म्याग्दी/धनुषको डोरीबाट छुटेको तीर हावालाई चिर्दै अघि बढ्छ र सीधै लक्ष्यको केन्द्रमा पुगेर ठोक्किन्छ । मैदानमा उपस्थित दर्शकको ताली र खुसीको आवाजसँगै निशाना हान्ने खेलाडीको अनुहारमा मुस्कान फैलिन्छ । आधुनिक खेल मैदानको मात्र होइन यो दृष्य, नेपालको हिमाली सभ्यताको हजारौँ वर्ष पुरानो इतिहास बोकेको एउटा सांस्कृतिक परम्पराको पनि निरन्तरता हो । हातमा धनुष, काँधमा बाँड, आँखा लक्ष्यमा केन्द्रित पर्खाइ अनि केही क्षणको मौनता पछि उत्साह र उमंग ।

विश्व मञ्चको ओलम्पिकदेखि विश्व च्याम्पियनसिपसम्म पुगिसकेको आर्चरी खेल परम्परागत तारा खेलको यो खेल आधुनिक उपकरण, वैज्ञानिक प्रशिक्षण र अत्याधुनिक प्रविधिसँग जोडिएको छ । नेपालको सन्दर्भ भने मुस्ताङको थाकखोला क्षेत्रबाट विकसित भएको थकाली समुदायको पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा, सामाजिक सम्बन्धको आधार र पुर्खाको जीवनशैलीको स्मरण हो । त्यसैले त थकाली समुदायमा यसलाई प्रेमपूर्वक ‘तारा हान्ने’ भनिन्छ । गाउँघरका खोल्सा भन्दा पारी र वारी बनाइएका निसाना लगाउने स्थानले पनि तारा खेलको महत्व र आम्मियता झल्काउँछ ।

मानव सभ्यताको प्रारम्भिक चरणमा धनुषबाँड मानिसको अस्तित्वसँग प्रत्यक्ष जोडिएको थियो । परापूर्वमा शिकार नै मुख्य जीविकोपार्जनको माध्यम हुँदा धनुषबाँडले केवल जनावरको शिकार मात्र होइन, समुदायको सुरक्षा र जीवन रक्षा गर्ने जिम्मेवारी पनि बोकेको थियो । कृषि, व्यापार, उद्योग र प्रविधिको विकाससँगै मानिसको जीवनशैली बदलिनु बन्दुकजस्ता आधुनिक हतियार आउनुका साथै शिकार नियन्त्रणमा आयो तर धनुषबाँणको सीप भने हराएन । यसले आफूलाई परिवर्तन ग¥यो र जीविकाको साधनबाट खेलमा स्थान्तरण भएको उदाहरण हो थकालीको तारा हान्ने परम्परा ।

मुस्ताङको थाकखोला क्षेत्रलाई थकाली सभ्यताको उद्गमस्थल मानिन्छ । व्यापार, बसाइँसराइ र सामाजिक विस्तारसँगै थकाली समुदाय म्याग्दी, बागलुङ, पोखरा, काठमाडौं र विदेशसम्म फैलियो । तर उनीहरूले आफ्नो भाषा, संस्कृति, खानपान र परम्परासँगै तारा हान्ने संस्कारलाई पनि सँगै बोके । म्याग्दीको बेनीस्थित थकाली सेवा समितिको प्राङ्गण यस परम्पराको सक्रिय केन्द्र बनेको छ । यहाँ नियमित रूपमा अभ्यास हुन्छ । थकाली समुदायको विशेष पर्व, कुलपूजा, वार्षिक भेला र सामुदायिक कार्यक्रमहरूमा तारा हान्ने प्रतियोगिता अनिवार्यजस्तै आयोजना गरिन्छ । यसले केवल खेलाडी उत्पादन गर्दैन, समुदायलाई एकताबद्ध राख्ने साझा थलोको रूपमा पनि काम गरिरहेको छ ।

तारा खेलमा सबैभन्दा प्रतिष्ठित उपलब्धि मानिन्छ ‘तिप्लु खोल’ । खेलको नियमअनुसार एक खेलाडीले एउटै पालोमा दुईवटा तीर लक्ष्यको मुख्य केन्द्रमा प्रहार गरे त्यसलाई ‘तिप्लु खोल’ भनिन्छ । वर्षौँको अभ्यास, स्थिर मानसिकता, शरीरको सन्तुलन र अद्वितीय एकाग्रता आवश्यक पर्छ यो उपलब्धिका लागि । हालै धवलागिरी गाउँपालिका मुनाका गौराज भण्डारीले यही दुर्लभ उपलब्धि हासिल गरे ।
‘तारा खेलमा ‘तिप्लु खोल’ हान्नु खेलाडीका लागि निकै ठूलो उपलब्धि मानिन्छ, मैले करिब १८ वर्षपछि फेरि तिप्लु हानेँ । यो क्षण निकै अविस्मरणीय रह्यो,’ भण्डारीले भने ।
थकाली समुदायका लागि तारा हान्ने प्रतियोगिता जित्ने वा हार्ने विषय मात्र नभएर सामाजिक सम्बन्ध बलियो बनाउने माध्यम रहेको थकाली सेवा समिति म्याग्दीका सचिव दिलिप गौचनको भनाइ छ । गौचनका अनुसार यो परम्परा पुस्तौँदेखि निरन्तर चलिरहेको छ ।
‘थकाली समुदायमा तारा खेल परापूर्वकालदेखि चलिआएको परम्परा हो । अहिले विश्वले यसलाई आर्चरी भनेर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहेको छ । हामी पनि थकाली सेवा समितिको प्राङ्गणमा नियमित अभ्यास गर्छौं,’ उनले भने ।
तारा खेलमा सहभागी बेनी नगरपालिका ७ का रमेश फगामीका अनुसार तारा हान्नेको वास्तविक इतिहास मानव जीवनसँग प्रत्यक्ष जोडिएको छ । उनले थपे,‘पहिले मानिसले जीविकोपार्जनका लागि शिकार खेल्थे । त्यो समयमा धनुषबाँड अत्यावश्यक सीप थियो । अहिले परिस्थिति बदलिएको छ । हामी नियमित अभ्यास गर्छौं, भेटघाट गर्छौं, रमाइलो गर्छौं । यही कारण यो परम्परा सहज रूपमा निरन्तर चलिरहेको छ । मानव सभ्यताको विकाससँगै यसको उद्देश्य फेरिएको भए पनि यसको महत्व घटेको छैन । उहाँका अनुसार अहिले तारा हान्नेले नयाँ पुस्तालाई आफ्नो इतिहास बुझाउने माध्यमको भूमिका पनि निर्वाह गरिरहेको छ ।’
थकाली समुदायका युवा सदस्य सुमन शेरचनले यो परम्परा बचाउन सबै पुस्ताको सहभागिता आवश्यक रहेको बताए । ‘पहिले यो सीप शिकारका लागि प्रयोग हुन्थ्यो । अहिले खेलको रूपमा विकास भएको छ । यसको निरन्तरताका लागि थकाली समुदायको अग्रसरतामा सबैले खेलिरहेका छन् । नयाँ पुस्ताको सहभागिता बढाउनु अहिलेको मुख्य आवश्यकता हो,’उनले भने ।
थकाली समुदायले अभ्यास गर्ने तारा हान्नेमा स्थानीय परम्परा, आफ्नै शब्दावली, सांस्कृतिक विधि र सामुदायिक सहभागितालाई केन्द्रमा राखिएको हुन्छ । यही मौलिकताले यसलाई अन्य खेलभन्दा फरक बनाउँछ । यहाँ प्रतिस्पर्धाभन्दा बढी सम्मान, पुस्तान्तरण र सामूहिक भावना महत्वपूर्ण हुन्छ ।
तारा खेललाई विद्यालयस्तरको अतिरिक्त क्रियाकलाप, स्थानीय खेलकुद महोत्सव, सांस्कृतिक पर्यटन र अनुसन्धानसँग जोड्न सके यो केवल एउटा खेलका रूपमा सीमित रहने छैन; नेपालको अमूर्त सांस्कृतिक सम्पदाको महत्वपूर्ण पहिचानका रूपमा स्थापित हुन सक्ने थकाली सेवा समितिका सचिव गौचनको भनाइ छ ।
धनुषको डोरी तन्किँदा केवल एउटा तीर मात्र अघि बढ्दैन; त्यससँगै अघि बढ्छ इतिहास, संस्कृति र पहिचान । हिजो यही धनुषले मानिसलाई बाँच्न सिकायो । आज यही धनुषले समुदायलाई आफ्ना पुर्खासँग जोडेर राखेको छ । थकाली समुदायको ‘तारा हान्ने’ परम्परा एउटा खेलको सीमाभित्र अट्ने विषय होइन । यो हिमाली सभ्यताको जीवित इतिहास हो । यो पुर्खाले छोडेको सीपको संरक्षण हो । यो पुस्ताले पुस्तालाई हस्तान्तरण गरिरहेको अमूल्य सम्पदा हो । जबसम्म थकाली सेवा समितिको मैदानमा धनुष तन्किन्छ, तीर लक्ष्यतर्फ उड्छ र नयाँ पुस्ताले आफ्ना अग्रजसँगै अभ्यास गर्छ, तबसम्म यो परम्परा केवल स्मृतिमा सीमित रहने छैन नेपाली संस्कृतिको जीवन्त पहिचानका रूपमा निरन्तर अघि बढिरहनेछ ।
