भिटामिन डी कम थियो । चिकित्सकले नियमित औषधि खान र स्वास्थ्यको ख्याल राख्न भनेका थिए । खानेकुराका सेड्युल दिएका थिए डाक्टरले भने उनले खानामा सामान्य मात्रै पनि तल माथि भएमा शरिर नै तलमाथि हुने भन्ने सुझाब दिएका थिए । जब सम्म खानेकुराहरुमा डाक्टरको सल्लाह बमोजिम रहन्छ शरिर ठिक रहन्छ होइन भने खानाको तलमाथि भएमा शरिर पनि तलमाथि हुन सक्ने भन्दै चिकित्सकले सचेत गराउने मात्र नभएर चेतावनी नै दिएका थिए ।
तर आफ्नो शरीरभन्दा ठूलो चिन्ता उनलाई घरको थियो ।
उनलाई थाहा थियो ।
“बुबा बूढा भइसक्नुभयो । आमा पनि उमेरले कमजोर हुँदै जानुभएको छ ।”
त्यसैले उनले एक दिन सीतालाई भनेका थिए, “तिमी घरमै बसिदेऊ । बुबा–आमालाई तिमीले हेर्दिए मलाई यहाँबाट पनि ढुक्क हुन्छ ।”
सीताले श्रीमान्को अनुहार हेरेकी थिइन् ।
उनलाई थाहा थियो, रमेशले यो कुरा कुनै स्वार्थले भनेका होइनन् ।
उनले बिस्तारै भनिन्,
“तपाईं ढुक्क भएर काम गर्नुस् । उहाँहरू तपाईंका बाबुआमा मात्रै होइनन्, मेरा पनि त हुन् ।”
रमेशले उनको हात समात्दै भनेका थिए,
“म तिमीलाई धेरै दुःख दिन चाहन्नँ ।”
सीता मुस्कुराएकी थिइन् ।
“तपाईंलाई साथ दिनु दुःख होइन ।”
त्यो दिन उनीहरूको प्रेमले एउटा नयाँ जिम्मेवारी स्वीकार गरेको थियो ।
तर जिम्मेवारी स्वीकार गर्नु र त्यसको मूल्य पाउनु एउटै कुरा रहेनछ ।
सीताको दिन बिहानै सुरु हुन्थ्यो ।
घरमा सबैभन्दा पहिले उठ्ने उनी ।
सबैभन्दा पछि सुत्ने पनि उनी ।
बिहान उठेर पानी तताउने ।
चिया बनाउने ।
ससुराको औषधि तयार गर्ने ।
सासुलाई तातोपानी दिने ।
खाना पकाउने ।
घर सफा गर्ने ।
कपडा धुने ।
घरको आवश्यक काम मिलाउने ।
आवश्यक परेको समयमा खेतबारीतिर पनि पुग्नुपर्ने ।
त्यसपछि गाउँकै नजिकै एउटा सानो जागिरमा जानुपर्ने ।
जागिर ठूलो थिएन ।
आम्दानी पनि ठूलो थिएन ।
तर त्यो उनको आफ्नै श्रम थियो ।
दिनभर अरूका काममा व्यस्त भएर साँझ घर फर्किँदा उनको आफ्नै शरीरले विश्राम खोजिरहेको हुन्थ्यो ।
तर घरले उनलाई विश्राम कहाँ दिन्थ्यो र?
घर फर्किएपछि फेरि भान्सामा पस्नुपर्थ्यो ।
सासु–ससुराको खाना ।
औषधि ।
पानी ।
घरको सरसफाइ ।
भोलिको तयारी ।
त्यसपछि मात्र उनी आफ्नो लागि केही समय खोज्थिन् ।
तर त्यो समय पनि उनले रमेशसँग फोनमा कुरा गर्ने सम्म पनि डराउन पर्थ्यो । किनकी फोनमा कुरा गरेको सुन्दा ससुरा ब्लाष्ट हुन्थे कति बोल्न सक्छन् । किन बोल्न पर्छ भन्दै नानाथरीका सुझाब ससुराले दिने गर्दथे ।
तर पनि सिताले समय मिलाएर रमेशलाइ फोन गर्थिन् ।
अनि सोध्ने गर्थिन् ।
“खाना खानुभयो?”
“खाएँ ।”
“औषधि खानुभयो?”
“अँ, खाएँ ।”
“हात कस्तो छ?”
“आज अलि दुखेको छ ।”
“खुट्टा?”
“त्यो पनि दुख्छ ।”
“डाक्टरले आराम गर्न भन्नुभएको छ नि ।”
“आराम गरेर बस्दा घर चल्छ त काली?”
रमेश हाँस्न खोज्थे ।
“तिमी पनि त धेरै काम गर्छ्यौ ।”
सीता पनि हाँस्न खोज्थिन् ।
“म त ठीक छु ।”
तर त्यो “म ठीक छु”भित्र कति धेरै थकान लुकेको थियो, त्यो उनले कहिल्यै भन्न पाइनन् ।
किनकि उनलाई थाहा थियो—
रमेश आफैं पनि पीडामा छन् ।
उनलाई थप दुःख दिनु हुँदैन ।
यही सोचेर उनी हरेकपटक आफ्नै दुःख लुकाउँथिन् ।
रमेशलाई पनि सीताको जीवन सजिलो छैन भन्ने थाहा थियो ।
तर उनी पनि एउटा अप्ठ्यारो अवस्थामा थिए ।
एकातिर बिरामी शरीर ।
अर्कोतिर वृद्ध बाबुआमा ।
अर्कोतिर श्रीमती ।
अर्कोतिर छोराछोरी ।
आफ्नो कमाइले सबैलाई सम्हाल्नुपर्ने बाध्यता ।
र त्यसको बीचमा उनले एउटा कुरा कहिल्यै बिर्सेनन्—
सीताले उनका लागि आफ्नो जीवनको ठूलो हिस्सा घरमा छोडेकी छिन् ।
त्यसैले उनी प्रायः श्रीमतीलाई एउटा कुरा भनिरहन्थे,
“मसँग वा अरु जो कसै सँग पनि रिस उठ्यो भने मसँगै रिसाऊ । कसैलाइ केही भन्न मन छ भने मलाई भन । बाबाआमाले केही भन्नुभयो भने पनि अरूसँग नभन । दिदीबहिनी, छिमेकी, आफन्त कसैसँग पनि कुरा नफैलाऊ । मलाई नै भन । हामी दुई जनाले मिलेर समाधान गरौँला ।”
सीता चुपचाप सुन्थिन् ।
उनी भन्थिन्,
“म अरूलाई भनेर तपाईंलाई अप्ठ्यारो पार्न चाहन्नँ ।”
रमेश भन्थे,
“मलाई थाहा छ । त्यसैले त भन्छु—मनमा नराख ।”
तर सीताको समस्या यही थियो ।
उनी श्रीमान्लाई सबै कुरा बताउन चाहन्थिन् ।
तर श्रीमान् आफैं बिरामी थिए ।
उनलाई लाग्थ्यो—
“मैले सबै कुरा भनें भने उहाँलाई झन् पीडा हुन्छ ।”
त्यसैले उनले आफ्नो मनभित्र एउटा अर्को घर बनाइन् ।
जहाँ उनको दुःख मात्रै बस्न थाल्यो ।
समय बित्दै गयो ।
रमेशका बुबा छोरालाई प्रायः फोन गर्दैनथे ।
तर जब आफ्नै कुनै आवश्यकता पर्थ्यो, फोन आउँथ्यो ।
कहिलेकाहीँ घरमा कुनै काम पर्यो भने ।
कहिलेकाहीँ पैसा चाहियो भने ।
कहिलेकाहीँ कुनै निर्णय गर्नुपर्यो भने ।
अथवा—
सीताका बारेमा गुनासो गर्नुपर्यो भने ।
त्यतिबेला फोन आउँथ्यो ।
रमेश फोन उठाउँथे ।
“हेलो बुबा ।”
“के गर्दैछस्?”
“काममा छु ।”
“काम मात्रै गर्छस् कि घर पनि हेर्छस्?”
रमेश चुप हुन्थे ।
“तेरी श्रीमतीले आज यो गरिन । त्यो गरिन ।”
रमेश सुन्थे ।
“बुबा, के भयो?”
“केही हुँदैन । तिमीहरूलाई हामी बूढाबूढीको वास्ता छैन ।”
रमेशको मन दुख्थ्यो ।
तर उनले प्रतिवाद गर्दैनथे ।
किनकि उनीभित्र एउटा संस्कार गहिरो थियो—
“बुबा हुन् ।”
कहिलेकाहीँ बुबाको स्वर गाली र थर्काइसम्म पुग्थ्यो ।
रमेश फोन राखेपछि लामो समयसम्म मौन बस्थे ।
उनलाई रिस उठ्थ्यो ।
दुःख लाग्थ्यो ।
तर बाबुलाई केही भन्न सक्दैनथे ।
बरु आमालाई फोन गरेर मात्र भन्थे,
“आमा, केही समय पहिला बुबाले मलाई धेरै गाली गर्नुभयो ।”
आमा केही बेर चुप लाग्नुहुन्थ्यो ।
“किन?”
“घरको कुरा हो ।”
“बुबाको स्वभाव त तिमीलाई थाहा छ ।”
रमेशले लामो सास फेर्थे ।
“थाहा छ आमा ।”
उनी त्यसभन्दा बढी केही भन्दैनथे ।
आफ्नै श्रीमतीलाई पनि धेरै कुरा सुनाउँदैनथे ।
किनकि उनलाई डर थियो—
सीताले आफूले गरेको कामको बीचमा श्रीमान्ले पनि बाबुको व्यवहारबारे गुनासो गर्न थाले भने उनको मन अझ कमजोर होला ।
तर त्यही मौनता सीताले कहिलेकाहीँ अर्कै रूपमा बुझ्थिन् ।
“सायद उहाँले पनि मेरो कुरा पत्याउनुहुन्न ।”
“सायद उहाँलाई पनि लाग्छ, म पर्याप्त गर्दिनँ ।”
तर वास्तविकता त्यस्तो थिएन ।
रमेशलाई सबैभन्दा बढी पीडा आफ्नी श्रीमतीको नै थियो ।
उनी धेरै कुरा देख्न चाहन्थे ।
तर दूरीले उनलाई केवल आवाज सुन्न दिएको थियो ।
घरमा सीताको सबैभन्दा ठूलो प्राथमिकता थियो—
घर ।
आफ्नो स्वास्थ्य होइन ।
श्रीमान् होइन ।
छोराछोरी होइन ।
पहिलो प्राथमिकता घर ।
घरको काम सकिएपछि मात्र बाँकी संसार ।
आफ्नो स्वास्थ्य बिग्रँदै गएको थाहा हुँदाहुँदै पनि उनी अस्पताल जान ढिला गर्थिन् ।
“पहिले घरको काम सकियोस् ।”
श्रीमान्लाई भेट्न मन लाग्दा पनि सोच्थिन्,
“घरमा बुबाआमा एक्लै हुन्छन् ।”
छोराछोरीले केही समय माग्दा पनि भन्थिन्,
“अहिले अलि काम छ ।”
आफ्नो थकानलाई उनले कहिल्यै प्राथमिकता दिइनन् ।
उनको प्रेमको अभिव्यक्ति नै सेवा थियो ।
तर दुर्भाग्यले त्यही सेवा धेरैपटक कसैलाई देखिएन ।
उनी दिनभर काम गर्थिन् ।
तर कसैले सोध्थेन—
“तिमी थाक्यौ?”
उनी खाना बनाउँथिन् ।
तर कसैले कहिलेकाहीँ पनि भन्दैनथ्यो—
“आज तिमी नबनाऊ, म बनाउँछु ।”
उनी औषधि सम्झाउँथिन् ।
तर आफ्नो औषधि खाने समय भने कहिलेकाहीँ बिर्सिन्थिन् ।
उनी सबैको आवश्यकता सम्झिन्थिन् ।
तर उनको आवश्यकता सम्झिने कोही थिएन ।
सबैभन्दा ठूलो पीडा यही थियो ।
उनलाई माया थिएन भन्ने होइन ।
उनको मनमा सबैका लागि अथाह माया थियो ।
तर त्यो माया व्यक्त गर्ने अधिकार उनले आफूलाई कहिल्यै दिइनन् ।
श्रीमान्लाई भेट्न मन लाग्दा पनि मन दबाउँथिन् ।
छोराछोरीलाई समय दिन मन लाग्दा पनि कामतिर फर्किन्थिन् ।
आराम गर्न मन लाग्दा पनि घर सम्झिन्थिन् ।
उनी आफैंलाई सम्झिन बिर्सिँदै गएकी थिइन् ।
त्यसबीच दाजुभाइहरू पनि आफ्नो–आफ्नो संसारमा थिए ।
घरमा सहयोग गर्न उनीहरू नियमित आउँदैनथे ।
तर कहिलेकाहीँ घरबाट केही आवश्यक पर्यो भने सम्झिन्थे ।
“बुबा, त्यो काम मिलाइदिनुस् ।”
“आमा, त्यति पैसा चाहिएको थियो ।”
“घरको त्यो सामान पठाइदिनुस् ।”
“हामीलाई यो सहयोग गरिदिनुस् ।”
सीता ती कुराहरू पनि सुनिरहन्थिन् ।
उनलाई कहिलेकाहीँ लाग्थ्यो—
“यो घर सबैको हो, तर यसको जिम्मेवारी मेरो मात्रै किन?”
तर उनले त्यो प्रश्न पनि आफैंभित्र राखिन् ।
किनकि उनलाई थाहा थियो—
प्रश्न गर्न थालियो भने घरमा सम्बन्धको हिसाब सुरु हुन्छ ।
उनी हिसाब गर्न चाहन्नथिन् ।
उनी घर जोगाउन चाहन्थिन् ।
तर घर जोगाउने मानिसको मन कसले जोगाउने?
यो प्रश्नको उत्तर उनीसँग थिएन ।
अर्कोतर्फ आमाको आफ्नै दुःख थियो ।
उहाँ कहिलेकाहीँ छोरीसँग फोनमा कुरा गर्नुहुन्थ्यो ।
छोरीले सोध्थिन्,
“आमा, कस्तो छ?”
आमाले आफ्नो दुःख सुनाउनुहुन्थ्यो ।
“बूढाबूढीको अवस्था यस्तै छ । घरमा काम गर्ने मान्छे पनि छैन ।”
छोरीले सोध्थिन्,
“भाउजूले त हेर्छिन् होला नि?”
आमा कहिलेकाहीँ भन्नुहुन्थ्यो,
“खै, के गर्छे र? घरमा खासै केही गर्दिन जस्तो लाग्छ ।”
सीताले यी कुराहरू प्रत्यक्ष नसुने पनि कहिलेकाहीँ छिमेकी वा घरका प्रसंगबाट थाहा पाउँथिन् ।
त्यतिबेला उनको मनमा एउटा प्रश्न उठ्थ्यो—
“मैले दिनभर गरेको काम कहाँ गयो?”
बिहानदेखि रातिसम्मको दौडधुप ।
आफ्नो स्वास्थ्य बिर्सेर गरेको सेवा ।
जागिरबाट फर्किएपछि पनि घरको काम ।
औषधि ।
खाना ।
पानी ।
सरसफाइ ।
सबै कहाँ गयो?
तर उनले कसैलाई जवाफ मागिनन् ।
किनकि उनी बुहारी थिइन् ।
उनले मनमनै सोचिन्—
“बुहारीले गरेको कामको प्रमाण हुँदैन । उसले नगरेको कामको भने हिसाब हुन्छ ।”
यो सोच्दा उनको आँखामा आँसु आउँथ्यो ।
तर उनले आँसु पुछ्थिन् ।
किनकि सासुले देख्नुभयो भने फेरि प्रश्न उठ्ला ।
ससुराले देख्नुभयो भने “नाटक” भन्नुहोला ।
श्रीमान्लाई भनिन् भने उहाँलाई दुःख होला ।
त्यसैले उनले आफ्नो आँसु पनि लुकाइन् ।
एक दिन उनको बिदा थियो ।
बिदा धेरै दिनको थियो ।
तर उनी हरेक बिदामा श्रीमान्लाई भेट्न जान्थिनन् ।
कहिलेकाहीँ मात्र ।
त्यो पनि पूरा बिदा होइन ।
बिदाको आधा समय घरमै बसेर सासु–ससुराको काम मिलाउने, आवश्यक कुरा पूरा गर्ने अनि बाँकी आधा समय मात्र श्रीमान्लाई भेट्न जाने ।
उनी श्रीमान्सँग केही दिन बस्न सक्थिन् ।
तर बस्दिनथिन् ।
किनकि मनमा एउटै कुरा हुन्थ्यो—
“घरमा बुबा–आमा छन् ।”
एकपटक उनले आधा बिदा लिएर रमेशलाई भेट्न जाने निर्णय गरिन् ।
रमेशको स्वास्थ्य पनि त्यतिबेला ठीक थिएन ।
उनी केही समय श्रीमान्सँग बस्न चाहन्थिन् ।
रमेशलाई आफ्नो हातको पीडा कस्तो छ भनेर आफ्नै आँखाले हेर्न चाहन्थिन् ।
औषधि समयमा खाए कि खाएनन् भनेर हेर्न चाहन्थिन् ।
दुवै खुट्टाको अवस्था हेर्न चाहन्थिन् ।
आफ्नै हातले खाना खुवाउन मन थियो ।
तर घरबाट निस्कनुअघि उनको मनमा फेरि डर थियो ।
“बुबाले के भन्नुहुन्छ?”
“आमाले के सोच्नुहुन्छ?”
“घरमा केही भयो भने?”
उनले सासुलाई सबै काम मिलाएर भनिन्,
“आमा, म आज आधा बिदा लिएर उहाँलाई भेट्न जान्छु । बाँकी समय त यहीँ बस्छु ।”
सासुले खासै केही भन्नुभएन ।
तर ससुराको अनुहार बदलियो ।
केही बेरपछि रमेशको फोनमा बुबाको फोन आयो ।
“तेरी श्रीमती कहाँ जाँदैछे?”
“मलाई भेट्न आउँदैछिन् बुबा ।”
“हामीलाई छोडेर?”
रमेशले शान्त भएर भने,
“बुबा, आधा बिदा मात्रै हो । आधा समय घरमै बसेकी छे ।”
“हामीलाई चाहिँ को हेर्छ?”
रमेशले केही क्षण आँखा बन्द गरे ।
उनको हात दुखिरहेको थियो ।
खुट्टा पनि दुखिरहेको थियो ।
तर मनको पीडा त्योभन्दा ठूलो थियो ।
“बुबा, ऊ सधैँ घरमै हुन्छे ।”
“त्यसैले त भन्छु, घरमा बस्ने हो भने घरमै बसोस् ।”
रमेश चुप लागे ।
बुबाले अझै केही कठोर शब्द बोले ।
रमेशले सुने ।
अन्त्यमा केवल यति भने,
“हुन्छ बुबा ।”
फोन राखे ।
उनको आँखामा आँसु थियो ।
उनले सीतालाई फोन गरेनन् ।
तर केही बेरपछि सीताको फोन आयो ।
“म निस्किँदै छु ।”
रमेशले बिस्तारै भने,
“सीता… आज नआऊ ।”
उताबाट लामो मौनता ।
“किन?”
“बुबाको चित्त दुख्न सक्छ उहाँलाइ सोधेर पक्का गरेर मात्र निस्कनु ।”
“म त आधा बिदा मात्रै आउन लागेकी ।”
“मलाई थाहा छ ।”
“मलाई भेट्न मन थियो ।”
रमेशको घाँटी अवरुद्ध भयो ।
“मलाई पनि ।”
“अनि?”
“घरमा बस ।”
सीताले केही भनिनन् ।
उनले फोन राखिन् ।
झोलामा राखेको श्रीमान्का लागि किनेको फलफूल हेरेर केही बेर बसिरहिन् ।
त्यो फलफूल उनले कसैलाई दिइनन् ।
त्यो दिन पनि उनी घरमै बसिन् ।
साँझ खाना बनाइन् ।
ससुरालाई खाना दिइन् ।
सासुलाई औषधि दिइन् ।
सबै सुतेपछि मात्रै उनले त्यो फलफूलको झोला खोलेर हेरिन् ।
त्यो झोलाभित्र प्रेम थियो ।
तर त्यो प्रेम पनि उनी श्रीमान्सम्म पुर्याउन सकिनन् ।
रमेश आफ्नो कोठामा एक्लै त थिए ।
उनले मोबाइलमा सीताको फोटो हेरे ।
मनमनै भने,
“तिमीले मलाई भेट्न पाउनु पनि अपराधजस्तो किन भयो?”
तर त्यो प्रश्नको उत्तर पनि उनीसँग थिएन ।
उनले बुबालाई दोष दिन सकेनन् ।
आमालाई दोष दिन सकेनन् ।
श्रीमतीलाई पनि दोष दिन सकेनन् ।
त्यसैले दोष उनले आफूलाई दिए ।
“मैले उसलाई यो घरमा किन पठाएँ?”
त्यो प्रश्नले उनलाई भित्रैदेखि पोल्यो ।
तर अर्को आवाज आयो—
“बाबुआमा त हुन् नि ।”
रमेश फेरि मौन भए ।
उनी आफ्ना बाबुआमालाई छोड्न चाहँदैनथे ।
तर श्रीमतीलाई पनि दुखी बनाउन चाहँदैनथे ।
यही दुई चाहनाको बीचमा उनी आफैं बिस्तारै टुक्रिँदै गएका थिए ।
एक दिन सीता आफैं बिरामी परिन् ।
ज्वरो थियो ।
शरीर दुखिरहेको थियो ।
तर बिहान उठेर ससुराको चिया बनाइन् ।
सासुको औषधि मिलाइन् ।
खाना पकाइन् ।
घर सफा गरिन् ।
जागिरमा पनि गइन् ।
साँझ फर्किँदा उनी यति थाकेकी थिइन् कि ढोकामा केही बेर उभिएर मात्रै सास फेरिन् ।
त्यतिबेला उनको मोबाइल बज्यो ।
रमेश थिए ।
“कहाँ छौ?”
“घरमा ।”
“आवाज कमजोर छ ।”
“अलि थाकेको ।”
“बिरामी त छैनौ?”
“छैन ।”
“साँचो भन ।”
सीता चुप लागिन् ।
रमेशले बुझिहाले ।
“तिमीलाई ज्वरो छ?”
सीताको आँखाबाट आँसु झर्यो ।
“अलिकति ।”
रमेशको स्वर बदलियो ।
“डाक्टरलाई देखायौ?”
“समय मिलेन ।”
“घरको कामभन्दा तिमी ठूलो हौ ।”
सीता मुस्कुराइन् ।
“तर घर पनि त छ ।”
रमेश केही बोल्न सकेनन् ।
त्यो रात उनले पहिलोपटक गहिरो गरी महसुस गरे—
आफ्नी श्रीमतीले आफ्नो जीवनमा आफूलाई समेत कतै पछाडि धकेलेकी छिन् ।
त्यस रात रमेशले भने,
“सीता, तिमीले मलाई एउटा कुरा वाचा गर ।”
“के?”
“आफूलाई पनि माया गर्छु भनेर ।”
सीता केही क्षण चुप लागिन् ।
“माया त गर्छु नि ।”
“कसलाई?”
“तपाईंलाई ।”
“आफूलाई?”
सीताले उत्तर दिइनन् ।
रमेशले बिस्तारै भने,
“तिमीले आफूलाई पनि त्यति नै माया गर्न सिक । तिमी नभए यो घर कसरी चल्छ भन्ने सोचेर मात्रै नबस । तिमी पनि मान्छे हौ ।”
सीताले आँसु पुछिन् ।
“तपाईंलाई थाहा छ?”
“के?”
“मलाई सबैभन्दा बढी माया तपाईंप्रति छ ।”
“मलाई थाहा छ ।”
“तर त्यो माया व्यक्त गर्न पनि डर लाग्छ ।”
रमेशको मुटु भारी भयो ।
“किन?”
“कहिलेकाहीँ लाग्छ, म तपाईंलाई भेट्न चाहन्छु भन्दा कसैलाई दुःख हुन्छ । तपाईंलाई सम्झन्छु भन्दा घरको काम छुट्छ । छोराछोरीसँग बस्न चाहन्छु भन्दा कसैले मलाई स्वार्थी भन्छ । अनि म बिरामी छु भन्दा घरको काम कसले गर्छ भन्ने प्रश्न आउँछ ।”
रमेशको आँखाबाट आँसु झर्यो ।
“तिमीले धेरै सह्यौ ।”
सीताले तुरुन्तै भनिन्,
“तपाईंले पनि त सहनुभएको छ ।”
दुवै चुप भए ।
त्यो मौनतामा उनीहरूको प्रेम अझ गहिरो भयो ।
त्यो प्रेम शब्दमा थिएन ।
त्यो प्रेम प्रतीक्षामा थियो ।
एकअर्काको स्वास्थ्यको चिन्तामा थियो ।
आधा बिदा मात्र भेट्न पाउँदा पनि खुसी हुने मनमा थियो ।
फोन काटेपछि फेरि फोन हेर्ने बानीमा थियो ।
राति सबै सुतेपछि चुपचाप एकअर्कालाई सम्झने क्षणमा थियो ।
रमेश कहिलेकाहीँ सोच्थे—
“यदि सीता मेरो साथमा भएको भए, मेरो दुखेको हातमा औषधि लगाइदिन्थी ।”
सीता सोच्थिन्—
“यदि रमेश घरमा भएको भए, म आज अलिकति रोएर मन हलुका गर्न सक्थेँ ।”
तर दूरी थियो ।
र त्यो दूरी उनीहरूले प्रेमले सहिरहेका थिए ।
समय बित्दै गयो ।
घरको व्यवहार भने धेरै परिवर्तन भएन ।
ससुराको फोन अझै आवश्यकतामा आउँथ्यो ।
कहिलेकाहीँ गुनासोका लागि ।
आमाले अझै कहिलेकाहीँ छोरीसँग घरका कुरा गर्नुहुन्थ्यो ।
दाजुभाइहरू आफ्नो आवश्यकता पर्दा सम्झिन्थे ।
तर सीता भने त्यही घरमा थिइन् ।
त्यही घरको ढोका खोल्थिन् ।
त्यही आँगन बुहार्थिन् ।
त्यही भान्सामा आगो बाल्थिन् ।
त्यही वृद्ध आमाबुबालाई औषधि खुवाउँथिन् ।
त्यही घरको पीडा पनि बोकिन् ।
एक दिन रमेश घर आए ।
लामो समयपछि ।
उनको स्वास्थ्य ठीक थिएन ।
हिँड्दा समस्या थियो ।
हात दुखिरहेको थियो ।
तर घरको ढोकामा पुग्दा उनलाई एउटा कुरा देखियो ।
सीता आँगनमा कपडा धुँदै थिइन् ।
उनको अनुहारमा थकान थियो ।
तर श्रीमान्लाई देख्नेबित्तिकै उनको अनुहारमा मुस्कान आयो ।
रमेशले केही भनेनन् ।
उनले केवल सीतालाई हेरे ।
सीताले हात पुछिन् ।
“आउनुभयो?”
रमेशले टाउको हल्लाए ।
“आएँ ।”
सीता नजिक आइन् ।
“हात कस्तो छ?”
“दुखेको छ ।”
“खुट्टा?”
“त्यो पनि ।”
“औषधि ल्याउनुभयो?”
“ल्याएँ ।”
सीताले उनको झोला समातिन् ।
त्यो क्षण उनीहरूबीच कुनै प्रेमको संवाद थिएन ।
तर त्योभन्दा गहिरो प्रेम त्यहाँ थियो ।
एकले अर्कोको दुखाइ सोधिरहेको थियो ।
र अर्कोले वर्षौँदेखि आफूलाई बिर्सेर पनि त्यही प्रश्नको प्रतीक्षा गरिरहेको थियो ।
रमेशले अचानक सीताको हात समाते ।
“तिमी कति दुब्लाएकी?”
सीता हाँसिन् ।
“काम धेरै छ ।”
“तिमी पनि थाक्छ्यौ?”
“कहिलेकाहीँ ।”
“कहिलेकाहीँ मात्रै?”
सीता चुप लागिन् ।
रमेशले बुझिहाले ।
उनले केही भनेनन् ।
केवल उनको हात केही बेर समातिरहे ।
त्यो स्पर्शमा एउटा माफी थियो ।
“मैले तिमीलाई बुझ्न ढिला गरेँ ।”
र एउटा आश्वासन पनि—
“अब तिमी एक्लै छैनौ ।”
त्यो रात रमेशले आमासँग कुरा गरे ।
“आमा, सीताले धेरै गरेकी छे ।”
आमाले चुपचाप सुन्नुभयो ।
रमेशले पहिलोपटक अलि दृढ स्वरमा भने,
“आमा, उसले घर हेरेकी छ भनेर मात्र होइन, उसको मन पनि हेर्नुपर्छ ।”
आमाले छोरातिर हेरिन् ।
रमेशले थपे,
“बुहारी हुनु उसको परिचयको एउटा हिस्सा हो । ऊ मेरी श्रीमती पनि हो । आफ्ना छोराछोरीकी आमा हो । उसको आफ्नै स्वास्थ्य उसका आफ्नै चाहना छन् ।”
आमाको आँखामा आँसु आयो ।
“हामीले बुझ्न ढिला गर्यौँ कि?”
रमेशले उत्तर दिएनन् ।
किनकि केही प्रश्नको उत्तर शब्दले दिन सक्दैन ।
त्यस रात सीता बाहिर आँगनमा थिइन् ।
रमेश उनको छेउमा आए ।
“सीता ।”
“हजुर ।”
“तिमीले कहिल्यै मलाई गुनासो गर्न मन लागेन?”
सीता मुस्कुराइन् ।
“लाग्यो ।”
“कति पटक?”
“गनेकी छैन ।”
“अनि किन भनिनौ?”
“तपाईं बिरामी हुनुहुन्थ्यो ।”
“त्यसैले?”
“हो ।”
रमेशले उनको अनुहार हेरे ।
“तिमीले मलाई यति धेरै माया गर्छ्यौ?”
सीताको आँखामा आँसु आयो ।
“तपाईंलाई माया नगरेर कसलाई गरूँ?”
रमेशले उनको हात समाते ।
“तर मेरो कारणले तिमीले आफूलाई हराउन नहुने रहेछ ।”
सीता चुप लागिन् ।
“मलाई थाहा छ,” उनले बिस्तारै भनिन्, “तर घर छोड्न सक्दिनँ ।”
रमेशले भने,
“मैले घर छोड भन्न पनि त कहिल्यै भनेको छैन ।”
“मलाई थाहा छ ।”
“म त केवल यति चाहन्छु—अबदेखि तिमी घर पनि हेर, तर आफूलाई पनि हेर ।”
सीताले श्रीमान्तिर हेरिन् ।
“अनि तपाईं?”
“म पनि ।”
दुवैले एकअर्कालाई हेरे ।
त्यो रात उनीहरूले कुनै ठूलो सपना देखेनन् ।
उनीहरूले केवल एउटा सानो निर्णय गरे—
अब प्रेम मौनतामा मात्र होइन, शब्दमा पनि व्यक्त गर्ने ।
अब जिम्मेवारी केवल एउटाको काँधमा नराख्ने ।
अब बाबुआमालाई सम्मान गर्ने तर श्रीमतीको मन पनि नदुखाउने ।
अब छोराले बाबुआमालाई “बाबुआमा त हुन् नि” भन्दै सबै कुरा सहने मात्र होइन, आवश्यक ठाउँमा प्रेमपूर्वक सीमा पनि बताउने ।
अब बुहारीलाई सेवा गर्ने मान्छे मात्र होइन, परिवारकै सदस्यका रूपमा हेर्ने ।
समयले सबै कुरा एकैपटक परिवर्तन गरेन ।
ससुराको स्वभाव पूर्ण रूपमा बदलिएको थिएन ।
आमाका पुराना गुनासा पनि एकै दिन हराएका थिएनन् ।
दाजुभाइहरू पनि अचानक जिम्मेवार बनेका थिएनन् ।
तर रमेश बदलिएका थिए ।
सीता पनि बदलिएकी थिइन् ।
रमेश अब बुबाको फोन आएपछि पहिले जस्तो सबै कुरा मौन भएर सहँदैनथे ।
“बुबा, तपाईंलाई केही आवश्यक छ भने भन्नुस् । म सकेको गर्छु । तर सीताबारे रिसमा नराम्रो शब्द नबोल्नुस् । उसले तपाईंहरूको धेरै सेवा गरेकी छ ।”
यति भन्न उनलाई वर्षौँ लाग्यो ।
तर जब उनले भने, उनको मन हलुका भयो ।
सीताले पनि अब बिरामी हुँदा औषधि खान थालिन् ।
आफ्नो लागि पनि समय निकाल्न थालिन् ।
बिदा हुँदा कहिलेकाहीँ श्रीमान्लाई भेट्न जान थालिन् ।
तर अझै पनि पूरा बिदा बस्दिनथिन् ।
आधा समय घरमा ।
आधा समय श्रीमान्सँग ।
तर त्यो आधा समय अब उनको अपराधबोध थिएन ।
त्यो उनको अधिकार थियो ।
रमेश उनलाई भेट्न आउँदा कहिलेकाहीँ भन्थे,
“यसपालि केही दिन बढी बस ।”
सीता मुस्कुराउँथिन् ।
“घरमा बुबा–आमा छन् नि ।”
रमेश पनि मुस्कुराउँथे ।
“उहाँहरू छन् । तर तिम्रो श्रीमान् पनि छ ।”
दुवै हाँस्थे ।
त्यो हाँसोमा वर्षौँको पीडा मिसिएको हुन्थ्यो ।
एक साँझ ससुरा आँगनमा बसेका थिए ।
सीता चिया लिएर गइन् ।
“बुबा, चिया ।”
ससुराले कप समात्नुभयो ।
केही बेर चुप लागेर हेर्नुभयो ।
अनि बिस्तारै भन्नुभयो,
“बुहारी ।”
“हजुर?”
“तिमीले धेरै दुःख गरेकी छौ ।”
सीता केही बोल्न सकिनन् ।
ससुराले फेरि भन्नुभयो,
“हामीले सधैँ देख्न सकेनौँ ।”
सीताको आँखामा आँसु भरियो ।
उनले टाउको निहुराइन् ।
“बुबा, तपाईंहरूलाई हेर्नु मेरो कर्तव्य हो ।”
ससुराले भने,
“कर्तव्य हो भनेर मात्रै मानिसको मन दुखाउनु हुँदैन रहेछ ।”
सीताले केही भनिनन् ।
त्यो दिन उनको वर्षौँको पीडामध्ये सबैभन्दा ठूलो हिस्सा शायद एउटा वाक्यले हलुका बनायो ।
किनकि उनले पहिलोपटक आफ्नो सेवा कसैको आँखामा देखिएको महसुस गरिन् ।
राति रमेशलाई उनले फोन गरिन् ।
“आज बुबाले एउटा कुरा भन्नुभयो ।”
“के?”
“तिमीले धेरै दुःख गरेकी भन्नुभयो ।”
फोनको अर्को छेउमा रमेश केही बेर चुप रहे ।
“अनि?”
“अरू केही भन्न सकिनँ ।”
“रोयौ?”
“अलिकति ।”
रमेश हाँसे ।
“किन?”
“खुसी भएर ।”
त्यो रात रमेश पनि रोए ।
तर सीतालाई सुनाएनन् ।
उनीहरूले एकअर्कासँग धेरै कुरा लुकाएका थिए ।
तर ती लुकाइहरू छल थिएनन् ।
ती प्रेम थिए ।
एकअर्कालाई जोगाउन खोजिएको प्रेम ।
एकअर्कालाई थप पीडा नदिने प्रयास ।
तर अन्ततः उनीहरूले बुझे—
प्रेम भनेको सधैँ पीडा लुकाउनु होइन ।
कहिलेकाहीँ पीडा सुनाउनु पनि प्रेम हो ।
साथीको दुःख थाहा पाउनु पनि प्रेम हो ।
“तिमी थाक्यौ?” भनेर सोध्नु पनि प्रेम हो ।
“तिम्रो औषधि खायौ?” भनेर सम्झाउनु पनि प्रेम हो ।
“आज घरको काम छोड, म गर्छु” भन्नु पनि प्रेम हो ।
र सबैभन्दा ठूलो कुरा—
“तिमी बुहारी मात्र होइनौ, तिमी पनि यो घरकी मान्छे हौ” भन्न सक्नु प्रेम हो ।
रमेश र सीताको प्रेम कुनै चलचित्रको जस्तो थिएन ।
त्यहाँ फूल थिएनन् ।
ठूला उपहार थिएनन् ।
महँगा रेस्टुरेन्ट थिएनन् ।
दिनदिनै सँगै घुम्ने समय थिएन ।
त्यहाँ थियो—
टाढाको एउटा फोन ।
“औषधि खानुभयो?”
“खाएँ ।”
“दुखेको छ?”
“अलिकति ।”
“धेरै काम नगर है ।”
“तपाईं पनि आराम गर्नुस् ।”
त्यही थियो उनीहरूको प्रेम ।
बिदाको आधा दिनमा भेट्न दौडिने प्रेम ।
भेट हुँदा पनि केही घण्टामै फर्किनुपर्ने प्रेम ।
फर्किँदा बसको झ्यालबाट बाहिर हेर्दै आँसु लुकाउने प्रेम ।
फोन काटेपछि पनि केही बेर मोबाइल हातमै समातिरहने प्रेम ।
र त्योभन्दा गहिरो—
एकअर्कालाई दोष नदिई परिस्थितिसँग लडिरहने प्रेम ।
सीताको मनमा सासु–ससुराप्रति कहिल्यै घृणा थिएन ।
किनकि उनले उनीहरूमा आफ्नो श्रीमान्को बाबुआमा देख्थिन् ।
रमेशको मनमा पनि बाबुआमाप्रति रिस भए पनि घृणा थिएन ।
किनकि उनीहरू उनका जन्मदाता थिए ।
तर उनले अन्ततः एउटा कुरा बुझे—
बाबुआमालाई माया गर्नु र श्रीमतीको मन दुख्न दिनु एउटै कुरा होइन ।
बुहारीले सासु–ससुराको सेवा गर्नु र उसलाई आफ्नो जीवन बाँच्ने अधिकार नदिनु एउटै कुरा होइन ।
परिवार भनेको कसैको त्यागमाथि टिकेको संरचना होइन ।
परिवार भनेको सबैले थोरै–थोरै एकअर्कालाई सम्हालेको ठाउँ हो ।
सीता आज पनि त्यो घरमा छिन् ।
बिहान अझै चाँडै उठ्छिन् ।
सासु–ससुराको औषधि सम्झन्छिन् ।
सानो जागिर गर्छिन् ।
घरको काम गर्छिन् ।
तर अब कहिलेकाहीँ आफ्नै लागि पनि चिया बनाउँछिन् ।
कहिलेकाहीँ थाकेपछि आराम गर्छिन् ।
कहिलेकाहीँ बिदाको आधा दिन श्रीमान्सँग बिताउँछिन् ।
रमेश पनि अझै अर्को सहरमा काम गर्छन् ।
स्वास्थ्यका समस्या छन् ।
औषधि नियमित खानुपर्छ ।
तर अब उनीहरूबीचको दूरी पहिलेको जस्तो पीडादायी छैन ।
किनकि उनीहरूले दूरीभन्दा ठूलो एउटा कुरा पाएका छन्—
एकअर्काको बुझाइ ।
कहिलेकाहीँ राति फोनमा कुरा गर्दा रमेश सोध्छन्,
“सीता, खुसी छौ?”
सीता केही क्षण चुप लाग्छिन् ।
अनि भन्छिन्,
“अहिले अलि बढी ।”
“किन?”
“किनकि अब मलाई लाग्छ, मेरो मन पनि कसैले बुझ्छ ।”
रमेश भन्छन्,
“म त पहिल्यै बुझ्थेँ ।”
सीता हाँस्छिन् ।
“बुझ्नु र भन्नु फरक रहेछ ।”
रमेश पनि मुस्कुराउँछन् ।
“अब भन्छु ।”
फोनको अर्को छेउमा मौनता छाउँछ ।
तर त्यो मौनता अब पीडाको होइन ।
त्यो मौनता दुई मानिसबीच बाँडिएको अथाह प्रेमको हो ।
बाहिर रात गहिरिँदै जान्छ ।
सीता घरको ढोका बन्द गर्छिन् ।
भित्र सासु–ससुरा सुतिरहेका हुन्छन् ।
दूर सहरमा रमेश पनि आफ्नो औषधि खाएर सुत्ने तयारी गर्दै हुन्छन् ।
दुवैको घर अलग छ ।
दुवैको ओछ्यान अलग छ ।
दुवैको दिनचर्या अलग छ ।
तर उनीहरूको मन एउटै घरमा बस्छ ।
त्यो घरको नाम हो—
विश्वास ।
त्यो घरको भित्तामा लेखिएको छ—
त्याग ।
त्यसको झ्यालबाट देखिन्छ—
प्रतीक्षा ।
र त्यस घरको ढोकामा सधैँ एउटा मान्छे अर्को मान्छेको प्रतीक्षामा उभिएको हुन्छ ।
सीता रमेशको ।
रमेश सीताको ।
किनकि उनीहरूको प्रेम सँगै बसेर सुरु भएको थिएन ।
उनीहरूको प्रेम त दूरी, जिम्मेवारी, बिरामी शरीर, पारिवारिक दबाब, आँसु र मौनताबीच पनि एकअर्कालाई नछोड्ने निर्णयबाट बलियो भएको थियो ।
र सायद साँचो प्रेम यही हो—
एकअर्काको हात सधैँ समातेर हिँड्न पाउनु होइन ।
कहिलेकाहीँ हात टाढा हुँदा पनि मन नछोड्नु हो ।
एकअर्कालाई सधैँ खुसी बनाउन सक्नु होइन ।
कहिलेकाहीँ आफू दुखेर पनि अर्कोको दुःख कम गर्न खोज्नु हो ।
र विवाह भनेको एउटै छानामुनि बस्नु मात्र होइन ।
कहिलेकाहीँ सयौँ किलोमिटर टाढा बसेर पनि एउटै मन लिएर बाँच्नु हो ।
तर परिवारको सबैभन्दा ठूलो परीक्षा त्यतिबेला हुन्छ, जब एउटी बुहारीले सबैलाई माया गर्छे तर उसको मन बुझ्ने मान्छे कोही हुँदैन ।
त्यसैले घरमा बस्ने प्रत्येक आमाबुबाले कहिलेकाहीँ आफ्नो बुहारीलाई पनि सोध्नुपर्छ—
“छोरी, तिमीलाई कस्तो छ?”
प्रत्येक श्रीमान्ले आफ्नी श्रीमतीलाई सोध्नुपर्छ—
“तिमी थाकेकी छौ?”
प्रत्येक छोराले बाबुआमालाई सम्मान गर्दै भन्न सक्नुपर्छ—
“उहाँहरू मेरा बाबुआमा हुन्, त्यसैले माया गर्छु । तर मेरी श्रीमती पनि मेरो जीवनको मान्छे हुन्, त्यसैले उनको सम्मान पनि जोगाउँछु ।”
र प्रत्येक परिवारले सम्झनुपर्छ—
घरमा सबैभन्दा धेरै काम गर्ने मान्छे नै सधैँ सबैभन्दा बलियो हुन्छ भन्ने हुँदैन ।
कहिलेकाहीँ सबैभन्दा धेरै मुस्कुराउने मान्छेभित्रै सबैभन्दा धेरै आँसु लुकेको हुन्छ ।
सीता त्यही मुस्कान थिइन् ।
जसले वर्षौँसम्म सबैको घर उज्यालो बनाइन् ।
तर जसको आफ्नै मनको कुनामा एउटा सानो अँध्यारो कोठा थियो ।
त्यो कोठामा केवल एउटै तस्वीर थियो—
रमेशको ।
र त्यस तस्वीरसँग उनले वर्षौँसम्म एउटै कुरा भनिरहिन्—
“मलाई तपाईंको साथ धेरै चाहिन्छ । तर तपाईंका बाबुआमालाई पनि मेरो आवश्यकता छ । त्यसैले म पर्खिरहन्छु ।”
रमेशले पनि टाढाबाट त्यही प्रेमलाई उत्तर दिइरहे—
“तिमीले जति सह्यौ, अब म बुझ्ने प्रयास गर्छु । दूरी जति भए पनि, तिमी एक्लै छैनौ ।”
सायद यही कारणले उनीहरूको प्रेम आज पनि बाँचेको छ ।
किनकि उनीहरूले प्रेमलाई अधिकारभन्दा जिम्मेवारी बनाए ।
र जिम्मेवारीलाई बोझ होइन, प्रेमको अर्को रूप माने ।
तर उनीहरूको कथाले एउटा कुरा भने सधैँ सम्झाइरहनेछ—
त्याग गर्ने मान्छेलाई केवल “कर्तव्य” भनेर नहेर्नू ।
उसको त्यागभित्र पनि एउटा मन हुन्छ ।
उसको मनभित्र पनि सपना हुन्छ ।
उसलाई पनि श्रीमान् सम्झिन्छ ।
छोराछोरी सम्झिन्छ ।
आफ्नो स्वास्थ्य सम्झन मन लाग्छ ।
कहिलेकाहीँ केही नगरी बस्न मन लाग्छ ।
र सबैभन्दा बढी—
उसलाई पनि कसैले एकपटक अँगालो हालेर भन्न मन लाग्छ,
“तिमीले गरेको सबै हामीले देखेका छौँ । तिमी एक्लै छैनौ ।”
सीताले त्यही एउटा वाक्यका लागि धेरै वर्ष पर्खिइन् ।
र जब त्यो वाक्य एक दिन उनको घरको आँगनमा सुनियो,
उनले महसुस गरिन्—
कहिलेकाहीँ मानिसलाई जीवन बदल्न धेरै कुरा चाहिँदैन ।
एउटा सानो सम्मान ।
एउटा साँचो शब्द ।
एउटा बुझ्ने मन ।
र आफूले अथाह माया गरेको मानिसबाट आएको एउटा वाक्य—
“म तिमीलाई बुझ्छु ।”
त्यति मात्रै पनि एउटा थाकेको जीवनलाई फेरि बाँच्ने हिम्मत दिन पर्याप्त हुँदो रहेछ ।
