अमृत बास्कुने, म्याग्दी
बैशाख १० गते । निजी तथा आवासिय विद्यादय अर्गनाइजेशन नेपाल(प्याब्सन) म्याग्दीको आयोजनामा म्याग्दी जिल्लामा कार्यरत नेपाली शिक्षकहरुका लागि अभिमुखिकरण गरिएको छ । म्याग्दी जिल्लाका नेपाली शिक्षकहरुका लागि पहिलो पटक अभिमुखिकरण तालिम आयोजना गरिएको अन्नपुर्ण बुक्स एण्ड स्टेसनरी सप्लायर्सका ध्रुवराज सुवेदीले बताए ।
आइतबार बेनीमा आयोजित अभिमुखिकरण कार्यक्रममा एकता पब्लिकेशनका लेखक एवम् नेपाली भाषाका विज्ञद्वय प्रा.डा.महादेव अवस्थी र प्रा.डा. ऋषिराम शर्माले सहजीकरण गरेका थिए ।
प्रा.डा.ऋषिराम शर्मा नेपाली भाषा शिक्षण, पाठ्यक्रम तथा अनुसन्धान विधिका क्षेत्रमा चर्चित शिक्षाविद् हुन् । विद्यालय तहका नेपाली विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक विकाससँग सम्बन्धित विज्ञ समूहहरूमा उनको सहभागिता रहदै आएको छ । त्यसैगरी प्रा.डा.महादेव अवस्थी पनि नेपाली भाषा र शिक्षाशास्त्रका अध्येता भएकाले पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका निर्माणमा विज्ञका रूपमा योगदान गरेका छन् । उनीहरुले अहिले पछिल्लो समय एकता पब्लिकेशनको प्रकाशनहरुमा लेखक तथा सम्पादकका रुपमा रहेका छन् ।
म्याग्दी जिल्ला भित्रका ७० भन्दा धेरै नेपाली शिक्षकहरुका सहभागिता रहेको तालिममा पाठ्यक्रम बिकास केन्द्रको बारेमा जानकारी गराइएको थियो । त्यसैगरी नेपाली पाठ्यक्रम, शिक्षक अन्तरक्रिया तथा कक्षा शिक्षण सिकाइ कसरी गर्ने भन्ने बारेमा प्रध्यापकहरु शर्मा र अवस्थीले सहजीकरण गरेका थिए ।
प्याब्सन म्याग्दीको आयोजना, एकता पब्लिकेशनको सहआयोजना र बेनीमा रहेको अन्नपुर्ण बुक्स तथा सगुन स्टेसनरीको समन्वयमा भएको कार्यक्रमको उद्घाटन समारोह प्याब्सन म्याग्दीका सचिव सन्दिप खत्रीले सञ्चालन गरेका थिए । प्याब्सन म्याग्दीको उपाध्यक्ष दिपक सुवेदीको अध्यक्षता, सल्लाहकार राजु केसीको स्वागत रहेको कार्यक्रममा पुस्तक व्यवसायी महासंघ म्याग्दीका पूर्व अध्यक्ष तथा सगुन स्टेसनरीका सञ्चालक ठाकुरप्रसाद शर्माले मन्तव्य राखेका थिए ।
