कुनै समय रोजगारी र व्यवसायको खोजीमा हिमाल छोडेर सहर झर्नेहरू धेरै थिए । अझ मुस्ताङजस्तो जिल्लाका युवाहरूका लागि पोखरा, काठमाडौं वा विदेश नै भविष्यको गन्तव्य ठानिन्थ्यो। तर सबैले त्यही बाटो रोज्दैनन् । केही मानिस आफ्नै भूगोल, आफ्नै संस्कार र आफ्नै सीपलाई व्यवसायमा रूपान्तरण गरेर सफलताको नयाँ कथा लेखिरहेका हुन्छन् । यस्तै उदाहरण हुन् मुस्ताङको थासाङ गाउँपालिका ३ धम्पुका पूर्ण गौचन ।
बेनी बजारमा होटल व्यवसाय सुरु गरेको करिब दुई दशकमा गौचनले केवल एउटा होटल मात्र चलाएका छैनन्, उनले आफ्नो मेहनत, इमानदारी र थकाली आतिथ्य संस्कृतिलाई स्थापित गरेका छन् । आज उनको होटल हिल भ्यू बेनी आउने आन्तरिक तथा बाह्य पर्यटक, सरकारी कर्मचारी, व्यवसायी र यात्रुहरूको रोजाइको गन्तव्यमध्ये एक बनेको छ ।
व्यवसाय सुरु गर्नु उनका लागि सहज थिएन। उनले सुरुमा अर्काले सञ्चालन गरिरहेको होटल २०६६ सालमा सामानसहित २१ लाख रुपैयाँमा खरिद गरेर व्यवसाय अघि बढाएका थिए । होटल आफ्नै थिएन, भवन पनि भाडाकै थियो । त्यसबेला मासिक एक लाख १० हजार रुपैयाँ घरभाडा तिर्नुपर्ने बाध्यता थियो । नयाँ व्यवसायीका लागि यति ठूलो मासिक दायित्व आफैंमा चुनौतीपूर्ण थियो। अहिले पनि भाडाकै भवनमा व्यवसाय सञ्चालन गरी रहनु भएका गौचनले हाल सञ्चालन गरेको व्यवसायको भवन पनि भाडाकै हो ।
तर चुनौतीबाट पछि हट्ने स्वभाव गौचनमा थिएन । उहाँले सुरुका दिनदेखि नै होटललाई आफ्नै घरझैँ सम्झिएर सञ्चालन गर्दै आउनुभयो । पाहुनालाई परिवारकै सदस्यसरह सम्मान गर्ने र खानाको गुणस्तरमा कुनै सम्झौता नगर्ने उहाँको बानीले विस्तारै ग्राहकको विश्वास जित्दै गयो ।
व्यवसायलाई व्यवस्थित बनाउने क्रममा उहाँले सुरुमा पान दर्ता गरेर होटल सञ्चालन गरेर समयसँगै ग्राहक बढे, कारोबार विस्तार भयो र व्यवसायले गति लिन थाल्यो । त्यसपछि उहाँले होटललाई भ्याटमा दर्ता गरी औपचारिक र व्यवस्थित व्यवसायका रूपमा अघि बढाउदै आउनु भएको छ । अहिले होटल मुल्य अभिवृद्धि कर(भ्याट) प्रणालीबाट सञ्चालन भइरहेको छ ।
दुई दशकको यात्रामा धेरै उतारचढाव आए । पर्यटन बजारमा आएको मन्दी, आर्थिक सङ्कट, महँगी, महामारीजस्ता कठिन समय पनि उहाँले भोग्नुभयो । तर सेवा र गुणस्तरमा विश्वास राखेका कारण उहाँले व्यवसायलाई निरन्तर अघि बढाइ रहनुभयो । उहाँ भन्नुहुन्छ, “पाहुनाको सन्तुष्टि नै हाम्रो सबैभन्दा ठूलो कमाइ हो।“
आज होटल हिल भ्यू एकैपटक एक सय जनासम्मलाई सेवा दिन सक्ने क्षमता भएको होटलका रूपमा परिचित छ । होटलमा स्वादिलो थकाली परिकारदेखि नेपाली खानाका विविध परिकार, खाजा तथा आरामदायी बासको राम्रो व्यवस्था गरिएको छ। यात्रुको आवश्यकता बुझेर सेवा दिनु नै होटलको विशेषता बनेको छ।
पूर्ण गौचनको परिचय केवल होटल सञ्चालकको मात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमीको पनि हो। अहिले होटलमा उहाँको परिवारका चार सदस्यसहित नौ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । एउटा होटलले नौ जनाको जीवनसँग प्रत्यक्ष सम्बन्ध गाँस्नु आफैंमा स्थानीय अर्थतन्त्रका लागि महत्वपूर्ण योगदान हो ।
व्यवसाय सञ्चालन गर्नु भनेको आम्दानी मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। गौचनले वार्षिक लाखौं रुपियाँ घरभाडा मात्रै तिर्नुहुन्छ । त्यसबाहेक कर्मचारीको तलब, खाद्य सामग्री, विद्युत्, कर, सञ्चालन खर्चलगायतका दायित्व पनि उत्तिकै छन्। यति धेरै खर्च व्यवस्थापन गर्नुपर्दा पनि उनी सन्तुष्ट छन्। उहाँ भन्नुहुन्छ “आफ्नै क्षेत्रमा बसेर, आफ्नै माटोमा पसिना बगाएर व्यवसाय गर्न पाउनु नै मेरो सबैभन्दा ठूलो खुसी हो।“
मुस्ताङमा २०३८ सालमा जन्मेर हुर्किएका गौचन थकाली समुदायका हुन्। थकाली समाज नेपाली आतिथ्य संस्कृतिको उत्कृष्ट उदाहरण मानिन्छ। स्वादिलो खाना, सफा व्यवस्थापन र पाहुनालाई आत्मीय व्यवहार गर्ने परम्परा यही समुदायको पहिचान हो। गौचनले पनि यही संस्कारलाई आफ्नो व्यवसायको मूल आधार बनाउनु भएको छ ।
उहाँका अनुसार होटलमा आउने प्रत्येक पाहुना केवल ग्राहक होइन, घर आएका अतिथि हुन्। त्यसैले खानाको स्वाददेखि सरसफाइ, सेवा र सत्कारसम्म कुनै पनि पक्षमा सम्झौता गरिँदैन। यही कारण एकपटक आएका धेरै ग्राहक फेरि दोहोरिएर आउने गरेका छन्।
व्यवसायका कारण उनले आर्थिक आत्मनिर्भरता मात्र हासिल गरेका छैनन्, सामाजिक सम्बन्ध पनि अझ बलियो बनाएका छन्। आफन्तसँग भेटघाट गर्न, समाजका गतिविधिमा सहभागी हुन र समुदायसँग घुलमिल हुन पनि आफ्नै ठाउँमा बसेर व्यवसाय गर्नु सहज भएको उहाँको अनुभव सुनाउँछन्।
विदेश पलायन बढिरहेको वर्तमान समयमा पूर्ण गौचनको यात्रा एउटा महत्वपूर्ण सन्देश पनि हो। अवसर खोज्न सधैँ टाढा जानैपर्छ भन्ने छैन। आफ्नो सीप, लगन, इमानदारी र स्थानीय संस्कृतिलाई व्यवसायसँग जोड्न सकियो भने आफ्नै ठाउँमा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।
बेनी बजारको चहलपहलबीच उभिएको होटल हिल भ्यू केवल एउटा व्यापारिक प्रतिष्ठान होइन, संघर्ष, धैर्य र आत्मविश्वासको कथा पनि हो। एक दशकअघि ठूलो जोखिम मोलेर सुरु गरिएको यात्रा आज सफल उद्यमको परिचय बनेको छ। होटलमा आउने पाहुनाको अनुहारमा देखिने सन्तुष्टि र पुनः फर्किने विश्वास नै पूर्ण गौचनका लागि सबैभन्दा ठूलो पुरस्कार हो।
व्यवसायको संसारमा सफलता केवल नाफाले मापन हुँदैन। विश्वास, गुणस्तरीय सेवा, रोजगारी सिर्जना, समाजसँगको सम्बन्ध र आफ्नै माटोप्रतिको प्रतिबद्धताले पनि त्यसको मूल्य निर्धारण गर्छ। यी सबै पक्षलाई हेर्दा पूर्ण गौचनको यात्रा केवल एक होटल व्यवसायीको कथा होइन, आफ्नै गाउँ–ठाउँमा सम्भावना खोज्ने नेपाली उद्यमशीलताको प्रेरणादायी दस्तावेज बनेको छ।
दुई सन्तान बोर्डीङ स्कुलमा पढाउँदै व्यवसाय सञ्चालन गर्दै आउनु भएका गौचन आफूले रोजेको व्यवसाय प्रति सन्तुष्ट रहेको सुनाउनु हुन्छ । हाल सम्म गरेको व्यवसाय र भएको आम्दानीमा मलाइ सन्तुष्टि नै छ । उहाँ भन्नुहुन्छ मलाइ व्यवसाय सञ्चालन गर्नका लागि आफन्तहरुको पनि साथ छ भने सबै भन्दा धेरै साथ श्रीमती सुर्जनीको रहेको छ ।
