नेपालको भौगोलिक विविधता कृषि विकासको अनुपम अवसर हो । यहाँ प्रत्येक भौगोलिक क्षेत्रले आफ्नो विशिष्टता अनुरूप कृषि उत्पादन गर्न सक्ने क्षमता राख्दछ । यस्तै एक विशिष्ट उदाहरण हो– शीतोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङ । यो केन्द्र नेपालकै शीतोष्ण जलवायुगत क्षेत्रमा अवस्थित रहेर विशेषगरी स्याउ, खुर्पानी, ओखर जस्ता फलफूल तथा अन्य फलफूल तथा तरकारीबालीहरूको अनुसन्धान, उत्पादन, संरक्षण र प्रवद्र्धनका लागि बि सं २०२३ सालमा स्थापित गरिएको महत्वपूर्ण संस्था हो । यति उच्च हिमाली क्षेत्रमा सरकारी स्तरबाट कृषि बिकास र अनुसन्धान केन्द्रको स्थापना गर्नु आफैँमा रणनीतिक निर्णय हो । तर, यो केन्द्रले आजसम्म कति प्रभावकारी भूमिका निर्वाह गर्न सक्यो त ? यसको सम्भावना र चुनौती के छन ? यस सन्दर्भमा गम्भीर विश्लेषण आवश्यक छ ।
शीतोष्ण बागवानी विकास केन्द्रको स्थापनाको प्रमुख उद्देश्य शीतोष्ण जलवायुगत फलफूल तथा अन्य बालीहरूको प्रविधि विकास, प्रविधि प्रसारण, बिउ तथा बिरुवा उत्पादन, किसानलाई प्रशिक्षण, उत्पादनमा गुणस्तर वृद्धि र बजारिकरण प्रवद्र्धन हो । विशेषतः मुस्ताङ जिल्ला नेपालकै प्रमुख स्याउ उत्पादक जिल्ला हो । यहाँको हावापानी, उचाइ, चिस्यान र मौसमी अनुकूलता शीतोष्ण फलफूलका लागि अत्यन्त उपयुक्त छ । केन्द्रले यस अवसरलाई उपयोग गर्दै अनुसन्धान र नवप्रविधि विकासमार्फत उत्पादन बढाउने लक्ष्य राखेको हो । मुस्ताङमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियर्स, फुजी लगायतका अन्य उन्नत जातका स्याउ प्रवद्र्धनमा केन्द्रले भूमिका खेलेको छ । शुद्ध र स्वस्थ बिरुवा उत्पादन गरी किसानहरूलाई वितरण गर्ने कार्य गरिएको छ । विशेष गरी ग्राफ्टिङ प्रविधिको विकासमार्फत राम्रा बिरुवा उत्पादनमा टेवा पुगेको छ ।
कृषक समूहहरूलाई तालिम, प्रविधि प्रसारण, प्राविधिक सल्लाह तथा अनुदानमा सहयोग गर्दै आएको छ । केही कृषकहरूलाई क्लस्टर प्रणालीमा व्यवस्थित खेतीतर्फ प्रोत्साहित गरिएको छ । जलवायु परिवर्तन, रोग–कीरा व्यवस्थापन, खेती प्रविधि, मलखादको प्रयोगबारे अध्ययन गरिएको छ । परिक्षण तथा अध्ययन अनुसन्धान फलफूल तथा तरकारी वालीहरुको उपयुक्त जातको छनोट र अन्य सुधारात्मक क्रियाकलापहरू गरिएको छ । हालको अवस्थालाई मूल्याङ्कन गर्दा केन्द्रले उल्लेख्य भूमिका त निर्वाह गरेको छ नै तर यसको दायरा, प्रभाव र स्थायित्व अझ सुदृढ बनाउनुपर्ने आवश्यकता देखिन्छ । केन्द्रको भौतिक पूर्वाधार मजबुत बनाउनु पर्ने आवश्यकता छन् । प्रयोगशाला, ग्रीनहाउस, प्रशोधन यन्त्रको प्रयाप्तता नहुँदा अध्ययन अनुसन्धान तथा प्रसारको दायरा सीमित बनाएको छ । साथै प्राविधिक जनशक्तिको अभावले नियमित अनुसन्धान र किसान सेवा प्रभावित भएको देखिन्छ । सीमित कर्मचारीहरूलाई अत्यधिक कार्यभार रहेको छ ।
मुस्ताङ नेपालको शीतोष्ण फलफूल उत्पादनको सम्भावना बोकेको जिल्लामध्ये एक हो । समुद्री सतहबाट २००० मिटर माथिको उचाइमो स्याउ तथा अन्य शीतोष्ण फलफूलहरुको व्यवसायिक खेती गर्न सकिन्छ। लामो जाडो मौसम, लेकाली हावापानी र हिमाली माटोले उत्पादनको स्वादमा विशिष्टता ल्याउँछ । मुस्ताङको स्याउ अन्य स्थानको तुलनामा स्वादिष्ट र टिकाउ हुन्छ । जसले बजारमा उच्च मूल्य पाउँछ । जैविक उत्पादनको छापले अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो सम्भावना छ । शीतोष्ण बागवानी विकास केन्द्र, मुस्ताङ केवल एउटा अध्ययन अनुसन्धान र प्रसार गर्ने संस्था मात्र होइन । यो हिमाली क्षेत्रमा हरियाली, आत्मनिर्भरता र समृद्धिको आधार बन्न सक्ने अथाह सम्भावना वोकेको केन्द्र पनि हो । यसले स्थानीय जनतालाई कृषि अनुसन्धान, प्रविधि र प्रोत्साहन मार्फत दिगो आयआर्जनमा सहयोग पु¥याउन सक्छ । आवश्यक जनशक्तिको व्यवस्थापन सँगसँगै नीति निर्माण तहबाट लिएर स्थानीय सहकार्यसम्म प्रभावकारी सुधार भएमा यसवाटे पूर्ण रुपमा लाभ लिन सकिन्छ । यसलाई ‘सिर्जनात्मक सुधार’ र ‘समावेशी पहुँच’ का माध्यमबाट स्थानीय उत्पादन, रोजगारी, पर्यटन र निर्यातसँग जोड्न सकियो भने मुस्ताङ मात्र होइन, देशको पूरै हिमाली क्षेत्रको कृषि परिदृश्य रुपान्तरण गर्न सकिन्छ । यस अर्थमा, शीतोष्ण बागवानी विकास केन्द्र, मुस्ताङ अब देशको आमकृषिमा परिवर्तन ल्याउन सक्ने खालकोे एक बृहत हरित प्रयोगशाला बन्नु आवश्यक छ ।
