वैशाख शुक्ल पूर्णिमाको उज्यालो फेरि एकपटक पृथ्वीभर फैलिएको छ । नेपालका लुम्बिनी, स्वयम्भूनाथ र बौद्धनाथ जस्ता पवित्र स्थलहरूमा श्रद्धालुहरूको भीड लागिरहेको छ । दीपहरू प्रज्वलित छन्, मन्त्रोच्चारण गुन्जिरहेका छन्, र मानिसहरू ध्यानमा लीन छन् । संसारले फेरि एकपटक गौतम बुद्धको जन्म जयन्ती मनाइरहेको छ । बाहिर उज्यालो छ, वातावरण श्रद्धामय छ, तर यही क्षणमा विश्वको अर्को यथार्थ भने अन्धकारले ढाकिएको छ । शक्ति, स्वार्थ र प्रभुत्वको प्रतिस्पर्धामा राष्ट्रहरू एकअर्कासँग टकरावको स्थितिमा उभिएका छन्, र विशेषतः अमेरिका र इरान बीच बढ्दो तनावले विश्वलाई फेरि एकपटक अनिश्चित र जोखिमपूर्ण दिशातर्फ धकेलिरहेको छ ।
यस्तो द्वन्द्वपूर्ण सन्दर्भमा बुद्ध जयन्ती केवल धार्मिक अनुष्ठानको विषय रहँदैन । यो मानव सभ्यताको आत्मपरीक्षण गर्ने अवसर बन्छ । प्रश्न उठ्छ हामीले हजारौं वर्षअघि पाएको शान्तिको सन्देश किन व्यवहारमा उतार्न सकेनौं ? किन आज पनि मानवता युद्ध, द्वन्द्व र असन्तुलनको चक्रमा फसिरहेको छ ?
इतिहासलाई ध्यानपूर्वक हेर्ने हो भने गौतम बुद्ध को जन्म कुनै संयोग थिएन । त्यो समयको समाज गहिरो असन्तुलनमा थियो । वर्गीय विभाजन, कर्मकाण्डको जटिलता र मानवीय पीडाले जीवनलाई असहज बनाएको थियो । राजकुमार सिद्धार्थले विलासी जीवन त्याग्नु केवल व्यक्तिगत निर्णय थिएन, त्यो युगको विरुद्धको मौन विद्रोह थियो । उनले जीवनका यथार्थसँग प्रत्यक्ष साक्षात्कार गरेपछि एउटा गहिरो निष्कर्ष निकाले दुःख अपरिहार्य छ, तर त्यसको कारण पनि छ र समाधान पनि सम्भव छ । यही बिन्दुमा बुद्धको दर्शन केवल धार्मिक शिक्षा नभई व्यवहारिक जीवनदर्शनका रूपमा स्थापित हुन्छ ।
इतिहासमा अशोक महान्को परिवर्तनले देखाउँछ कि जब शक्ति करुणासँग जोडिन्छ, तब सभ्यताको दिशा बदलिन्छ । कलिङ्ग युद्धपछि उनले हिंसाको भयावहता महसुस गरेर बौद्ध मार्ग अपनाए र विस्तारवादको सट्टा शान्ति र नैतिक शासनलाई प्राथमिकता दिए । यो केवल व्यक्तिगत परिवर्तन थिएन, त्यो राज्य सञ्चालनको दृष्टिकोणमा आएको आमूल परिवर्तन थियो । आजको विश्वका लागि यो एउटा महत्वपूर्ण पाठ हो यदि शक्ति नै सबैभन्दा ठूलो मूल्य बन्यो भने अन्ततः विनाश निश्चित हुन्छ । तर यदि शक्ति करुणा र नैतिकतासँग जोडियो भने शान्ति सम्भव हुन्छ ।
आजको विश्वले विज्ञान र प्रविधिमा अकल्पनीय प्रगति गरेको छ । मानिसले अन्तरिक्षमा पाइला टेकिसकेको छ । कृत्रिम बुद्धिमत्ताले नयाँ युगको संकेत दिएको छ । र सूचना प्रवाहको गति अभूतपूर्व रूपमा बढेको छ । तर यिनै उपलब्धिहरूबीच एउटा गम्भीर प्रश्न उभिन्छ । त्यो प्रश्न भित्र पुगेर सोध्ने हो भने के मानिस वास्तवमै शान्त र सन्तुष्ट भएको छ ? आधुनिक जीवनले सुविधा दिएको छ । तर सन्तुलन दिएको छैन । मानिससँग जानकारी धेरै छ । तर आत्मबोध कम छ । यही असन्तुलन आजका अधिकांश समस्याको मूल कारण बनेको छ ।
विश्व राजनीतिलाई नियाल्दा शक्ति, डर र अविश्वासको त्रिकोण स्पष्ट देखिन्छ । राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि हतियार बढाउँछन् । तर यही तयारीले अर्को पक्षलाई असुरक्षित बनाउँछ र प्रतिस्पर्धा अझ चर्किन्छ । अमेरिका र इरान बीचको तनाव यही मनोविज्ञानको प्रत्यक्ष उदाहरण हो । यो केवल दुई राष्ट्रबीचको विवाद होइन । यो विश्व शक्ति सन्तुलनको जटिल खेल हो । इतिहासले देखाइसकेको छ कि यस्ता तनावहरू साना देखिए पनि तिनको परिणाम ठूलो हुन सक्छ । पहिलो र दोस्रो विश्वयुद्ध पनि यस्तै अविश्वास र प्रतिस्पर्धाको परिणाम थिए । आजको आणविक युगमा यस्तो गल्तीको मूल्य अझ भयावह हुन सक्छ ।
यस्तो अवस्थामा बुद्धको सन्देशको सान्दर्भिकता झन् गहिरो रूपमा महसुस हुन्छ । बुद्धले अहिंसा, करुणा र मध्यम मार्गको दर्शन प्रस्तुत गर्दा उनले केवल आध्यात्मिक कुरा गरेका थिएनन् । उनले मानव व्यवहारको गहिरो विश्लेषण गरेका थिए । उनले देखाएका मार्गहरू सम्यक दृष्टि, सम्यक कर्म, सम्यक आजीविका आजको शासन प्रणाली, अर्थतन्त्र र सामाजिक संरचनामा समान रूपमा लागू हुन सक्छन् । तर विडम्बना के छ भने बुद्धको नाम उच्चारण गर्ने समाजले नै उनको मार्गलाई व्यवहारमा उतार्न सकेको भने अहिले सम्मको अवस्था हेर्दा पक्कै पनि छैन ।
नेपालको सन्दर्भमा यो प्रश्न झन् गम्भीर रूपमा उठ्छ । बुद्धको जन्मभूमि लुम्बिनी भएको देश आज आफैं अनेक चुनौतीहरूबीच संघर्ष गरिरहेको छ । राजनीतिक अस्थिरता, आर्थिक निर्भरता र सामाजिक विभाजनले देशलाई कमजोर बनाइरहेको छ । युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेका छन् । जसले दीर्घकालीन विकासमा नकारात्मक असर पारिरहेको छ । यस्तो अवस्थामा बुद्धको मध्यम मार्ग केवल दार्शनिक अवधारणा नभई नीतिगत आवश्यकता हो । सन्तुलित विकास, पारदर्शी शासन र सामाजिक सहिष्णुता यी सबै बुद्ध दर्शनका व्यावहारिक रूप हुन् ।
लुम्बिनी स्वयं एउटा प्रतीक मात्र होइन यो त एउटा सम्भावनाको केन्द्र पनि हो । यदि यसलाई योजनाबद्ध रूपमा विकास गर्न सकियो भने यो विश्व शान्तिको केन्द्र बन्न सक्छ । तर यदि व्यवस्थापन कमजोरी, राजनीतिक हस्तक्षेप र अल्पकालीन सोच हावी रह्यो भने यो अवसर गुम्न सक्छ । बुद्ध जन्मभूमि भएर पनि यदि नेपालले बुद्धको सन्देशलाई व्यवहारमा उतार्न सकेन भने त्यो केवल राष्ट्रिय असफलता मात्र होइन, ऐतिहासिक जिम्मेवारीबाट विमुख हुनु पनि हुनेछ ।
आधुनिक मानिसको अर्को ठूलो समस्या आन्तरिक द्वन्द्व हो । बाहिरी रूपमा सम्पन्न देखिने समाजभित्र मानसिक तनाव, चिन्ता र असन्तुष्टि बढ्दो छ । मानिसले धेरै पाएको छ, तर सन्तुष्टि पाएको छैन । यही सन्दर्भमा बुद्धले दिएका ध्यान र सजगताका अभ्यासहरू आज विश्वभर पुनः लोकप्रिय हुँदै गएका छन् । पश्चिमी देशहरूमा माइन्डफुलनेस अभ्यासको बढ्दो प्रयोगले देखाउँछ कि आधुनिक विज्ञानले पनि बुद्ध दर्शनको उपयोगितालाई स्वीकार गर्न थालेको छ ।
तर प्रश्न अझै बाँकी छ, के हामीले यो ज्ञानलाई व्यक्तिगत अभ्यासभन्दा बाहिर निकालेर सामाजिक र राजनीतिक संरचनामा रूपान्तरण गर्न सकेका छौँ ? यदि सकेका छैनौँ भने बुद्ध जयन्ती केवल औपचारिकतामा सीमित हुनेछ । दीप बाल्ने, भाषण गर्ने र कार्यक्रम आयोजना गर्ने कामले मात्र परिवर्तन सम्भव हुँदैन । परिवर्तन चेतनाबाट सुरु हुन्छ र व्यवहारमा प्रकट हुन्छ ।
भविष्यको सन्दर्भमा यो प्रश्न अझ गम्भीर बन्छ । यदि वर्तमान प्रवृत्ति निरन्तर रहिरह्यो भने मानवता अझ ठूलो संकटतर्फ धकेलिन सक्छ । आणविक हतियारको जोखिम, जलवायु परिवर्तन, आर्थिक असमानता र सामाजिक विखण्डनले संयुक्त रूपमा मानव अस्तित्वमै चुनौती सिर्जना गर्न सक्छन् । यस्तो अवस्थामा बुद्धको सन्देश केवल नैतिक शिक्षा मात्र होइन, अस्तित्वको आवश्यकता बनेको छ ।
मानव सभ्यता अहिले दुई बाटोको दोबाटोमा उभिएको छ । एकातिर शक्ति, प्रतिस्पर्धा र युद्धको बाटो छ, अर्कोतिर शान्ति, सहअस्तित्व र चेतनाको मार्ग छ । गौतम बुद्धले दोस्रो बाटो देखाएका थिए । तर त्यो बाटो सजिलो छैन, किनकि त्यसका लागि बाहिरी होइन, भित्री परिवर्तन आवश्यक हुन्छ ।
यही सन्दर्भमा बुद्ध जयन्तीको वास्तविक महत्व प्रस्ट हुन्छ । यो केवल विगत सम्झने दिन होइन, वर्तमान बुझ्ने र भविष्यको दिशा तय गर्ने अवसर हो । यदि हामीले यसलाई गम्भीरतापूर्वक लिएनौँ भने इतिहासले फेरि दोहोरिनेछ । र त्यो दोहोराइ सम्भवतः अझ विनाशकारी हुनेछ ।
अन्ततः, बुद्धको मार्ग कुनै विकल्प मात्र होइन, आवश्यकता हो । शान्ति केवल चाहेर प्राप्त हुँदैन, त्यसका लागि चेतनाको परिवर्तन आवश्यक हुन्छ । बुद्धले त्यो मार्ग देखाएका छन्, तर त्यसमा हिँड्ने जिम्मेवारी हाम्रो हो । यदि हामीले त्यो जिम्मेवारी पूरा गर्न सकेनौँ भने बुद्ध जयन्ती केवल एउटा उज्यालो दिन हुनेछ, तर संसार भने अन्धकारमै रहनेछ ।
यसैले, बुद्ध जयन्ती मनाउने सबैभन्दा ठूलो अर्थ दीप बाल्नु होइन, आफ्नो चेतनामा उज्यालो ल्याउनु हो । मानवता बचाउने संकल्प गर्नु हो । र यही सन्देश आजको अशान्त विश्वका लागि सबैभन्दा आवश्यक छ ।
