पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा रहेको ३२ वर्ष पुरानो स्वास्थ्यचौकी भवन नेपाली सेनाको गुरु गोरख गुल्मले मर्मत गरेको छ ।
वर्षा शुरु भए सँगै स्वास्थ्यचौकीको भवनको छाना चुहीदा त्यहाँ रहेका औषधी तथा अन्य स्वास्थ्य उपकरण समेत विग्रने जोखिममा पुगेको थियो । पुरानो डिजाइनको उक्त भवनको छाना चुहिएको अवस्थामा सेनाको टोलीले त्रिपालको सहायताले हाललाई बैकल्पिक रुपमा पानी रोक्ने व्यवस्था गरेको हो ।
गत वर्ष पनि वर्षात्को समयमा पानी चुहीन थाले पछि वडाले त्रिपाल किनेर वैकल्पिक रुपमा व्यवस्था गरेको र अहिले पुनः पानी चुहिएको मालिका गाउँपालिका १ का वडा अध्यक्ष टंक पुनले जानकारी दिनुभयो । हामीले पनि प्रयास गरेका थियौं सञ्चार माध्यममा समाचार आए पछि नेपाली सेनाको टोली समेत पुगेर स्वास्थ्य चौकी मर्मतका लागि सघाएको वडा अध्यक्षको भनाई छ ।
निस्कोट स्वास्थ्यचौकीबाट त्यस क्षेत्रका झण्डै पाँच सय घरपरिवारले सेवा लिँदै आएको मालिका गाउँपालिकाकी स्वास्थ्यशाखा प्रमुख सन्तुकुमारी कार्कीले जानकारी दिनुभयो । २०५० सालमा स्थानीय श्रोत साधनको प्रयोग गरेर निर्माण गरेको उक्त भवन पुनः निर्माण गर्नु पर्ने अवस्थाको रहेको वडा अध्यक्ष पुनको भनाई छ । नयाँ ठाउँमा जग्गा प्राप्ती गरी भवन निर्माणको योजना रहेको समेत वडा अध्यक्षको भनाई छ ।
वडा सचिव तथा स्वास्थ्यचौकी इन्चार्ज अजित बि.क.लेस्वास्थ्यचौकीको छाना चुहीएकोले सेनाले त्रिपाल तथा अन्य स्थानीय उपकरण प्रयोग गरेर बैकल्पीक मर्मत गरेको बताउनुभयो ।

