प्रकाश थापा/हाम्रा बाजे–बज्यै र बराजुहरुले परापूर्व कालदेखि नै जीविका धान्नका लागि सिकेका जानेका सीप, कला, अभ्यास र प्रचलनहरु नै परम्परागत ज्ञान हुन् । बदलिंदो परिवेशसँगै हाम्रा पूर्खाले आर्जेका ज्ञानहरु विस्तारै हराउँदै गइरहेका छन् । हिजो जुन रुपमा एउटा चक्र सरी ज्ञान, सीप र अभ्यासहरु सर्दै आइरहेका थिए । यो क्रम निरन्तर आधुनिकताका नाममा नास हुँदैछ । हाम्रा पूर्खाले पहिलेदेखि प्रयोग गर्दै सिक्दै आएका ज्ञानहरु उचित संरक्षण र अभिलेखीकरणको अभावमा आज हामीहरुबाट गुम्ने स्थीतिमा छन् ।
हाम्रो देश कुनै एउटा जाति र संस्कृतिको मात्र नभएर सबैको साझा पूmलवारी हो । यहाँ १२५ भन्दा बढी जातजातिहरु र १२३ भन्दा बढी भाषाभाषीहरु रहेका छन् । जातजाति अनुसार यही सानो भूगोलभित्र पनि प्राकृतिक स्रोतको उपयोग, खाद्य वस्तुको उपभोगदेखि लिएर औषधिमुलोसम्म आआफ्नै प्रयोगका अनुभवहरु छन् । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला गाविसमा परम्परागत रुपमा २१ प्रजातिका बोटविरुवाहरुको प्राथमिक उपचारमा उपयोग गर्ने गरेको तथ्य शोभा शेर्पा (सन् २००१) को अध्ययनले देखाएको छ । त्यसैगरी राजेन्द्र आचार्य (सन् २०१२) को अध्ययनले गुल्मी जिल्लाको बडागाउमा रहेका मगर जातिले १६१ प्रजातिका विरुवाहरुको विभिन्न रोगहरुमा उपयोग गरेको तथ्य देखाएको छ । हाम्रै समुदाय वरपर पनि विभिन्न रोगको उपचार गर्ने विभिन्न तौरतरिकाहरु छन् । जस्तो कि हामी रुघा खोकी लागेमा तुलसी पानी उमालेर खान्छौं । ज्वरो आएमा चिराइतोको प्रयोग गर्छौं । पेट दुख्दा सतुवा खान्छौं । हाम्रो बाजेले लेकबाट ठूलो ओखती ल्याई मात्रा मिलाएर गाइ भैंसीलाई खुवाएको याद अझै ताजा छ । हामीले जानेका यी ज्ञान परम्परागत रुपमा नै हस्तान्तरण भई आएका हुन् । अझ आदिवासी जनजाति समुदायमा औषधिमुलो, खाद्य उपभोग र अन्य कुरामा परम्परागत ज्ञानको प्रयोग झन् बढी मात्रामा छ ।
एकछिन घोत्तलिएर सोच्ने हो भने अहिलेको विकासमा यही परम्परागत ज्ञानको ठूलो हात छ । परम्परागत ज्ञानको अधिकतम उपयोगले नै अहिलेको प्रविधि जन्मेको हो । अर्कोतिर हेर्दा यही परम्परागत ज्ञान मानव जीवनका हरेका क्षेत्रमा व्याप्त छ । कृषि उत्पादन, खाद्य पदार्थको उपभोग, स्वास्थ्य उपचार, संस्कृति र धर्मसँग परम्परागत ज्ञान जोडिन्छ । कृषि उत्पादनदेखि भण्डारणसम्म हाम्रो मौलिक परम्परागत ज्ञान र अनुभव छ । खाद्य वस्तुमा पनि समुदाय अनुसार फरक परक खानपान छ । रोग उपचारका पनि आआफ्नै पद्घति छन् । धर्म अनुसार पनि जन्मदेखि मृत्युसम्म विभिन्न वस्तुको प्रयोग र संरक्षण गर्ने प्रचलन छ । संस्कृति अनुसार पनि परम्परागत ज्ञान उपयोग भइ रहेको स्थिति छ । परम्परागत ज्ञानको प्रयोगले हामी जैविक विविधताको राम्रो उपभोग गरिरहेका छौं । विश्व स्वास्थ्य संगठनका अनुसार अझैपनि विकाससिल मुलुकका करिव ८० प्रतिशत जनसंख्या प्राथमिक औषधिका लागि परम्परागत औषधिमा भर पर्दछन् । परम्परागत ज्ञानको उपयोग कै आधारशिलामा वर्तमान विश्वले यो छलाङ मारेको हो । सोही कारण पनि यो ज्ञानलाई संरक्षण गर्नुपर्ने आवश्यकता छ । परम्परागत ज्ञानको अभिलेखीकरण हुनु अहिलेको समयमा अति महत्व भइसकेको छ । एकातर्फ अभिलेखीकरणले परम्परागत ज्ञानलाई भावी पिंडीलेसमेत थाहा पाउने गरी संरक्षण गर्दछ भने अर्कातर्फ बौद्घिक सम्पतिको दावी गर्न पनि मदत गर्दछ । अभिलेखीकरणले मान्छेको मृत्युसँगै ज्ञानको समेत मृत्यु हुने खतराबाट जोगाउँछ । अझ यसले गर्दा समाजमा प्रकृति बुझ्न र प्रचारप्रसार गर्न सहयोग हुन्छ । हाम्रो परम्परागत ज्ञान उचित रुपमा अभिलेखीकरण नभएमा जैविक चोरी हुने खतरा रहन्छ । हाम्रो परम्परागत ज्ञान, सीप र अनुभवमा आधारित हाम्रा प्राकृतिक जडिबुटीहरुको प्रयोग विधिलाई विदेशीहरुले रातारात आफ्नो बौद्घिक सम्पत्ति बनाइरहेका हुन सक्छन् । उदाहरणका लागि बेसारको गानो प्रयोगले नसाको घाउ निको पार्ने गुणको अमेरिकी पेटेन्ट कार्यालयबाट पेटेन्ट अधिकार (बौद्घिक सम्पत्ति) युनिभर्सिटि अफ मिसिसिपी मेडिकल सेन्टरमा रहेका दुई प्रवासी भारतीयले लिए पछि सो पेटेन्ट अधिकार विरुद्घ भारतको वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषदले मुद्घा हालेको थियो । भारतमा सो गुणको प्रयोग परापूर्व कालदेखि नै घाउ निको पार्न प्रयोग गरि रहेकोले अमेरिकी पेटेन्ट कार्यालयले सो पेटेन्ट अधिकार रद्घ गरेको थियो । हाम्रा पनि यस्ता परम्परागत ज्ञानमा आधारित सम्पत्तिहरु कसैले आप्mनो निजीसम्पत्ति त बनाएका छैनन् भनी हामी समयमै सचेत हुन जरुरी छ ।
परम्परागत ज्ञानको महत्व यति धेरै हुँदाहुँदै पनि देशको अथाह परम्परागत ज्ञान उचित रुपमा अभिलेखीकरण गर्न सकिएको छैन । वन तथा भूसंरक्षण मन्त्रालयले परम्परागत ज्ञानको अभिलेखका लागि जैविक विविधता अभिलेख तयार पार्ने तरिका – २०६० को खाका प्रस्तुत गरे पनि यो कार्य त्यति सफल भइरहेको अवस्था छैन । यस कार्यमा जुन रुपमा बहुसरोकारवालाले तत्परताका साथ कार्य गर्नुपर्ने हो त्यो हुन सकेको छैन । नीति निर्माण तहमा उल्लेख्य काम पनि भएको छैन । परम्परागत ज्ञानको उपयोग गरी अन्तराष्ट्रि स्तरमा जुन कार्य भएको छ, त्यसबाट पनि नेपालले केही सिक्नुपर्ने देखिन्छ । यस विषयमा पनि सर्वसाधरणलाई समयमै सचेत गराउनुपर्ने अवस्था छ ।
ब्राजिलमा भएको संयुक्त राष्ट्रसंघीय जैविकविविधता महासन्धि १९९२ मा परम्परागत ज्ञानको उपयोगबाट हुने लाभको स्थानीय समुदायसँग न्यायोचित बाँडफाँड गर्ने कुरा उल्लेख छ । विश्व श्रमिक संगठन महासन्धि १६९ ले पनि सम्बन्धित राज्यले आदिवासीहरुको संस्था, सम्पत्ति, संस्कृति र वातावरणको सुरक्षा दिनुपर्ने उल्लेख गरेको छ ।
समुदायमा रहेको परम्परागत ज्ञानको संरक्षणको महत्व दिनानुदिन बढिरहेको अवस्थमा राज्यले उचित नीति निर्माण गर्दै कार्यान्वयनतर्फ जानुपर्ने देखिन्छ । राज्यले परम्परागत ज्ञान संरक्षणको वातावरण तयार पारी सम्पूर्ण समुदायहरुले साथ दिनु पर्दछ । परम्परागत ज्ञानको स्रोत समुदाय र व्यक्ति रहेको हुनाले यसको संरक्षण तथा अभिलेखीकरण गरेमा अधिकतम फाइदा पनि समुदायलाई रहन्छ । परम्परागत ज्ञानको फाइदा लिनका लागि र आफ्नो सीप तथा ज्ञान सुरक्षित राख्न समुदाय सजक हुन जरुरी छ । परम्परागत ज्ञान लोप भएमा समुदायले मात्र हानी बहोर्ने नभएर देशले नै क्षति व्यहोर्छ । हाम्रा छरपष्ट रहेका परम्परागत तौरतरिक, सीप, कला, सिर्जना, र प्रविधिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो र आजको आवश्यकता पनि ।
उचबपबकज।तजबउबण्ज्ञघ२नmबष्।िअयm