पर्खि बसेँ, आउला भनी मेरा उठ्ने पालो, कुर्दाकुर्दै जिन्दगी नै भइसक्यो कालो कालो ।
वारीपारी अँध्यारो छ आँखा खोली हेर्दा, अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा ।
नीर शाहको रचनामा नारायण गोपालको यो चर्चित गीत, जसले मानिसको चरम नैराश्यतापूर्ण अवस्थालाई उजागर गर्छ । जसमा उसको चिर प्रतिक्षित अभिलाषा नचिताउँदो ढंगले समाप्त हुन्छ, अब के गर्ने, कता जाने—केही मेसो मेलो पाउँदैन, अघि–पछि चारैतर्फ अन्धकार देख्छ । लाग्छ, त्यस्तै मनोदशामा छन् एमालेमा आबद्ध विभिन्न दर्जाका सज्जन जनहरू । जसले हालसम्म पार्टी सत्ता शक्तिमा हुँदा वा नहुँदा व्यक्तिगत लाभको अवसर पाएनन्, सार्वजनिक पदीय जिम्मेवारीको दुरुपयोग गरेनन् । पार्टी उपर साँचो मनले भरोसा राखे, दुःख–कष्ट भोगे, हन्डर–ठक्कर खाए । पार्टी विस्तार र सुदृढीकरणका निम्ति यथासक्य योगदान गरे । पार्टी साँच्चिकै सामाजिक परिवर्तनको संवाहक हो, शोषित–पीडितको मुक्तिदाता हो, विकास–समृद्धिको अभियन्ता, क्रान्ति तथा रूपान्तरणको मुख्य सञ्चालक हो भन्ने असीम विश्वास सुम्पिए । उनीहरूलाई अझै पार्टीले पर्याप्त अवसर नपाएर हो आफ्नो पूर्ण सामथ्र्य देखाउन र चाहेको गर्न नसकेको हो भन्ने लागेको थियो । यसपूर्वका अवसर र जिम्मेवारी अपुरा र अधुरा थिए, नेतृत्वलाई पार्टीभित्र र बाहिरका सहकर्मी तथा साझेदारहरूबाट इमानदार साथ भएन, धोका भयो भन्ने बुझाइ थियो ।
एमालेका ती निर्दोष आत्माहरूका लागि गत भदौ २३–२४ को जेन्जी विद्रोह र फागुन २१ को निर्वाचनका परिघटनाहरू प्रलयकारी बज्रपात बनेर आए, अप्रत्यासित प्राकृतिक प्रकोप आइलागेजस्तो भइदियो । कतिलाई छाँगाबाट खसेजस्तो, धुरीबाट एकैचोटि आँगनमा बजारिएजस्तो भएको होला । च्यासल र गुण्डु मुकामबाट झिनो स्वरमा प्रकट भएको फेरि धुलो टक्टकाएर उठ्छौँ भन्ने अठोटले एक रौँ पनि त्राण दिन सकेको छैन सायद । पछारिएको मात्रै भए त उठ्न पनि सकिन्थ्यो, यसपटक नराम्रोसँग बजारिएको छ, कहिल्यै उठ्नै नसक्ने गरी थला पर्न बेर छैन, आशंकाका चिसो पसिसकेको छ ।
एमाले फेरि उठ्ला कि नउठ्ला, उठी हालेछ भने पनि पहिले जस्ता कुद्ने र उफ्रने सामथ्र्यसहित पुनरागमन गर्ला कि नगर्ला भनेर पूर्वानुमान लगाउन त्यसलाई अस्तित्व प्रदान गर्ने प्रमुख अवयव र संयोजनमा के कति हदसम्मको आघात छ, त्यसको अन्दाज लगाउनुपर्ने हुन्छ । उस्तै चोट र आघातबाट निको हुने सम्भावना पनि उमेर, अवस्था र आन्तरिक संरचनाको अवस्थाले निर्धारण गर्दछ । निश्चय नै बुढो ज्यान र हड्डीलाई मुस्किल पर्छ तंग्रन र जोडिन ।
एमालेको सबैभन्दा महत्वपूर्ण पूँजी उसको सार्वजनिक छवि, प्रतिष्ठा वा लोकप्रियता थियो । त्यो पार्टी नेता–कार्यकर्ताहरूले आधा शताब्दीदेखि गरेको बलिदान र समर्पण, मेहनत र योगदानको संचित योग थियो, पञ्चायतकालीन जेलनेल यातना, भूमिगत राजनीति र संघर्षको उपज थियो, मदन भण्डारी र मनमोहनको सृष्टि, कृति र स्मृतिको आलोक थियो । त्यसको समृद्धिमा झलनाथ खनाल, माधव नेपाल, स्वयं केपी ओलीको समेत योगदान थपिएको थियो । जब नेतृत्व केपी ओलीको हातमा गयो, उनले एमालेको राजनीतिक पूँजीमा एकलौटी स्वामित्व हडपे, तत्पश्चात् पार्टीका संस्थापक धरोहरहरू समेत पाखा लाग्ने अवस्था सिर्जना भयो, पार्टीको साख क्रमशः ओरालो लागेको थियो, पछिल्ला घटनाक्रमहरूले ऋणात्मक बनाइदियो । अब नकारात्मक प्रतिष्ठाको बोझ थेगेर कति मान्छे टिक्छन् भन्न गाह्रो छ ।
त्यस पार्टीको अर्को प्रमुख आधार मजबुत संगठनात्मक संरचना, प्रतिबद्ध र इमानदार कार्यकर्ता पंक्ति, बुज्रुक शुभेच्छुकहरूको घेरा र अविचलित मतदाता थिए । कामरेड केपीको नेतृत्वमा पदासीन भए पश्चात् उनले पार्टीको संस्थागत प्रणालीलाई ध्वस्त बनाएर निजी टुकडीमा परिणत गर्न थाले । कार्यकर्ताको मूल्यांकन आधार उनीहरूको सार्वजनिक छवि, योग्यता, क्षमता भन्दा बालकोट परिक्रमा, आफू प्रति भक्ति–आराधना बन्न थाल्यो । समयानुकूल विचारमा अद्यावधिकता, बौद्धिक अन्तक्र्रिया र विचार मन्थनभन्दा दम्भ र अहंकारयुक्त आफ्नै उट्पट्याङ गन्थनहरू फलाक्न थालेपछि तर्क र विवेकको लेस बाँकी रहेका समर्थक शुभेच्छुकहरू टर्किन र भड्किन पुगे । साँच्चै संकटको बेला पार्टीको नैतिक प्रतिरक्षा गर्न सक्ने कोही नैतिकवानहरू तयार रहेनन् ।
एमालेको अर्को आधारभूत अवयव कम्युनिष्ट आन्दोलनको सशक्त विरासत थियो । उन्नाइसौँ शताब्दीको उत्तरार्धमा माक्र्सवादको विचारको उदय युरोपमा भयो । त्यसको क्रान्तिकारी संस्करणको प्रयोग लेनिनको नेतृत्वमा रूसमा अक्टोबर क्रान्तिबाट प्रारम्भ भयो । खासगरी दोस्रो विश्वयुद्ध पश्चात् विश्वभर माक्र्सवादका सुधारवादी समाजवाद र साम्यवादी (कम्युनिष्ट) समाजवादको लोकप्रियता र प्रभाव बढेर गयो । पूर्वी युरोप, पूर्वी एशियाका धेरै देशहरूमा कम्युनिष्ट क्रान्ति सम्पन्न भयो । पश्चिम युरोप लगायतका मुलुकहरूमा पनि समाजवादी सुधारकहरू चुनावमार्फत् सरकारमा पुगे । विश्व व्यवस्था नै समाजवादी र पूँजीवादी अर्थात् वामपन्थी र गैरवामपन्थीमा विभाजित वा ध्रुवीकृत हुन पुग्यो । पूँजीवादी दुनियाँको समानान्तर प्रतिस्पर्धामा विश्वव्यापी फैलिएको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभाव नेपालमा पर्नु स्वाभाविक थियो । अझै उत्तरी छिमेकी चीन, विश्व महाशक्ति सोभियत संघमा, भारतको पश्चिम बंगाल लगायत केही राज्यहरूमा पनि कम्युनिष्टहरू सत्तासित भएको र उनीहरूसँगको सम्पर्क, सम्बन्ध र सहयोगको पहुँचले गर्दा शीतयुद्धकालमा नेपाल पनि कम्युनिष्ट आन्दोलनको उर्वर भूमि बन्यो ।
राजाको निरंकुश सत्ता र निर्दलीय पञ्चायतीकालमा भूमिगत शैलीको संगठन विस्तार गर्दै नेकपा (माले) सशक्त राजनीतिक शक्ति रूपमा उदय भयो । २०४६ सालको परिवर्तन पश्चात् मनमोहन–साहनाको पार्टीसँग एकीकृत भएर बनेको एमाले नेपाली काँग्रेसलाई टक्कर दिन सक्ने हैसियत हासिल गरेको थियो । तसर्थ एमालेको संगठनात्मक जग भूमिगत कालीन संघर्ष, मेहनत र माक्र्सवादी–लेनिनवादी कम्युनिष्ट स्कुलिङ थियो । तर विश्व सन्दर्भ अहिले बिल्कुल फरक छ, संसारमा कम्युनिष्ट राजनीति अस्तित्व संकटमा पुगेको छ । नेपालमै पनि माओवादीहरूको असफल सशस्त्र विद्रोह र त्यसले सिर्जना गरेका नकारात्मक असरहरूले नेपालमा कम्युनिष्ट जनमत वा लोकप्रियता पातलिँदै गएको थियो । एमालेमा पनि त्यसको हिस्सा झन् न्यून बनेको थियो । साथै भूमिगत कालीन संगठन र कार्यकर्ताहरूको विरासत पनि लगभग सुकेको खोला जस्तै भइसकेको छ ।
प्रायःले स्वीकार गर्न नसकेको यथार्थ के हो भने एमालेको ठूलो जनाधार मध्यम वर्गीय थियो । प्रायः नेता–कार्यकर्ताहरूको पारिवारिक पृष्ठभूमि त्यही छ । धेरैजसोले एमाले विशुद्ध कम्युनिष्ट पार्टी भएकोभन्दा त्यो ब्रान्ड मात्र हो, खासमा काँग्रेसको प्रतिस्पर्धी लोकतान्त्रिक शक्तिकै रूपमा बुझेका थिए । कांग्रेससँग असन्तुष्ट ठूलो लोकतान्त्रिक जनमत एमालेले आकर्षित गरेको थियो । एमालेको आधार वामपन्थीभन्दा बढी लोकतान्त्रिक जनमत थियो । २०४६ साल, ०६२÷६३ लगायत लोकतान्त्रिक आन्दोलनमा निर्णायक सहभागिता, बहुदलीय जनवादको प्रभाव, लोकतान्त्रिक प्रणालीमा अभ्यस्तता, नेपालका लोकतान्त्रिक संविधान निर्माणमा नेतृत्वदायी भूमिका आदिले एमाले विश्वसनीय प्रगतिशील लोकतान्त्रिक शक्तिको हैसियत प्राप्त गरेको थियो र मध्यम वर्गको ठूलो हिस्साले भरोसा गरेको थियो । जब केपी ओलीले हठात् पार्टीको प्राधिकार प्राप्त गरे, उनको कृपा र पराक्रमले एमाले प्रगतिशील वामपन्थलाई तिलाञ्जली दिँदै पुरातन दक्षिणपन्थको शरण पुग्यो, एकपछि अर्को लोकतान्त्रिक मूल्यहरूलाई तिरस्कार गर्दै माओ–स्टालिन पाराको सर्वसत्तावादको नाङ्गो रूप प्रदर्शन हुन थाल्यो । आर्थिक नीति र व्यवहार पनि सभ्रान्त तथा बिचौलियाहरूलाई रिझाउने र अरूलाई विझाउने खालको रहिरह्यो । मुलुकलाई स्पष्ट दिशा दिने जिम्मेवारीभन्दा तुष्टिकरण र प्रियतावादमा रुमलियो, जसकारण एमालेसँग मध्यम वर्गको मोहभंग भयो ।
आम निर्वाचनताका एमालेका दुई प्रभावकारी अस्त्रमा भरोसा थियो । एउटा लोकप्रियतावाद, जसमा वृद्ध भत्ता भइहाल्यो; अर्को राष्ट्रवाद–चुच्चे नक्सा । केपी ओलीले पार्टीको निर्वाचनमा समेत त्यस्तै नाराको सहारा लिएका थिए–जस्तो ‘जोगाऔँ देशको अस्तित्व, पुनः एकपटक केपी ओलीको नेतृत्व ।’ तर यसपटकको निर्वाचनमा उनको प्रियतावाद पनि टिकेन र राष्ट्रवाद पनि बिकेन ।
एमालेको यो हालतको सम्पूर्ण कारण ओली र उनको समूहले दाबी गरेका षड्यन्त्रपूर्ण जेन्जी विद्रोह र योजनाबद्ध नयाँ निर्वाचन मात्र थिएन । यदि त्यो षड्यन्त्र रहेछ भने पनि त्यसको पृष्ठभूमि र बहाना उपलब्ध गराउने पौरख एमालेबाट भएको थियो । पछिल्लो समय ओलीको गिरेको लोकप्रियता, लोकतान्त्रिक मूल्यबाट च्युत भएर देखाउने गरेको अधिनायकवादी रवाफ र विदेश नीतिमा दोहोरो मापदण्ड अनि उताउलो राष्ट्रवादको तुजुकका कारण एमालेले आफ्नो सामाजिक पूँजी र ‘सफ्ट पावर’ गुमाइसकेको अवस्था थियो । नैतिक आधार गुमाएको शासकका निम्ति राज्य नै सति जाँदैन प्रायः ।
एमालेको यति छोटो समयमा धराशायी हुनुमा केपी ओलीको भूमिका निर्णायक देखिन्छ । तर केपी ओली एक पात्र मात्र होइन, प्रवृत्ति पनि हो । एमाले जस्तो सशक्त संस्थागत संगठन ओलीजस्तो आत्मकेन्द्रित प्रवृत्तिको कब्जामा कसरी पुग्यो भन्ने प्रश्न पनि उठ्नुपर्छ ।
एमाले अब कसरी सच्चिन सक्छ त भन्ने प्रश्नमा—के आधारमा सच्चिने भन्ने एउटा छ, अर्को गुमेको जनमत पुनः प्राप्ति गर्ला कि नगर्ला भन्ने हो । केपी ओली ढिलो–चाँडो विदा होलान्, केही परिदृश्य हेरफेर होला, ‘हामी अब बदलियौँ’ भन्ने दाबी प्रस्तुत होला । तर त्यतिले मात्र जनमत पुनःआर्जनको चुनौती झन् पेचिलो हुने देखिन्छ । त्यो कुरा केवल चेहरा परिवर्तनले मात्र पर्याप्त नहोला, व्यवहार परिवर्तन कस्तो हुन्छ त्यसमा निर्भर गर्ला ।
वैचारिक दृष्टिकोण, संगठनात्मक प्रणाली, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा आउनु—व्यवहार परिवर्तनको प्रारूपले भावी गति र दिशाको निर्धारण गर्दछ । वैचारिक रूपमा एमालेले कम्युनिष्ट वाम कित्तामा फर्किने कि उदार लोकतान्त्रिक कित्तामा हेलिने, लेनिनवादी अति केन्द्रीकृत संगठनात्मक प्रणालीलाई कायम राख्ने कि समयसापेक्ष परिमार्जन गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणमा पनि पुनर्विचार गर्ने बेला आएको छ । सधैँ सबैतिर ठिक्क हुने धूत्र्याइले काम नगर्न सक्छ ।
दायाँ–बायाँ जता मोडिए पनि एमालेलाई सजिलो पक्कै छैन । कम्युनिष्ट कित्तामै रहँदा अन्य समूह पनि एकीकृत भई केही उठ्ने–उभिने सम्भावना होला, तर त्यसो गर्दा मध्यम वर्ग, लोकतान्त्रिक जनमत र नयाँ पुस्ता आकर्षित नहुन सक्छ । लोकतान्त्रिक कित्तातर्फ जाँदा पनि कम चुनौती छैन—पहिलो, साँच्चिकै आफैँ पर्याप्त रूपान्तरण हुन मुस्किल छ । दोस्रो, कांग्रेसको विकल्पमा रास्वपाको उदय भइसकेको छ । तेस्रो, कांग्रेस समेत नयाँ ढंगले उठ्न खोज्दै छ । चौथो, अन्तर्राष्ट्रिय जगतमा कम्युनिष्ट पृष्ठभूमीको छाप मेट्न मुश्किल पर्न सक्छ ।
ओलीप्रति असन्तुष्टि जनाउने एमालेका नेता–कार्यकर्ता पंक्तिले पनि जति हदसम्म परिवर्तित हुनुपर्ने हो त्यो हदसम्म महसुस गरेजस्तो लाग्दैन । त्यसैले पनि आशा गर्ने ठाउँ कमै छ–एमाले फेरि जुर्मुराउन सक्छ कि भनेर । केही नेता–कार्यकर्ताको आत्मरतिले पुग्दैन । आम नागरिकलाई समेत आश्वस्त तुल्याउने गरी रूपान्तरण नभए हाल पछिल्लो चुनावमा ठहरेको मत समेत नजोगिन सक्छ ।
