म्याग्दी । हरितालिका तीज पर्व २०८२ को अवसरमा मिलन म्याग्दीको आयोजना तथा जिल्ला समन्वय समिति म्याग्दी र उज्यालो वैकल्पिक विद्यालयको समन्वयमा प्रजनन स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना तथा बीएमआई जाँच, सुगर र प्रेसर लगायतको परिक्षण गरिएको मिलन म्याग्दीकी अध्यक्ष दिलमायाँ बिटालुले जानकारी दिनुभयो । मंगलबार सम्पन्न कार्यक्रममा उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत आमा तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति म्याग्दीकी प्रमुख दिलकुमारी खत्रीले उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत दिदीबहिनीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम प्रेरणादायी रहेको बताउनुभयो ।
बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछानेले तीज पर्वको सामाजिक–सांस्कृतिक महत्व र यसको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै यस पर्वलाई पुस्तान्तर गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठ, उज्यालो वैकल्पिक विद्यालयका अध्यक्ष राजेश शाक्यलगायतको पनि सहभागीता रहेको थियो । मिलन म्याग्दीका अध्यक्ष दिलु बितालुको अध्यक्षता, सामाजिक सुपरीबेक्षक छवी पुनको सञ्चालन र निवर्तमान अध्यक्ष कमला बानियाको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरूलाई स्वास्थ्यसम्बन्धी विविध जानकारीसमेत प्रदान गरिएको थियो ।
स्वास्थ्य परीक्षण कार्यक्रममा ८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण भएको अध्यक्ष बिटालुले बताउनुभयो ।

