हाम्रो समाजले फरक क्षमता भएकालाई हेर्ने दृष्टिकोण फरक छ । अपाङ्ग, दृष्टिविहिन, बहिरा र फरक क्षमता भएकाहरुले पनि समाज र देशको लागि राम्रो काम गरेर देखाएका छन् । फरक क्षमता भएकालाई समाजले खासै चासो दिएको पाइदैन । त्यसैले अहिले प्रायःजसो बजारका चोकहरुमा दृष्टिविहिनले संगीतमार्फत आफ्नो जीविकोपार्जन गर्न बाध्य छन् । फरक क्षमता भएकालाई परिवारले नै हेला गर्दा आश्रय गृहमा जीवन बिताउन विवश छन् । तर, कतिपय अपाङ्गता, बहिरा र दृष्टिविहिनले साना उद्योग चलाएर समाजमा नमुना प्रस्तुत गरेका छन् । बहिरा विद्यार्थी अतिरिक्त क्रियाकलापमा पनि कम छैनन भन्ने कुरा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देखिएको छ । उनीहरुले छैठौं राष्ट्रपतिको शिल्ड जितेर सबैलाई चक्मा दिएका छन् । उनीहरुले फरक क्षमता भएकाहरुले पनि समाजका लागि केही दिन र गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण पेश गरेका छन् ।
बहिरा विद्यार्थी मात्रै होइन जिल्लाका एक दृष्टिविहिन अमिट केसीले सगरमाथा शिखर चुम्ने अठोट गरेका छन् । दृष्टिविहिनलाई सडकमै हिड्न असहज हुन्छ तर, केसीले त विश्वकै अग्लो सगरमाथा शिखरमा चढेर नयाँ रेकर्ड राख्ने सपना साँचेका छन् । अमिटको यो अभियानले स्वयम् उनलाई मात्रै फाइदा छैन, सम्पूर्ण देशको गौरव बढाउने काम गर्नेछ । उनले केही वर्षदेखि सगरमाथा चढ्नको लागि संघर्ष गरिरहेका छन् । सगरमाथा चढ्नको लागि धेरै रकम चाहिने हुँदा उनी अहिले आर्थिक संकलन अभियानमा क्रियाशिल छन् । अमिटको अभियानले सर्वप्रथम जिल्लाको गौरवलाई पनि माथि उठाउने निश्चित छ । त्यसैले हामी सबैले उनको अभियानमा हातेमालो गर्न जरुरी छ । सामान्य बिरामी हुँदा म्याग्दी जिल्लामा केही दिनमै लाखौं रुपैयाँ संकलन हुन्छ । तर, बागलुङ जिल्लाका सरोकारवाला निकायले बेवास्ता गर्दा अमिटको महान् अभियान छायामा परेको छ । के हामीले म्याग्दीबाट सन्देश लिएर अमिटको साहसमा सहकार्य गर्नु पर्दैन ?
दृष्टिविहीन केसीको सगरमाथा आरोहणका लागि जिल्लामा सञ्चालन गरिएको अभियानमा करिब ८० हजार रुपैयाँ संकलन भएको छ । सगरमाथा आरोणको लागि करिब १ लाख अमेरिकी डलर आवश्यक पर्छ । अमिट केसी सगरमाथा आरोहण सहयोग समिति बागलुङले शुरु गरेको अभियानमा सोमबार पहिलो दिनमै ७८ हजार १ सय ११ रुपैयाँ संकलन भएको हो । सन् २०१७ अप्रिल २ बाट केसीको सगरमाथा अभियान शुरु भएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण पश्चात जुन १० मा सकिने बताईएको छ । आरोहणका लागि लाग्ने आर्थिक खर्चको जोहोका लागि केसीले सबैसँग सहयोगको अपिल पनि गरेका छन् । केसीले व्यक्तिगत रूपमा पनि सहयोग अभियान चलाइरहेका छन् । बागलुङमा सहयोग समितिमार्फत अभियान शुरु गरिएको छ । केसीले अभियानले जिल्ला मात्रै होइन देशकै गौरव बढाउने हुँदा उनको अभियानमा हामी सबैले सहयोग गर्नुपर्छ ।
Previous Articleनेपाल कर्मचारी युनियन म्याग्दीको अधिवेशन सम्पन्न
Next Article क्याम्पसको रजत उत्सव