नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभाको अवसरमा म्याग्दी जिल्लाका सञ्चार माध्यमलाइ पाठक सामु पुगाउनका लागि महत्वपुर्ण भुमिका खेल्ने तीन जनालाइ सम्मान गरेको छ । सदरमुकाम क्षेत्रमा लामो समयदेखि पत्रिका वितरण गर्दै आइ रहेकी धवलागिरी गाउँपालिका-६ मराङकी झरना बिक र जलजला गाउँपालिका –७ धाईरिङ पर्वतका सन्ते नेपालीलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष शैक्षिक प्रोत्साहन पुरस्कारबाट पत्रकार दिपा बुढाथोकीलाइ सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघको कार्यालय सहयोगी मनकुमारी परियारलाई पनि नगद र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताए ।

मालिका गाउँपालिका–५ देविस्थान दाङाकी बुढाथोकीले पछिल्लो ८ वर्ष देखि सञ्चार माध्यममा आवद्ध भएर काम गर्दै आएकी छिन् । उनले रुप्से दैनिकबाट पत्रिका बितरण शुरु गरेर धौलागिरी जागरण पछि हाल म्याग्दी नेपाल साप्ताहिकमा आबद्ध छिन् । उनी म्याग्दी काली एफएम सँग पनि आवद्ध रहेर काम गर्दै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिदै आएकी छिन् । हाल म्याग्दी वहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बुढाथोकीको आर्थिक अवस्थालाइ समेत मध्येनजर राख्दै अध्ययनमा राहत मिलोस भनेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले ५ हजार नगद सहित सम्मानपत्रले पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव ठाकुर प्रसाद आचार्यले जानकारी दिए ।
धवलागिरी गाउँपालिका ६ मराङकी झरना बिकले अहिले आदर्श सञ्चार सहकारीद्वारा प्रकाशित पत्रिकाको बितरण गर्दै आएकी छिन् । धवलागिरी गाउँपालिका ६ मराङबाट एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएकी बिकले कक्षा १२ सम्मको अध्ययन सकेर बेनीमा बसेर पत्रकारिता सँग जोडीएर काम गर्दै छिन् । पत्रिका वितरण सँगै अन्य सिपमुलक कार्य पनि गर्दै आएकी झरनाले सञ्चार क्षेत्रमा थप काम गर्नका लागि पुरस्कारले हौसला मिलेको बताउँछिन् ।
साधारणसभाका अवसरमा जिल्लाका क्रियाशील पत्रकारहरुलाई जनही पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा कोपोलिसी हस्तान्तरण गरिएको छ । साधारणसभाकै अवसर पारेर नेपाल पत्रकार महासंघले तयार गरेको बिक्रम सम्बत २०८३ सालको भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो ।
नवौं साधारणसभा सम्मान तथा पुरस्कार बितरण बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष प्रकाश पौडेल महासचिव जमुना वर्षा शर्मा तथा म्याग्दी जिल्ला शाखा अध्यक्ष हरिकृष्ण गौतमले प्रदान गरेका थिए ।