बागलुङ, १२ फागुन/बागलुङको पश्चिम बुर्तिबाङमा २०४८ सालमा स्थापना गरिएको निसीभुजी जनता क्याम्पस बुधबार २५ वर्ष प्रवेशसँगै रजत महोत्सवका साथ भवन उदघाटन गरिएको छ । जनताको सहयोगमा १ करोड ८१ लाख ६ हजार ३ सय ३५ रुपैयाँ लागतमा निर्माण गरिएको क्याम्पस भवनमा सरकारको तर्फबाट ४२ लाख ८६ हजार ४७ रुपैयाँ लगानी छ । यसरी जनताकै बलमा निर्माण गरिएको क्याम्पसको उदघाटन कार्यक्रममा उपस्थित सबैलाई प्रमुख अतिथि मानेर ७ सय दीप प्रज्जवलन गरि उदघाटन गरिएको हो । बुर्तिबाङमा स्थापना भएको निसीभुजी जनता क्याम्पस ३ नं. क्षेत्रको एक मात्र स्नातक क्याम्पस हो । नेपालको राजनैतिक परिवर्तनको एक कालखण्ड २०४७ पछि बहुदल स्थापनाको समयमा केही सामाजिक अगुवाहरुको चिन्तनबाट २०४८ साल जेठ महिनाको १५ गते यसको स्थापना गरिएको क्याम्पस अध्यक्ष धिरप्रताप सिंहले बताए । ०४७ सालको पहिलो निर्वाचनपछि निसीबाट बुर्तिबाङ फर्कने क्रममा बुर्तिबाङमा एक क्याम्पस स्थापना गर्नुपर्छ भन्दै गरिएको एक सर्वपक्षीय सर्वदलीय सभामा परिणत भयो । त्यस समयमा हिक्मत शेरचन संस्थापक अध्यक्षका रुपमा रहेका थिए । क्याम्पस स्थापना गर्ने भनी आयोजना गरिएको एक सभाबाटै ४ लाख चन्दा संकलन गरिको र त्यसको पछिल्लो दिन बुर्तिबाङ बजारमा थप चन्दा संकलन गरि २ लाख थपेर ६ लाखबाट निसीभुजी जनता क्याम्पसको स्थापना गरिएको अध्यक्ष सिंहले बताए । तत्कालका लागि अहिलेको उत्तरगंगा माविको परिसरमा व्यवस्थापन संकायको कक्षा सञ्चालन गरि लामो समय यसलाई निरन्तरता दिने प्रयन्त गरिएको थियो । निसीभुजी क्षेत्रकै नामबाट क्याम्पसको नाम राखिएकोले पनि यहाँका विभिन्न सामाजिक व्यत्तित्वहरुले यसको विकास, प्रवर्दन र सञ्चालनका लागि ठूलो योगदान गर्नुभएको इतिहास क्याम्पस सामु छ । राज्यले २०६४ तिर व्यवस्थापन संकायलाई हटाउने निर्णय गरेपछि तत्काल स्थानीय बुद्धिजीवी, समाजसेवीबीच स्नातक तहको क्याम्पस सञ्चालन गर्ने सहमति गरि क्याम्पसलाई अहिलेको स्वरुपमा लगिएको हो । उत्तरगंगा मावि परिसरमा सञ्चालनमा आएको क्याम्पसलाई आफ्नै जग्गा र भवन आवश्यक पर्ने भएपछि यहाँको खप्तरीबाङमा रहेका अल्पसँख्यक कुमाल समुदायबाट ११ रोपनीभन्दा बढी जग्गा दान प्राप्त भएपछि सोही स्थानमा २ कोठे भवन निर्माण गरि अहिलेको अवस्थामा आएको हो । हालको क्याम्पस भवन निर्माण कार्य २०७१ देखि सुरु गरि अहिले २०७३ फागुनमा निर्माण सम्पन्न भएको छ ।
Previous Articleअमिटको साहसमा सहकार्य
Next Article परम्परागत ज्ञानको संरक्षण आजको आवश्यकता