काठमाडौं । नेपाली कांग्रेसले २ सय पृष्ठ लामो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। प्रतिज्ञा पत्रको सन्दर्भमा सभापति गगन थापासँग सिधा प्रश्नोत्तर कार्यक्रमपछि कांग्रेसले प्रतिज्ञा पत्रको पूर्णपाठ सार्वजनिक गरेको हो।
प्रतिज्ञा पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस सरकारको सञ्चालन सिंहदरबारका बन्द कोठामा बसेर होइन जनताको प्रश्न र निगरानीका बीचमा रहेर हुनेछ । हामी प्रतिबद्ध छौँ-सरकारले पाँच वर्षपछि होइन प्रत्येक महिना जनतालाई जवाफ दिने नवीन लोकतान्त्रिक अभ्यासको सुरुआत गर्नेछ ।’
प्रतिज्ञा पत्रमा भनिएको छ, ‘हामी प्रत्येक मन्त्रालयको नेतृत्वलाई यो प्रतिज्ञापत्र अनुरूप स्पष्ट कार्यादेश तोकेर हरेक महिना वस्तुगत ढङ्गले परीक्षण गर्नेछौँ । यसरी महिनाभरि प्राप्त भएका उपलब्धिहरू समेटेको ‘मासिक रिपोर्ट कार्ड’ देखाउने पद्धतिलाई हामी केन्द्रदेखि स्थानीय तहसम्मै संस्थागत गर्नेछौँ । हामी अबको पाँच वर्ष सरकार सञ्चालनमा नैतिकता र जवाफदेहिताको यही पद्धति अँगालेको गतिशील नेतृत्व दिनेछौँ । जनताको स्नेह र भरोसालाई कहिल्यै टुट्न दिने छैनौँ ।’
