म्याग्दीको बेनीस्थित वेष्ट प्वाइन्ट एजुकेशन फाउन्डेसनअन्तर्गत विद्यालयमा भदौ २६ गतेदेखि सञ्चालन भएको बृहत् खेलकुद कार्यक्रम–२०८३ असोज ३ गते सम्पन्न भएको छ। मन्टेसरीदेखि कक्षा १२ सम्मका करिब ९ सय विद्यार्थी सहभागी भएको सप्ताहव्यापी खेलकुद कार्यक्रम विभिन्न विधामा प्रतिस्पर्धा गराउँदै सम्पन्न गरिएको हो।
विद्यालयका विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकाससँगै अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ट्र्याक एन्ड फिल्ड, भलिबल, टेबल टेनिस, चेस, तेक्वान्दो तथा मन्टेसरी र बालविकास तहका मनोरञ्जनात्मक खेल सञ्चालन गरिएको थियो।
समापन समारोह वेष्ट प्वाइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता तथा भाइस प्रिन्सिपल कृष्ण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो। समारोहमा फाउन्डेसनका संस्थापक निर्देशक, शिक्षक–अभिभावक संघका सल्लाहकार तथा सदस्य, विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, विभागीय तथा तह संयोजक, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो।
राष्ट्रिय गान, विद्यालय गान तथा मौनधारणपछि विद्यालयका प्रिन्सिपल डिबी दाहालले स्वागत मन्तव्य राखेका थिए। खेल शिक्षक दिपेन राईले सप्ताहव्यापी खेलकुद कार्यक्रमका गतिविधि तथा प्रतिस्पर्धाका बारेमा जानकारी गराएका थिए। अभिभावक प्रतिनिधि तथा जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले शुभकामना मन्तव्य राखेका थिए।
समारोहमा फाउन्डेसन अध्यक्ष श्रेष्ठले राष्ट्रिय झण्डोत्तोलन तथा मशाल दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। मन्टेसरी तथा ईसीडी तहका विद्यार्थीले प्रस्तुत गरेको डान्स ड्रिलले समारोहमा थप आकर्षण थपेको थियो।
कार्यक्रमको अन्तिम दिन विभिन्न उमेर समूह र तहका विद्यार्थीबीच ८ सय, ४ सय, २ सय र १ सय मिटर दौड, विशेष रिले तथा रिले दौडलगायत २९ विधामा प्रतिस्पर्धा भएको थियो। त्यस्तै अभिभावकका लागि महिला तथा पुरुषतर्फ लाठो तान्ने खेलसमेत सञ्चालन गरिएको थियो।
भदौ २६ देखि असोज ३ गतेसम्म हाईजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प र ज्याभलिनलगायत ट्र्याक खेलका साथै भलिबल, टेबल टेनिस, चेस र तेक्वान्दोका प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। पुरस्कार वितरण गर्दै विद्यालय परिवारले विद्यार्थीको मेहनत, लगनशीलता र खेलप्रतिको समर्पणको प्रशंसा गरेको थियो।
समापन समारोहमा अध्यक्ष श्रेष्ठले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। निरन्तर अभ्यास, मेहनत र अनुशासनबाट मात्रै सफलता हासिल गर्न सकिने उल्लेख गर्दै उनले विद्यार्थीलाई खेलकुदसँगै अध्ययनमा समेत सक्रिय हुन आग्रह गरे।
विद्यालयले बृहत् खेलकुद कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउनुका साथै विद्यार्थीमा आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुगेको जनाएको छ।
