नगर सभाका सदस्यज्यूहरु,
१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुन बमोजिम गर्ने संवैधानिक व्यवस्था अनुरूप स्थानीय सरकारको रूपमा यस गलकोट नगरपालिकाको नगरसभाको गरिमामय १७ औँ अधिवेशनमा आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा गौरवान्वित र उत्साहित छु ।
२. यस अवसरमा म सर्वप्रथम, देश र जनताको हितलाई सर्वोपरि मानी विभिन्न समयका ऐतिहासिक जनआन्दोलन, राजनीतिक क्रान्ति र सशस्त्र संघर्षमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सबै ज्ञात अज्ञात श्रद्धेय शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते, बेपत्ता र द्वन्द पीडित नागरिकलाई उच्च सम्मान व्यक्त गर्दछु ।
३. स्थानीय सरकारको लगानीलाई उत्पादनमूलक कार्यमा लगाई रोजगारी सिर्जना गर्नु र बढ्दो बसाइसराइलाई नियन्त्रण गर्नु हाम्रो लागि चुनौतीको विषय छ । यसलाई केन्द्रमा राखी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, हाम्रो दीर्घकालीन सोच, नेपाल सरकारको १६ औँ पञ्चवर्षीय योजना, दिगो विकासको लक्ष्यलाई दृष्टिगत गरी आ.व. २०८२/८३ को नीति र कार्यक्रम तय गरिएको छ ।
४. उत्पादन, उत्पादकत्व वृद्धि, मानव पूँजी निर्माण, उद्यमशीलता विकास, दिगो विकास, विपद् व्यवस्थापन, सुशासन जस्ता विषयहरूमा हाम्रा कार्यक्रमहरू केन्द्रित हुनेछन् । यसका निम्ती राष्ट्रिय दीर्घकालीन सोच, दिगो विकास लक्ष्य र हाम्रो प्रथम आवधिक योजनाले मार्गदर्शनका रूपमा रहेका छन् ।
५. आगामी आ.व. २०८२/०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमाको शिलशिलामा औपचारिक रूपमा विभिन्न पक्षहरूसँग सघन रूपमा प्रत्यक्ष अन्तरक्रिया गरी राय सुझाव लिइनुका साथै सामाजिक सञ्जाल, फोन सम्पर्क, इमेल आदि माध्यमबाट विभिन्न पेशा व्यवसायमा संलग्न स्वदेश एवम् विदेशमा रहनु हुने विकासप्रेमी सम्पूर्ण गलकोटवासी महानुभावहरुबाट राय सुझाव माग गरेका थियौँ । यसरी राय सुझाव दिनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । सो अनुरूप प्राप्त राय सुझावहरूलाई यथाशक्य समेट्ने प्रयास गरेका छौं ।

आर्थिक विकास
कृषि तथा बागवानी
६. स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनको तुलनात्मक लाभका क्षेत्रमा समुचित उपयोग गर्दै स्थानीयस्तरमा रोजगारी वृद्धि गर्न स्थानीय अर्थतन्त्रलाई सबल, गतिशील र समृद्ध बनाउनु स्थानीय सरकारको दायित्व हो । गलकोट नगरपालिकाको स्थानीय अर्थतन्त्रको प्रमुख श्रोतमध्ये मुख्यतः कृषि रहेकोमा उक्त क्षेत्रमा आधुनिकीकरण गर्दै लघु उद्योग, घरेलु उद्योग, पर्यटन तथा व्यापार क्षेत्रलाई प्रवद्र्धन गर्दै नगरलाई कृषिमा आत्मनिर्भर बनाइने छ ।
७. कृषिसँग सम्बन्धित समस्या र गुनासो समाधानको लागि ‘कृषकसँग कृषि प्राविधिक’ कार्यक्रम वडा स्तरमा सञ्चालन गरिने छ ।
८. आवधिक योजनाले परिलक्षित गरेको सोच ‘कृषिमा आधुनिकीकरण सहितको व्यावसायीकरण, खाद्य तथा पोषण सुरक्षाको प्रत्याभुति’ सहितको उद्देश्यमा दिगो र व्यावसायिक विस्तारद्वारा कृषि क्षेत्रलाई प्रतिस्पर्धी र आयआर्जन उन्मुख गराउने हाम्रो लक्ष्य रहेको छ । कृषिमा विविधीकरण तथा व्यावसायीकरण गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक रूपमा विकास गरिने छ । र, सामूहिक तथा सहकारी खेती प्रणालीलाई प्रोत्साहन गरिने छ ।
९. कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न माटो परीक्षण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । माटोको अम्लीय तथा क्षारियपन पहिचान तथा उपचार गरी सोही अनुरूपका बाली उत्पादनमा जोड दिइने छ । कृषिजन्य माटोको अवस्था सुधार गर्नका लागि प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गरिने छ ।
१०. ‘उत्पादन कृषकको, प्रोत्साहन नगरको’ कार्यक्रमअन्तर्गत व्यावसायिक कृषि, मौरीपालन व्यवसाय, उद्योग सञ्चालन गरेका व्यवसायी, उत्पादन दायरा, परिमाण, क्षेत्रफल लगायतमा आधारित मापदण्ड बमोजिम मूल्याङ्कन गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यलाई निरन्तरता दिइने छ ।
११. भौगोलिक अवस्था र सिँचाइको उपलब्धता समेतको आधारमा फलफूल तथा मसलाबाली जस्ता तुलनात्मक लाभका वस्तुहरू उत्पादनहरुको लागि पकेट क्षेत्रको अवधारणालाई निरन्तरता दिँदै थप बजेटको व्यवस्था गरिनेछ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक मौलिक हकलाई संघीय र प्रदेश सरकारको नीति अनुरूप व्यवहारिक रूप दिइने छ ।
१२. दैनिक उपभोग्य कृषिजन्य वस्तुहरूमा नगरपालिकालाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न नगरपालिका भित्रका सबै सम्भाव्य क्षेत्रहरूको पहिचान गरि व्यावसायिक तरकारी खेती, फलफूल खेती, अन्नबाली, मसलाबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै लगिने छ । फलफूल क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न नयाँ बगैँचा स्थापना र पुराना बगैँचाको सुदृढीकरण गरिने छ । लसुन जस्ता तुलनात्मक रूपमा कम लगानीमा उच्च मूल्य प्रदान गर्ने र उत्पादन उपरान्त कम क्षति हुने कृषि वस्तुको उत्पादनलाई प्रवद्र्धन गरिने छ ।
१३. साना तथा सीमान्त किसानहरुलाई लक्षित साना सिंचाई कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सहकारी क्षेत्र
१४. नगर क्षेत्रभित्र क्रियाशिल सहकारी संस्थाको सघन अनुगमन गरी सबै संस्थालाई कोपोमिस प्रणालीमा आबद्ध अनिवार्य गरिनेछ ।
१५. सहकारीको व्यवस्थापनलाई विधि र प्रक्रियामा आधारित बनाई सहभागिता, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा सुनिश्चत गर्ने व्यवस्था मिलाइने छ ।
१६. सहकारीका पदाधिकारी व्यवस्थापक र कर्मचारीहरूको गुणस्तर र क्षमता अभिवृद्धिमा विशेष जोड दिइने छ ।
पशुपंक्षी विकास कार्यक्रम
१७. पशुपालनको माध्यमबाट रोजगारी सिर्जना गरी बेरोजगारी कम गर्दै लगिने छ । पशुपक्षीको नश्ल सुधार गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नको लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई विशेष जोड दिइने छ ।
१८. नश्ल सुधार गरि उत्पादनमा वृद्धि ल्याउने नीति अनुरूप उन्नत जातका राँगा तथा भैँसीहरू वितरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
१९. साना तथा मझौला कृषकहरूलाई व्यावसायिक बन्न प्रोत्साहन स्वरूप बाख्रापालन, कुखुरापालन, हाँसपालन, माछापालन, लगायतका लक्षित कार्यक्रमहरु समावेश गरिने छ ।
२०. गलकोट नगरपालिकालाई दूध र अण्डामा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
२१. दुग्ध पदार्थ एवम् मासुको गुणस्तर र स्वच्छतालाई कायम राख्न स्वास्थ्य सुरक्षा तथा सुधार गर्ने गरी मासु पसल सुधार गर्न व्यवसायीलाई उत्प्रेरित गरिने छ । बाख्रामा खोर सुधार, गाई भैँसीमा गोठ सुधारलाई निरन्तरता दिइने छ । आधुनिक उन्नत जातका गाई, भैँसी, बाख्रापालन तथा माछापालनमा जोड दिइने छ ।
२२. पशु सेवा शाखा तथा सेवा केन्द्रबाट ४० प्रकारका निःशुल्क औषधी उपलब्ध गराइने छ । सेवाको पहुँचबाट टाढा रहेका स्थानमा शिविर सञ्चालन गरिने छ ।
२३. नेपालको प्रसिद्ध दरमखोलाको असला माछा संरक्षण गर्न माछाले फुल पार्ने समय भदौदेखि कार्तिक महिनासम्म माछा मार्ने कार्यलाई रोक लगाइने छ । साथै, अन्य समयमा समेत व्यवस्थित गरिने छ ।

उद्यम विकास तथा रोजगार तथा प्रर्यटन प्रवद्र्धन कार्यक्रम
२४. स्थानीय तहमा सञ्चालित व्यापार÷व्यवसाय र उद्योगहरुलाई प्रोत्साहन गरी व्यावसायिकता र उद्यमशिलतामा जोड दिइने छ ।
२५. नगरपालिका क्षेत्रभित्रका महिला, दलित, आदिवासी, जनजाति, विपन्न वर्ग वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई स्वरोजगारको माध्यमबाट लघुउद्यम विकास कार्यक्रम (मेडपा) सञ्चालन निर्देशिका बमोजिम सामाजिक परिचालन उद्यमशीलता विकास सीप विकास तालिम लगायत उद्यम विकास सम्बन्धी सेवालाई एकीकृत रूपमा प्रदान गरिने छ ।
२६. गलकोटको पहिचान कायम राखी नगर क्षेत्रमा उत्पादित वस्तुलाई बजारीकरण तथा प्रवद्धन गर्दै उपहार एवम् चिनोको रूपमा एकै स्थानबाट बिक्री वितरणको उपयुक्त स्थानमा कोसेली घर स्थापना र सञ्चालनको लागि पहल गरिने छ ।
२७. विभिन्न संघसंस्था र सहकारीहरूसँग समन्वय गरी सीपमूलक तथा उद्यमशीलता विकासका तालिमहरू सञ्चालन गरिने छ । महिला सशक्तिकरणका लागि आर्थिक सशक्तिकरणमा जोड दिई आवश्यकताका आधारमा सीपमूलक तालिमको सञ्चालन गर्ने जोड दिइने छ ।
२८. वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन संघ तथा प्रदेश सरकारको समन्वयमा वैदेशिक रोजगारीमा जान लागेका युवाहरूलाई सीपमुलक तालिम र अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिने छ । पुनः वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूको लागि श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियालाई अझै सरलीकृत गर्दै प्रभावकारी र सेवाग्राहीमैत्री बनाइने छ ।
२९. वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनीहरूको परिवारमा देखा पर्ने स्वास्थ्य र मनोसामाजिक समस्याको जोखिम न्यूनीकरण गर्न मनोसामाजिक परामर्शको कार्यक्रमलाई निरन्तरता दिइनेछ । विप्रेषणबाट प्राप्त आयलाई औपचारिक माध्यमबाट स्वदेशमा भित्र्याउन र कमाइको सदुपयोग गर्ने सीप अभिवृद्धि गर्न नियमित रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने छ ।
३०. गलकोट नगरपालिकाको ऐतिहासिक धरोहर कोतघरलाई संरक्षण गरी पर्यटनसँग जोडिने छ । टेउवा अन्तर्राष्ट्रिय मूर्तिकला संग्राहलयको संरक्षण र विकासको लागि आवश्यक पहल गरिने छ । गलकोट नगरपालिकाभित्र रहेका पर्यटकीय धरोहरहरु जस्तैः गलकोट दरबार, घुम्टेको लेक, सिद्धथान, सहस्रधारा झरना, रमुवा, निलुवा, थालेपोखरा, कालीलेक, राम्चे ढुङ्गा, उदय वुद्धविहार, चमेरे गुफा, शिवधुरी, गाजाधुरी आदिको विकास र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गरिने छ ।
३१. गलकोटको पहिचानको रूपमा रहेको असला माछाको प्रतिमा उपयुक्त स्थानमा निर्माण गरिनुको साथै रमुवा, पाण्डवखानी, निलुवा लगायत विभिन्न स्थानमा आयोजना हुने मह संकलन (सिकार) तथा व्यवस्थापन कार्यक्रमलाई पर्यटनसँग जोड्ने गरि प्रचार प्रसार तथा सञ्चालन गर्नका लागि प्रोत्साहन गरिने छ ।
सामाजिक विकास क्षेत्र
शिक्षा यूवा तथा खेलकुद
३२. “मानव क्षमताको आधारः शिक्षा” भन्ने शिक्षाको राष्ट्रिय नीति अनुरूप गलकोट नगरपालिकाको शैक्षिक व्यवस्थापनलाई व्यवस्थित गरिने छ । विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबै विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिने अभियानलाई निरन्तरता दिइने छ ।
३३. गुणस्तरीय प्रारम्भिक बालशिक्षामा समतामूलक पहुँच स्थापित गर्न प्रारम्भिक बालशिक्षा कार्यक्रमको विस्तार गर्दै बालशिक्षक तथा विद्यालय कर्मचारीहरूको मनोबललाई उच्च राख्न विगतदेखि प्रदान गरिदैं आएको प्रोत्साहन अनुदानलाई निरन्तरता दिइने छ ।
३४. ‘स्वस्थ बालबालिका स्वस्थ आनीबानी, सबै विद्यालयहरूमा शुद्ध पिउने पानी’ भन्ने मूल ध्येयसहित सबै सामुदायिक विद्यालयहरूमा शुद्ध पिउने पानीको व्यवस्था गरिने छ ।
३५. प्रारम्भिक बालविकासमा कार्यरत बालविकास सहजकर्तालाई तालिम प्रदान गरिने छ, बालविकास केन्द्रहरुलाई उचित सिकाई सामाग्री व्यवस्थापन गरी थप बालमैत्री बनाइँदै लगिने छ ।
३६. गुणस्तरीय शिक्षाको लागि विद्यार्थीहरुलाई विद्यालयमा ल्याउन, टिकाउन र सिकाउन “विद्यालय दिवा खाजा” कार्यक्रम (बालविकासदेखि कक्षा ६) लाई निरन्तरता दिइँदै अनुगमन प्रणालीलाई प्रभावकारी बनाइने छ ।
३७. निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमलाई थप व्यवस्थित गर्दै लगिने छ ।
३८. परीक्षा प्रणालीमा सुधारका लागि नगरस्तरीय आधारभूत शिक्षा परीक्षा कक्षा ८ को वार्षिक तथा अर्धवार्षिक तथा कक्षा ४ देखि १० कक्षाका प्रश्नपत्र तथा उत्तरपुस्तिका परीक्षण लगायतका कार्य सम्पन्न गरी प्राप्त नतिजाका आधारमा शिक्षक तथा विद्यालयलाई प्रोत्साहन गर्नुका साथै गुणस्तर अभिवृद्धिका कार्यक्रमको तर्जुमा गरिने छ ।
३९. विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाई गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गरी ‘आजको आवश्यकता र रोजाई प्रविधिमैत्री शिक्षण सिकाई’ कार्यक्रमअन्तर्गत विद्यालयहरूमा स्मार्ट इन्टररेक्टिभ डिजिटल बोर्ड सहितको शिक्षण सिकाई कार्यक्रम सञ्चालन गरिने छ ।
४०. अंग्रेजी, गणित र विज्ञान विषयको नतिजा सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्न विद्यालयहरूलाई प्रोत्साहन गर्दै लगिने छ ।
४१. शैक्षिक क्यालेण्डर अनुसार शिक्षण सिकाइ क्रियाकलापलाई थप व्यवस्थित तथा नतिजाउन्मुख बनाउन शिक्षक डायरी तथा विद्यार्थीको आन्तरिक मूल्याङ्कन निर्माण गरी कार्यान्वयनमा ल्याइने छ ।
४२. विद्यालय तथा उच्च शिक्षामा जेहनदार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीका लागि नगरप्रमुख शैक्षिक छात्रवृत्ति कोषमार्फत छात्रवृत्ति वितरण गरिने छ ।
४३. विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा नगरप्रमुख रनिङ सिल्ड कप प्रतियोगितालाई थप व्यवस्थित गर्दै सम्पूर्ण नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच मैत्रिपूर्ण शैक्षिक तथा खेलकुद प्रतियोगिता गरिने छ ।
४४. गलकोट नगरपालिकाका सम्पूर्ण वडाहरूमा बालविवाह, बालश्रम, बाल बेचबिखन तथा लागूऔषध सेवन विरुद्धको कानुनी सचेतना फैलाउने उद्देश्यले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम निरन्तरता दिइने छ ।
४५. जनसंख्याको बनोट र भौगोलिक अवस्थालाई ध्यानमा राखी विद्यालयहरूको उचित नक्साङ्कन गरिने छ । नजिक रहेका न्यून विद्यार्थी संख्या भएका विद्यालयहरूको समायोजन, एकीकरण तथा शिक्षक दरबन्दी मिलान गरिने छ । टाढा क्षेत्रका विद्यार्थीका लागि नगरस्तरीय आवासीय छात्रावास स्थापनाको कार्य प्रारम्भ गरी क्रमागत रुपमा विकास गरिने छ । साथै, यातायात खर्च वापतको सहयोग निरन्तर दिइने छ ।
४६. बालबालिकाहरूको सहज पहुँच सुनिश्चित गर्न बालमैत्री बसाई सहितको फर्निचर, खानेपानी तथा शौचालय कार्यक्रमलाई जोड दिँदै बालमैत्री स्थानीय शासन दिगोपनालाई निरन्तरता दिइने छ ।
४७. सघन विद्यालय अनुगमन कार्यलाई निरन्तरता दिइ समितिको प्रतिवेदनका आधारमा विद्यालय र शिक्षक समायोजन गर्ने कार्यलाई निरन्तरता दिँदै प्रधानाध्यापक व्यवस्थापन कार्यको सुरुवात गरिने छ ।
४८. अल्पसंख्यक÷अति सीमान्तकृत समुदायका छात्रा र अपाङ्गता भएका छात्र÷छात्राहरूलाई अध्ययनमा प्रोत्साहित गर्नको लागि तह अनुसार वार्षिक छात्रवृति उपलब्ध गराइने छ ।
४९. संघीय सरकारको नीति अनुरूप शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
५०. शैक्षिक क्यालेण्डर निर्माण, नगरस्तरीय बाल प्रतिभा पहिचान, युवा लक्षित खेलकुद कार्यक्रम, अनाथ बालबालिका सहयोग, बाल विकास मात्र सञ्चालित विद्यालयहरूको लागि मसलन्द खर्च, विद्यालय अनुगमन जस्ता क्रियाकलापलाई प्राथमिकीकरण गरी थप व्यवस्थित र प्रभावकारी बनाउँदै लगिने छ ।
स्वास्थ्य
५१. गलकोट नगर अस्पतालको स्तरोन्नती गर्ने क्रममा विस्तारित सेवाहरू दन्त सेवा, रक्त सञ्चार केन्द्र र फिजियोथेरापी सेवालाई थप प्रभावकारी रूपमा र समयसापेक्ष सञ्चालन गरिने छ । साथै, हेमोडाइलाइसिस सेवा विस्तारका लागि अध्ययन सुरु गरिने छ । १५ बेडको आधारभूत अस्पतालको भवन निर्माणका लागि आवश्यक पहल गरिने छ ।
५२. गलकोट नगर अस्पतालमा विपन्न नागरिकहरुलाई उपचारमा सहुलियत दिन नगर स्तरीय विपन्न नागरिक उपचार कोष स्थापना तथा सञ्चालन गरिने छ ।
५३. २ वर्ष मुनिका बालबालिकाहरुलाई नियमित रूपमा खोप सेवा प्रदान गरि पूर्ण खोप सुनिश्चित नगर कायम राखिने छ ।
५४. मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराईरहेका बिरामी, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचार खर्चबापत मासिक रु. ५ हजारका दरले चौमासिक रूपमा भुक्तानीको व्यवस्था मिलाइने छ ।
५५. उप–प्रमुखसँग थ्राम्बोलाइसिस (हृदयघात रोकथाम) कार्यक्रममार्फत हृदयघातको प्राथमिक उपचारका लागि आवश्यक औषधी नगर अस्पतालमा उपलब्ध गराइने छ । घरघरमा जेष्ठ नागरिक कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।
५६. बाह्रै महिना ९८ प्रकारका निःशुल्क औषधी सबै संस्थाबाट उपलब्ध गराउन आवश्यक पहल गरिने छ । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेर आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकको सेवा सुविधाका निम्ती आवधिक रूपमा चिकित्सक सहितको स्वास्थ्य शिविर कार्यक्रम व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।
५७. स्वास्थ्य क्षेत्रमा पूर्णतया डिजिटलाइजेशनको कार्य सम्पन्न भइसकेकोले पेपरलेस प्रणालीबाट सेवा सुचारु गरिने छ । फेमिली हेल्थ प्रोफाइलमार्फत स्वास्थ्य कार्ड छपाइ र वितरणको कार्य अगाडी बढाइने छ ।
५८. मुख स्वास्थ्य प्रवर्धनको कार्यक्रमको निरन्तरताका साथै थप विद्यालयमा लागू गरिने छ । सबै विद्यालयका कम्तीमा एक जना शिक्षकहलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरी विद्यालयमा १ थान प्राथमिक उपचार किट बक्स उपलब्ध गराइने छ ।
५९. नगर प्रमुख मातृ तथा शिशु पोषण कार्यक्रमलाई निरन्तरता दिइने छ । घरमा हुने प्रसूति दरलाइ शून्यमा यथावत् राख्न थप २ बर्थिङ सेन्टरमा सुत्केरी प्रतिक्षा घरको निर्माण गरिने छ । गर्भवती तथा सुत्केरी महिलाहरुका लागि आकस्मिक रेफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।
६०. क्षयरोग मुक्त अभियान गलकोट कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने छ । खकार नमुना परीक्षण र ए.आई. एक्स–रेको माध्यमबाट क्षयरोगको स्क्रिनिङ कार्यक्रम सशक्त रूपमा सञ्चालन गरिने छ ।
६१. सबै नागरबासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन सबै मुहानको पानीको गुणस्तर कम्तीमा ३ महिनामा १ पटक परीक्षण गर्ने व्यवस्था मिलाइने छ ।
६२. अति विपन्न र ग वर्गका अपांगलाई स्वास्थ्य बीमामार्फत विशिष्टीकृत स्वास्थ्य सेवाको पहुँचमा ल्याइने छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिदैं आएको सञ्चार खर्च, बिमा सुविधा र सम्मानजनक बिदाई कार्यक्रमलाई निरन्तरता दिइने छ ।
६३. सबै स्वास्थ्य संस्थाको पूर्वाधार मापदण्ड बमोजिम हुने व्यवस्था मिलाइने छ । चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्र, गलकोट ६ को भवन निर्माणका लागि आवश्यक पहल गरिने छ । सबै स्वास्थ्य संस्थाहरुलाई समयानुकूल स्तरोन्नती गर्दै लगिने छ । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा प्रशिक्षणको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिने छ ।
६४. गलकोट नगरपालिकामा आयुर्वेद सेवालाई विस्तार गर्नका लागि नागरिक आरोग्य उपचार केन्द्र स्थापना गरी आयुर्वेदिक उपचार पद्धति, योग र ध्यानलाई विशेष प्राथमिकता दिइने छ ।
महिला, बालबालिका, जेष्ठ नागरिक तथा बालमैत्री
६५. दलित, आदिवासी, जनजाति, मुस्लिम, एकल महिला, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक र अति विपन्न वर्गलाई सीप विकास र स्वरोजगारका कार्यक्रममार्फत आयआर्जनसँग जोडेर सशक्तिकरण गरिने छ । नगरका कुमाल र गन्धर्व समुदायको उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
६६. सामाजिक न्यायमा आधारित समतामूलक र सभ्य समाज निर्माण गर्न महिलामाथि हुने लैंङ्गिक तथा यौनिक हिंसा, सामाजिक विभेद, छुवाछूत, अन्धविश्वास, सामाजिक कुप्रथा र कुरीतिलाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
६७. अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान गरी आवश्यक सहयोगी सामाग्रीहरू प्रदान गरिने छ ।
६८. घरेलु हिंसा, छुवाछूत लगायतका सामाजिक हिंसा र विभेदरहित लैंगिक समतायुक्त नगरपालिका बनाउन अभियानहरु चलाइने छ । बालमैत्री, वातावरणमैत्री एवम् अपाङ्गतामैत्री समाज तथा पूर्वाधार निर्माणको लक्ष्य सहितको कार्यक्रम अगाडि बढाइने छ ।
६९. परम्परागत पेशा अपनाई रहेका फलामका औजार बनाउने÷मर्मत गर्ने आरन सञ्चालक, छालाका जुत्ता चप्पल–झोला बनाउने मर्मत गर्ने र सारङ्गी वादन–गायन पेशामा कार्यरत विभिन्न समुदायका शिल्प व्यावसायीलाई सम्मान र निजहरूको क्षमता विकासको प्रबन्ध मिलाइने छ ।
७०. नगरपालिकाको टोल, वडास्तरमा महिला समूह, समिति र सहकारी संस्था स्थापना गरी महिलाहरुको सशक्तिकरण तथा आयआर्जनमा वृद्धि गर्न, लैंगिक हिंसा, घरेलु हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी हिंसा विरुद्धको कानुनलाई कडाइका साथ कार्यान्वयनमा जोड दिन, महिलाहरूको क्षमता अभिवृद्धिका लागि सीपमूलक, चेतनामूलक कार्यक्रम सञ्चालन गर्न, विकास अभियानलाई माग र आवश्यकता अनुरूप गराउन टोल विकास समितिलाई सक्रिय बनाइने छ ।
७१. गलकोट नगरपालिकाभित्र रहनुभएका जेष्ठ नागरिकहरू हाम्रो समाजको पूरातात्विक, सामाजिक, सांस्कृतिक महत्वका विषयहरू बारेमा ज्ञान भएका जीवित संग्रालयको रूपमा रहनुभएको हुनाले यस्ता व्यक्तिहरूको सम्मान तथा प्रोत्साहन गरिने छ । बैंकसम्म नै आएर सामाजिक सुरक्षा भत्ता सलन असहज हुने असहाय, अपाङ्ग, दूरीको हिसाबले टाढा रहेका बस्तीमा रहेका जेष्ठ नागरिकलाई सम्बन्धित वित्तीय संस्था र वडा कार्यालयको समन्वयमा टोल बस्तीमा पुगि भत्ता वितरण कार्यमा सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
७२. बालमैत्री नगर दिगोपनाको लागि सबै समिति र सञ्जालहरुलाई सक्रिय रूपमा परिचालन गरिने छ । बाल वस्तुगत प्रोफाइलका आधारमा लगानी योजना निर्माण गरी सुधारका कार्यक्रम सञ्चालन गरिने छ । बाल विवाह न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिने छ ।
कला संस्कृति र साहित्य
७३. गलकोट नगरक्षेत्रभित्र रहेका धार्मिक ऐतिहासिक सांस्कृतिक जात्रा, पर्व, कला, साहित्य र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न आवश्यक पहल गरिने छ ।
७४. गलकोटभित्र बसोबास गर्ने विभिन्न जातजातिहरुको संस्कृतिको संरक्षण गरी सांस्कृतिक पहिचानलाई जीवन्त बनाइने छ । यस क्षेत्रका गीत, नाच, कला, जात्रा, मेला र पर्वलाई जगेर्ना गरी पर्यटनसँग जोड्न प्रोत्साहन गरिने छ । स्थानीय स्रोत, साधन र वास्तुकलाको प्रयोग गरी निजी घर निर्माण गर्न प्रोत्साहन गरिने छ ।
७५. गलकोट नगरको परम्परागत कला संस्कृतिलाई संरक्षण गर्न हाल हरिचौर बजार लगायतका अन्य स्थानमा नयाँ घर निर्माण गर्दा कला संस्कृति झल्कने गरी निर्माण गर्न प्रोत्साहन गरिने छ ।
७६. गलकोटमा रहेको सोरठी नाँच, सोरठी ख्याली, घांटु नाच, लाखे नाच, सराएं नाच, पञ्चेबाजा भजन कृतन लोकभजन, यानीमाया, सुनीमाया जस्ता विभिन्न कला संस्कृति र जात्राको संरक्षण गरिने छ ।
७७. आम नागरिकलाई समाचार र सूचनाको माध्यमबाट सुसूचित गर्ने राज्यको चौथो अंगको रूपमा स्थापित सञ्चार जगतलाई प्रोत्साहन गर्न स्थगन भएको गलकोट घुम्टे पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइने छ ।
७८. शहीद, बेपत्ता परिवार र द्वन्द पीडितहरूको लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
७९. सहिद थिर बम मल्लको शालिक निर्माण गरी उपयुक्त स्थानमा यसै आर्थिक वर्षमा स्थापना गरिने छ ।
पूर्वाधार विकास
८०. नगर क्षेत्रको समग्र विकास तथा सेवा प्रवाहमा पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा पूर्वाधारको विकासबाट नागरिकहरूमा अन्तर आबद्धता विस्तार भई आवागमन, बजार, सेवा सुविधामा सहज पहुँच विस्तार गरिने छ ।
८१. दिगो विकासको लक्ष्य अनुरूप विकास र वातावरणलाई तादम्यता कायम गरी पूर्वाधार विकासको कामलाई अगाडि बढाइने छ । नगरपालिका क्षेत्रभित्र सडक सञ्जाल व्यापक विस्तार भइसकेको सन्दर्भमा सो को स्तरोन्नति गर्न संघ र प्रदेश सरकारसँग विशेष पहल गरिनुका साथै नगरपालिकाको आफ्नो श्रोत परिचालनमा विशेष जोड दिइने छ । “हाम्रो सडक हाम्रो सहभागिता, स्तरीय सडक हाम्रो प्रतिबद्धता” को नीति अनुरूप नगरपालिकाभित्र सडक निर्माण गर्दा सडकको स्तर अनुरूपका संरचना तथा नाली निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
८२. ११ वटै वडामा ढलान÷कालोपत्र बाटो निर्माण गरि सुरक्षित यात्रा गर्ने वातावरण मिलाउने कार्यलाई तीव्रता दिइने छ । नगरपालिका भित्रका सडक सञ्जाललाई बाह्रै महिना सवारी चल्ने गरि नियमित र व्यवस्थित गरिने छ ।
८३. पुष्पलाल मध्यपहाडी लोकमार्ग भई आउने आन्तरिक एवम् बाह्य पर्यटकलाई लक्षित गरि नगरपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाहरुलाई समेटेर पर्यटन सर्किट बनाई विभिन्न स्थानमा जानकारीमूलक बोर्ड राखिने छ ।
८४. निर्मित सार्वजनिक सम्पत्तिको सुरक्षा र मर्मत संभार तथा व्यवस्थापनको लागि स्थानीय समुदायलाई जिम्मेवार बनाइने छ ।
८५. नगरपालिकाभित्र सार्वजनिक पूर्वाधार निर्माण गर्दा बालमैत्री, अपाङ्गमैत्री तथा वातावरणमैत्री संरचना निर्माणमा जोड दिने विषयलाई निरन्तरता दिई कार्यान्वयन गरिने छ । विकास आयोजना सञ्चालन गर्दा समय, लागत र गुणस्तरको ख्याल गरि अनुगमन मूल्याङ्कनलाई प्रभावकारी बनाइने छ ।
८६. नगरपालिका भित्रका भवनहरुको गुगल प्लस कोड भएको घर नम्बरसहित अभिलेखीकरण गरिने छ । नगरभित्र नयाँ घर निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गरेर मात्र निर्माण कार्य अगाडी बढाउने गरी व्यवस्था मिलाइने छ । नक्सा पास बिना घर निर्माण गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउन आवश्यक पहल थालिने छ । नगरपालिका क्षेत्रभित्र नक्सा पास बिना निर्माण भएका घरहरूलाई अभिलेखीकरण गर्ने गरी आवश्यक प्रबन्ध मिलाइने छ ।
८७. नगरबासीको सुविधालाई मध्यनजर गरी कित्ता नापी नक्सालाई नगरपालिकाबाट वितरण गर्ने प्रयोजनका लागि ‘मेरो कित्ता’ प्रणालीलाई निरन्तरता दिइने छ ।
८८. आयोजनाहरुको प्रभावकारिता र दिगो विकासलाई मध्यनजर गर्दै नगरपालिका तथा संघ एवम् प्रादेशिक कार्यालयहरूबाट समेत कार्यान्वयन हुने योजनाहरूको सघन अनुगमन गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
८९. संघीय समपुरक, प्रदेश समपुरक, लागत साझेदारी, विपद् व्यवस्थापन कोषको लागि आवश्यक बजेटको व्यवस्था मिलाइने छ । गुणस्तर चेक जाँचका लागि आवश्यक प्राविधिक उपकरण तथा ल्याव सामग्रीको व्यवस्था मिलाइने छ ।
९०. हटिया बजार क्षेत्रमा पर्ने पुष्पलाल मध्यपहाडी लोकमार्गलाई सौन्दर्यकरण तथा थप व्यवस्थित गर्न आयोजना कार्यान्वयन इकाईसँग समन्वय गरी आवश्यक पहल गरिने छ । हटिया बजार क्षेत्रमा निर्माण गरिएको जीपपार्कलाई थप व्यवस्थित गरि सञ्चालन गरिने छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
९१. विपद्को समयमा तत्काल उद्धार, राहत, पुर्नस्थापना लगायतका कार्य गर्नका लागि स्वयंसेवक परिचालन गर्नुका साथै आवश्यक औजार, उपकरण तथा राहत सामग्री तयारी अवस्थामा राखिने छ । मनसूनपूर्व तथा मनसूनजन्य विपद्को पूर्वानुमान गरी रोकथामको लागि आवश्यक कार्य गरिने छ । आपतकालीन कार्य सञ्चालन केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।
९२. भू–क्षयबाट अति प्रभावित क्षेत्रको पहिचानसहित सो नियन्त्रणको लागि नगरपालिकाको आफ्नै पहल एवम् संघ र प्रदेश सरकारसँगको सहकार्यमा कार्यक्रम अगाडि बढाइने छ । यसको लागि आवश्यक तारजाली, ह्ययूमपाइप तथा पोलीपाइपको आवश्यक व्यवस्था मिलाइने छ । जोखिम क्षेत्रहरूको पहिचान गरी बायो इन्जिनियरिङ प्रविधिमार्फत भू–क्षय रोक्ने कार्यमा विशेष पहल गरिने छ ।
९३. हरेक वर्ष आगलागी जन्य घटनाबाट वातावरणीय र मानवीय क्षति बढ्दै गइरहेको अवस्थामा सोको न्यूनीकरण गर्न नेपाल प्रहरी तथा वन कार्यालयको समन्वयमा आगलागीको उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचान गर्ने, अग्निरेखा निर्माण गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने एवम् वातावरणीय र पर्यावरणीय प्रभाव मूल्याङ्कन गरी उच्च अग्नि संवेदनशील बोटबिरुवाहरुको प्रतिस्थापन गरिने छ ।
९४. विपद् व्यवस्थापनको लागि नगरपालिकामा रहेको विपद् व्यवस्थापन कोषमार्फत उद्धार, राहत सामाग्री तथा पुर्नस्थापनाका लागि आवश्यक व्यवस्था गरिने छ । नगरपालिकास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गरिने छ ।
९५. गलकोट नगरक्षेत्रमा रहेका विभिन्न खोलानाला तथा निजी जग्गाबाट निकाल्ने ढुङ्गा, गिटी, बालुवा लगायतका निर्माणजन्य सामाग्रीको उचित व्यवस्थापनको लागि प्रचलित कानुन बमोजिम आवश्यक कार्यविधि बनाई नियमन गरिने छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन
९६. ‘सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा’ भन्ने मर्मलाई आत्मसाथ गर्दै नगरबाट प्रवाह हुने सेवालाई एकीकृत गरी घुम्ती सेवा सञ्चालन गरिने छ ।
९७. गलकोटवासीको यातायातमा सहज पहुँच पु¥याउने अभिप्रायले यातायात व्यवसायी लगायत सरोकारवालाको समन्वयमा गलकोट नगर यातायात सञ्चालनको लागि आवश्यक पहल गरिने छ ।
९८. नगरपालिकाबाट गरिने सम्पूर्ण क्रियाकलापहरू जस्तैः जनहितका लागि सन्देश, प्रगति विवरण, बुलेटिन, नीति तथा कार्यक्रम, नगरकार्यपालिका तथा नगरसभाको बैठकबाट गरिने निर्णय, नगरपालिकाद्वारा प्रशारित कार्यक्रमहरू, स्थानीय सामुदायिक रेडियो तथा आम सञ्चारकर्मीहरुसँग समन्वय गर्दै सूचना प्रवाह छिटोछरितो र पारदर्शी रूपमा गरिने छ । स्थानीयस्तरमा सञ्चालित सञ्चारका माध्यम रेडियो, पत्रिका, अनलाइन पत्रिकालाई सूचीकृत गर्ने र प्रोत्साहन गर्ने नीति लिइने छ ।
९९. सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, भरपर्दो, नागरिकमैत्री बनाई सुशासनको प्रत्यक्ष अनुभूति दिलाईने छ । सेवाग्राहीका गुनासो तथा सुझावहरू सम्बन्धित नजिकको पदाधिकारी समक्ष सोझै पठाउन÷पुग्न सक्ने व्यवस्था मिलाइने छ ।
१००. नगरपालिकाको वस्तुगत विवरण अद्यावधिक गरी विद्युतीय वस्तुगत विवरण निर्माण गरिने छ ।
१०१. गलकोट नगरपालिका तथा अन्तर्गतका कार्यालयहरुबाट प्रदान गरिने सेवालाई सरल, छरितो र अनुमानयोग्य बनाउनुका साथै सूचना प्रविधिको प्रयोगलाई जोड दिँदै मानव संशाधन विकासको निमित्त कर्मचारीको क्षमता विकास गर्न आवश्यक कार्यक्रम ल्याइने छ ।
१०२. सेवा प्रवाहको जग मानिने वडा कार्यालयको भौतिक एवम् प्रशासकीय सुदृढीकरणका लागि फर्निचर, मेशीनरी, औजारलगायत आवश्यक पूर्वाधारको व्यवस्थापन गरिनेछ । वडा कार्यालय र स्वास्थ्य संस्थामा ई–हाजिरीलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइनुका साथै सबै सामुदायिक विद्यालयहरूमा पनि क्रमशः ई–हाजिरी प्रणाली जडान गरिने छ ।
१०३. नगरभित्रका खानेपानी उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति, सहकारी लगायतका नगरमा दर्ता भएका सबै सामाजिक संघ संस्थाहरुले साधारण सभामार्फत पास भएको आयव्ययको वार्षिक विवरण नगरपालिकामा पेश गर्ने व्यवस्थालाई अनिवार्य बनाइने छ । साथै, संस्थाहरुको अनुगमनलाई नियमित र प्रभावकारी बनाइने छ ।
१०४. बजार अनुगमन कार्यलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने छ, उपभोक्ताको हितलाई मध्यनजर गर्दै खाद्य गुणस्तर सम्बन्धमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ । सुशासन र संस्थागत विकास क्षेत्रको अपेक्षित नतिजा प्राप्त गर्न स्थानीय संघसंस्था, उद्योग वाणिज्य संघ, समुदाय, निजी क्षेत्र र प्रदेश तथा संघ सरकारसँग साझेदारी र सहकार्य गरी आवधिक योजनाले परिलक्षित गरेबमोजिम प्राथमिकताको आधारमा कार्यक्रम तथा आयोजना सञ्चालन गरिने छ ।
१०५. आर्थिक संकट झेलिरहेको वर्तमान परिस्थितिमा अनुत्पादक चालू खर्चलाई कम गर्न प्रयास गरिनेछ साथै बेरुजू न्युनीकरणका लागि आवश्यक पहल गरिने छ ।
१०६. सार्वजनिक स्थान तथा सडक सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सार्वजनिक स्थान तथा मुख्य सडक र बजार क्षेत्रमा सि. सि.टि.भी. क्यामेरा जडान तथा मर्मत सम्भार गर्ने कार्यलाई थप प्रभावकारी बनाइने छ ।
१०७. स्थानीय सरकारको काम कारबाहीको सम्बन्धमा नागरिकले सूचना माग्ने र पाउने मौलिक हकलाई संरक्षण गर्न चौमासिक रूपमा सार्वजनिक सुनुवाई गरिने छ । साथै, अनिवार्य प्रकाशन गर्नु पर्ने सूचनालाई वेवसाईटमार्फत प्रकाशन गर्ने व्यवस्था मिलाइने छ । कार्यालयमा प्राप्त गुनासो र उजुरीलाई समयमै समाधान गर्न पहल गरिने छ ।
न्याय सम्पादन
१०८. स्थानीय तहबाट सम्पादन हुने न्यायिक कार्यलाई थप न्यायोचित एवम् प्रभावकारी बनाइने छ ।
१०९. सूचीकृत मेलमिलापकर्ताहरुको लागि अभिमुखीकरण र क्षमता विकास कार्यक्रम सञ्चालन गरी समुदाय स्तरमा उत्पन्न हुने विवादलाई समुदायमै मेलमिलापको माध्यमबाट दिगो समाधान गरिने छ ।
११०. न्यायिक समिति तथा वडास्तरीय मेलमिलापकर्ताहरुका लागि समयानुकूल प्रविधिमैत्री तथा पूर्वाधारयुक्त बनाउँदै लगिने छ ।
अन्तमा
१११. गत आर्थिक वर्षहरूमा कार्यान्वयन भएका योजना र कार्यक्रमसँगै चालू आर्थिक वर्षको समाप्तीसँगै हाम्रो गलकोट नगरपालिकाले विकासको क्षेत्रमा नयाँ मोड लिने प्रशस्त आधारहरू तयार भएका छन् । संघ एवम् प्रदेश सरकारद्वारा स्थानीय सरकारलाई समेट्ने गरी निर्माण भएका कानुन एवम् नगरपालिकाबाट निर्मित कानुन बमोजिम स्थानीय सरकार सञ्चालनका महत्वपूर्ण आधारहरू तयार भएका छन् । नीति, कार्यक्रम, बजेट एवम् योजना तर्जुमा र कार्यान्वयनका हाल सम्मका हाम्रा अभ्यासहरू र निर्मित कानुनहरूको आधारमा समेत आगामी दिनहरू अझ सहज हुने कुरामा विश्वास लिन सकिन्छ । समुदाय परिचालन, विकास निर्माण, सेवा प्रवाह, क्षमता विकास प्रक्रियामा गैर सरकारी संघ संस्था तथा सहकारीको सहभागिता, क्रियाशीलता तथा योगदानमा वृद्धि हुनेछ ।
११२. संघीय संरचना पछिको तीन तहको सरकार, यसका संरचना निर्माण र संगठनलाई कामयाबी बनाउनको लागि भएका हाम्रा हालसम्मको प्रयासहरू हेर्दा भोलिको दिनको लागि सुखद लक्षण देखिन्छन् । हाल सामाजिक, आर्थिक विकास तथा रूपान्तरणमा धेरै परिवर्तन आएको अनुभूति गरिएको छ । स्थानीय सरकारको स्थापनासँगै पारदर्शी संस्कृति अवलम्बन भएको पाएका छौं । स्थानीय जनतालाई निरन्तर सेवा प्रवाह गर्ने जनप्रतिनिधि साथै राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गर्न चाहन्छु ।
११३. प्रस्तुत नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट गलकोटको विकासमा सकारात्मक प्रभाव पर्ने र उच्च भौतिक एवम् वित्तीय प्रगति हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्न सहयोग पुग्नेछ भन्ने आशा लिएको छु ।
११४. समुन्नत र समृद्ध हाम्रो गलकोट नगर निर्माणमा सहयोग पु¥याउने संघीय सरकार एवम् प्रदेश सरकारका विभिन्न निकायहरू, संघ तथा प्रदेशका माननीयज्यू, जिल्ला समन्वय समिति, रचनात्मक तथा सहयोगी भूमिका निभाउँदै आउनुभएका राजनीतिक दल, स्थानीय प्रशासन, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, समाजसेवी, सहकारी क्षेत्र, निजी क्षेत्र, आमसञ्चार माध्यम र सञ्चारकर्मीहरू एवम् जन्मभूमिका लागि चिन्तनशील र सहयोगी सबै महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछु । स्थानीय सरकारको रूपमा सेवा गर्ने अवसर प्राप्त भएको यस घडीमा सम्पूर्ण गलकोटवासी आमाबुबा, दाजुभाई, दिदीबहिनी एवम् अमूल्य राय सुझाव प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नगरसभा सदस्य लगायत सम्पूर्ण महानुभावहरुबाट प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा समन्वय, सहयोग तथा सक्रिय सहभागिताको अपेक्षासहित हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
भरत शर्मा गैरे
नगर प्रमुख
गलकोट नगरपालिका
