देशमा अस्थिरता छ। एउटै दलको बहुमत नआउंदा बर्ष बर्षमा सरकार फेरिएको हामीले देखेका छौं। अघिल्लो चुनाबमा दलहरू एक्ला एक्लै चुनाब लडेको भए सायद एमालेको बहुमत आउने या बहुमत नजिक हुनसक्ने संभावना थियो, तर त्यसो भएन। तत्कालिन अबस्थामा दोस्रो, तेस्रो र चौथो शक्ति एकातिर र पहिलो शक्ति एकातिर भएर दलहरु चुनाबमा जांदा यो खालको नतिजा आएको हो भन्न सकिन्छ। संविधान अनुसार कसैको बहुमत नआउंदा दुई वा दुई भन्दा बढी दलहरू मिलेर सरकार बनाउनुपर्ने हुन्छ। सोही अनुसार सरकार निर्माण हुंदा माओबादी को नतृत्वमा २ बर्षमा ३ पटक सरकार फेरबदल भयो। ६२÷६३ को जन आन्दोलन पछिका ४ ओटै निर्बाचन हेर्ने हो भने एउटै सरकार या एउटा दलको सरकार पुरा अवधी सरकार संचालन गरेको देखिंदैन। यस बीचमा कम्ती मा ६ महिना देखि ९ महिना, १ बर्ष, डेढ बर्ष र २ बर्ष सम्म मात्रको अवधीमा सरकारहरू बने। ७४ को निर्बाचन पछि बनेको ओली सरकार करिब साडे ३ महिना चल्यो। त्यसै बेला बहुमतको सरकार भएकोले छोटो अबधीमा धेरै राम्रा कामहरू भएका थिए। त्यस पछि यता पनि धेरै सरकार हरू फेरिए तर देशले निकास पाउन सकेन।
अहिले अस्थिरता चिर्न र मुलुकलाई समृद्धि र बिकासको बाटोमा डोर्याउन दुई ठुला पार्टी मिलेर सरकार संचालन गरेका छन्। यो अन्तिम बिकल्पको सरकार पनि हो। कमसेकम अबको चुनाब सम्म देशले स्थिर सरकार पाएको छ। सरकार बनेको दिन देखि नै देशमा केहि परिवर्तन आएको हामीले महशुस गर्न पाएका छौं।शेयर कारोवार बढेको छ। बैकमा अधिक तरलता छ। बिदेशी मुद्रा संचितिको अबस्था बढेको छ। निर्माण कम्पनी लगायत बिभिन्न बक्यौताहरू यो सरकारले भुक्तानी गरेको छ। बजेट भाषणमा पनि पहिले जस्तो धेरै बिरोधका स्वरहरू सुनिएनन्। समग्रमा अर्थतन्त्रको आकार बढेको छ। सरकारको प्राथमिकता थालेका कामहरू छिटो गरेरे सकाउने तर्फ भएको हामी पाउंछौं। सरकारले तीब्र गतिको बिकास चाहिरहेको छ भन्ने कुरको एउटा ज्वलन्त उदाहरण किर्तिपुरमा निर्माण सम्पन्न हुन लागेको क्रिकेट स्टेडियमको हो। यि र यस्तै कारणले सांच्चिकै जनतालाई अब देशमा केहि हुन्छ भन्ने पर्न थालेको छ।
अहिले अधिकांश बिदेशमा भएका र केहि नेपाल मै पनि युवाहरू देशको अस्थिर राजनितिले केहि निराश छन्। बिदेशमा रहेका अधिकांश युवाहरूले बिदेशको सिस्टम र तीब्र गतिको बिकास देखेका छन्। त्यहां स्थिर सरकार पनि देखेका छन। उनीहरू नेपालमा पनि त्यही चाहन्छन्। तर लामो समय देखि अस्थिरताले गांजेको हाम्रो जस्तो मुलुकका अधिकांश युवाहरू देश मै केहि गर्न चाहन्छन तर अनुकुल बातावरण नहुंदा र धेरै र छिटो पैसा कमाउने धुनमा बाहिरिन्छन। यो युवा जनशक्तिलाई नेपाल मै रोक्नका लागि स्थिर सरकार र त्यो सरकाले अगाडि सार्ने उपयुक्त कार्यक्रमका आधारमा मात्र पुरा हुन सक्दछ। सरकारले बिदेशमा सीप सिकेर फर्केका युवाहरूलाई लक्षित गरेर कार्यक्रम अगाडि नबढाएको हैन तर देशको अस्थिर राजनिति, झन्झटिलो प्रक्रिया, बजेट अभाव र सरकार फेरिंदा कार्यक्रम पनि फेरिने समस्याले युवाहरू यस तर्फ आकर्षित छैनन्।
आज एउटा १२ कक्षा पढ्दै गरेको युवा संग सपना प्रशस्त छन। उ पढाई सकाएर देश मै केहि गर्न त चाहन्छ तर १२ कक्षा सकिंदा नसकिंदा नेपालमा संभावना कम देख्न थाल्छ र अधिकांश युवाहरू उच्च शिक्षाको लागि बिदेश गएर पढ्दै पैसा कमाउंदै गरेको देख्छ र त्यस तर्फ उ आकर्षित हुन्छ। सांच्चिकै कलेजहरूमा गएर सर्वे नै गर्ने हो भने लोकसेवा दिएर सरकारी जागीर खान्छु भन्ने हरू १० प्रतिशत, नेपाल मै पढेर यहीं केहि गर्छु भन्नेहरू १० प्रतिशत र बिदेशमा गएर उच्च शिक्षा हांसिल गर्छु भन्ने हरू ८० प्रतिशत छन्। त्यो ८० प्रतिशत मध्ये ६० प्रतिशतको मात्र बिदेश पढ्न जाने रहर पुरा हुन्छ र बांकी ४० प्रतिशतको आधा बैदेशिक रोजगारीमा जान बाध्य छन र बांकी आधा नेपाल मै जागीर बिजनेस गर्ने १५ प्रतिशत तथा खेलकुद र संगीतमा रूचि भएर त्यस तर्फ अगाडि बढ्न चाहनेहरू १५ प्रतिशत र त्यसको ठुलो हिस्सा अर्थात ७० प्रतिशत बेरोजगार हुने अबस्था अहिले नेपालको हो। त्यसैले नेपाल मात्र होईन बिकासोन्मुख देशका अधिकांश युवाहरू उच्च शिक्षा हांसिल गर्न तथा पैसा कमाउन बिदेश जान रहर र बाध्यतामा छन्। जसलाई रोक्नको लागि स्थिर सरकार अहिलेको अपरिहार्य हो।
अहिले बजारमा धेरै खाले हल्ला, भ्रम र अफवाहहरू चलाएको देख्न र सुन्न पाईन्छ। एउटा गिरोह नै छ जसले सामाजिक संजाल मार्फत देशमा केहि पनि भएन, देश बर्बाद भईसक्यो, नेताहरूले देश डुबाए भनेर भ्रामक हल्ला चलाएकाछन। यस्तै हल्ला चलाउनेहरूले देशमा भ्रष्टचार गर्ने र सेटिङ्गमा देश चलाउने ठुला र पुराना दलका ठुला नेताहरू हुन भनेर भ्रमहरू छरेको हामी पाउंछौ। जुन सत्य होईनन्। देशमा केहि नभएको होईन, जति हुनुपर्ने हो त्यती नभएको हो। हाम्रा सिमित साधन श्रोत तथा देश, काल, परिस्थिति अनुसार सरकार अगाडि बढेको छ। यसरी अगाडि बढ्दा हामीलाई सरकारको गती सुस्त लाग्नु स्वभाबिक हो। किनभने हामी नेपालको यथार्थ धरातलमा रहेर बिश्लेषण गर्ने हो भने बिकासमा हामी भारत र चाईना जस्तो अहिल्यै हुन सक्दैनौ। हाम्रो प्रतिस्पर्धा आज पनि बंगलादेश र श्रीलंका संगै हो।
जहां सम्म नेताहरूले भ्रष्टचार गरे भन्ने जे हल्ला छ त्यसमा पनि कोहि नेता मुछिएका छन भने अख्तियारले आफ्नो प्रक्रिया बाटै कारबाही गर्छ र घटनाको प्रकृति हेरेर अदालत सम्म पुर्याएर गल्ती गरेको छ भने जो कोही होस ढिलो चांडो कारबाही भएरै छाड्छ। त्यसैले आफ्नो कर्मको फल सबैले भोग्नै पर्छ। अदालतले भ्रष्टचार प्रमाणीत गरेर कारबाही गर्यो भने हामी बल्ल भन्न सक्छौ यो नेता भ्रष्टचारी हो। हामीले बुझ्नुपर्दछ कानुनी शासनमा कानुन ले दण्ड चलाउंछ। अहिले पुराना पार्टी हुन कि नयां त्यस पार्टीको खोल ओढेर यदि गलत गरेका छन भने ती अपराधी हुन । यस्ता अपराधीहरूलाई हरेक पार्टीले बेलैमा चिनेर कारबाही गरिहाल्नुपर्दछ। यस्ता केहि थान धमिराहरूले पार्टीलाई त बदनाम गरेकै छन संग संगै सबै नेता त्यस्तै हुन भन्ने भाष्यमा थप मलजल गरेकाछन। यदि नयां पार्टी र त्यसका नयां मान्छे आएर देश बन्ने भए पुराना पार्टीका बिधान, कार्यनिति र योजना किन चाहिए? के नयां पार्टीहरूलाई बिना बिधान, भिजन र योजना पार्टी चलाउने छुट हो? यो गम्भिर बिषय छ। नयांले सरकार चलाउंदा कुन चाहीं जादुको छडीले मुलुक बनाउंछन त? रवि लामिछाने दुई दुई पटक गृहमन्त्री बनेकै हुन खै के भयो त नयां? नयां पार्टी खुलेको यति छोटो समयमा अहिले सबै भन्दा बढी बिबाद र काण्डमा स्वतन्त्र पार्टी फसेको छ। पार्टी सभापति देखि महत्वपुर्ण ओहोदामा पुगेका ब्यक्ति नै बिभिन्न काण्डमा मुछिनु यो राम्रो संकेत पक्कै होईन । त्यसैले एकछिन भावनामा आएर आफ्नो बलियो घर छाडेर नयां तर्फ आकर्षित हुनु मुर्खता हुन सक्दछ। त्यसैले चित्त नबुझेका बिषयमा बिमती राख्न सकिन्छ। बिरोध गर्न सकिन्छ तर सुन्दर ईतिहांस र महत्व बोकेका दलका बिकल्प नयां पार्टी हुन सक्दैनन।
चुनाबका बेलामा सबै दलहरूले ठुला ब्यापारी र आफ्ना शुभचिन्तकहरूबाट पैसा उठाएका हुन्छन। किन कि नेपालका सबै दलहरूको आय श्रोत भनेकै आर्थिक सहयोग लिनु हो। यसमा पैसा माग्नेहरू शीर्ष नेताहरू नै हुन्छन। यदि यसैलाई भ्रष्टचार मान्ने हो भने सबै भन्दा बढी पैसा उठाउने नयां दलका छन्। तीनलाई के भन्ने? त्यसैले पार्टी आफ्ना सिद्धान्त र बिधी अनुसार चलेका छन कि छैनन्? प्रश्न त्यहां निर हो। न कि पुराना र नयां। जहां सम्म स्वतन्त्रको कुरा छ त्यो पनि हामीले हेरेकै छौं। टाढा जानै परेन काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बीच कै तुलना गरौं ललितपुरमा नेपाली कांग्रेसको तर्फबाट निर्बाचित मेयर चिरिबाबु महर्जन हुनुहुन्छ र भरतपुरमा नेकपा माओबादी केन्द्रको तर्फबाट निर्बाचित मेयर रेणु दाहाल हुनुहुन्छ। बिकास र समृद्धिमा ललितपुर र भरतपुर काठमाण्डौ भन्दा धेरै अगाडि छन् तर यहां चर्चा काठमाण्डौं का मेयर बालेन्द्र शाह कै छ, किन कि बालेन संग सम्बन्धित मिडिया र सामाजिक संजाल प्रयोगकर्ता बालेनका पक्षमा खुलेर लागेका छन। जुन महर्जन र दाहालको पक्षमा न्युन छन। बिकासे बजेट खर्च गर्न नसक्ने र समयमा बजेट ल्याउन नसक्ने काठमाण्डौंले साच्चिकै नयां काम काठमाण्डौ ले यो गर्यो भन्ने केहि पनि छैन न त उनको चुनाबी घोषणा पत्र अनुसार नै केहि भएको छ! बरु बिना बिकल्प सुकुम्बासी बस्तीमा डोजर चलाउने र बिना बिकल्प फुटपाथ र ठेला ब्यापारीलाई आतंकित पार्ने बालेनका सेना र उनको यो कार्य तथा उनको नजिकका मान्छेले ठेकेदार संग कमिसनको डिल गर्ने बिषय होस या उनी समर्थित मिडियाहरूलाई करोडौ बजेट छुट्याउने उनको तरिका र कवाडी ब्यबसायी माथी धावा बोल्ने कुराले उनलाई थप बिबादित बनाएको छ।
त्यसैले नयां पुरानो भन्ने पनि हुंदैन, स्वतन्त्र र पार्टी भन्ने पनि हुंदैन र लोकतन्त्र छाडेर राजतन्त्र त हामी कल्पनै गर्दैनौं। प्रमुख कुरा ब्यक्तिको आचरण हो। ब्यक्तिको आचरण गलत भयो भने त्यसले समाज, पार्टी र देशलाई नै हानी पुर्याईरहेको हुन्छ। पार्टी राम्रो नराम्रो उसको नितिले हुन्छ। निति अनुसारको नेतृत्व भयो भने समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ। निति मै अष्पष्टता भयो भने निकास प्राप्त हुंदैन। प्रश्न देश स्थिरतामा छ कि अस्थिरतामा? देश हांक्ने ब्यक्ति कत्तिको भिजिनरी, दुरदर्शी र क्षमतावान छ? यी बिषयहरूमा गम्भिरताका साथ घोतल्लीने हो भने हामी उत्तर पाउंछौ। देश स्थिरता तर्फ उन्मुख छ। बिकास र समृद्धिका सपनाहरू बिस्तारै साकार हुंदैछन। यसको पछिल्लो उदाहरण देशको जिडिपी संग जोडिएको दैलेखको पेट्रोलखानीलाई लिन सकिन्छ। देशको प्रधानमन्त्रीमा देश हाक्ने दम र साहस भएको मात्र होईन भिजन र दुरदर्शीता पनि त्यतिकै छ। त्यसैले देश परिवर्तन हाम्रै पालामा संभव छ। खाली देशमा स्थिरता हुनुपर्यो ।
