बागलुङ, १० फागुन – स्वास्थ्य क्षेत्रमा क्रियाशिल विभिन्न ट्रेड युनियनहरुले विभिन्न माग राख्दै संयुक्त संघर्ष समिति मार्फत जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना शुरु गरेका छन् ।
स्वास्थ्यसेवा ऐनको दफा ९ को ख उचित व्यवस्थापन सहित तत्काल लागू गर्न उनीहरुले माग गरेका छन् । साथै पद व्यवस्थापन तथा तहगत प्रणाली लागू गर्नुपर्ने, सबै स्वास्थ्यकर्मीको जाहेज माग पुरा गर्नुपर्ने, विगतमा भएका सबै सम्झौता लागू गर्नुपर्ने लगायतका माग राख्दै उनीहरुले आन्दोलन गरेको बताए । विशेषगरी सहायक स्तरका स्वास्थ्यकर्मीहरुले यो संघर्षको कार्यक्रम अगाडि बढाएका हुन् ।
उप स्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा बढुवा गर्दा निरन्तर काम गरेका स्वास्थ्यकर्मीलाई छाडेर अन्यत्रबाट आएकालाई इन्चार्ज बनाइएको लगायतका बिषयमा उनीहरुको असन्तुष्टी रहेको बताइएको छ । नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष बिष्णुप्रसाद शर्मा, राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष नारायणप्रसाद पौडेल, अखिल नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष कृष्णप्रसाद शर्मा र संयुक्त ट्रेड युनियन संघर्ष समितिका संयोजक सोमराज पाण्डेयले संयुक्त हस्ताक्षर गरेर फागुन २ गतेनै चरणबद्ध आन्दोलन घोषणा गर्ने विज्ञप्ती जारी गरिएको थियो ।
उक्त विज्ञप्तीको माग पुरा नभएपछि सोमबारदेखि आन्दोलनको घोषण गरेको उनीहरुले बताए । अति संवेदनशिल क्षेत्र भएकोले सबैले काम नछाडीकन चरणपद्ध र पालैपालो आन्दोलनमा सहभागि बन्ने र सेवालाई पनि सुचारु गर्न लागेको बताइएको छ ।
Previous Articleराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
Next Article निर्वाचनको वातावरण गराउन पत्रकारलाई प्रचण्डको आग्रह