बागलुङ, १० फागुन – छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार देखि बागलुङको बाङ्गेचौर मैदानमा शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा तीन वटा निर्वाचन क्षेत्रबाट बिजयी भएर आएका विद्यालयका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । फागुन १ गते देखि ३ गते सम्म तीनवटै निर्वाचन क्षेत्रको क्षेत्रीय खेलकुद प्रतियोगिता सम्पन्न गरेर जिल्ला तहमा आएका खेलाडीहरु बीचका खेल सोमबारदेखिनै शुरु भएका हुन् । खेलमा एथलेटिक्स तर्फ छात्र र छात्राको १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर सम्ममा दौड प्रतियोगिता हुनेछन् । उफ्रने र फ्याँक्ने तर्फ छात्रछात्राकै हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतको खेल राखिएको छ ।
भलिबल तर्फ छात्रछात्राकै नकआउट विधिको प्रतियोगिता हुनेछ । मार्सल आर्ट तर्फ छात्रछात्राको कराँते, उसु र तेक्वान्दो र कवड्डी समेत समावेश गरिएको छ । ती मध्ये एथलेटिक्सलाई प्रथमको ७, द्वितियको ५, तृतियको ४, चौथोको ३, पाँचौंको २ र छैठौंको १ अंक दिने व्यवस्था छ । त्यस्तै रिले तर्फ त्यसको दोब्बर अंक दिने व्यवस्था छ ।
भलिबल र कबड्डीमा भने प्रथमको ४२, द्वितियको २८ र तृतिय तथा चौथोको १४ अंक तोकिएको छ । जिल्लाबाट बिजेता टोली क्षेत्रीय खेलका लागि पोखरा जाने बताइएको छ । खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले खेलकुँदले मानिसलाई स्वच्छ मात्र नभई देश विदेशमा चर्चित पनि बनाउने बताए । साथै हरेक नागरिकले स्वच्छ बन्नका लागि खेल खेल्नुपर्नेमा जोड दिए । उक्त अवसरमा राष्ट्रपतिकप मार्फत विद्यार्थीले जिल्लालाई देश विदेशमा चिनाउने अवसर पाउने धारणा राखे ।
कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत रमेश ढकाल, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, उपाध्यक्ष शम्भु आचार्यको संचालन र सदस्य राहुल बोहोराको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीं, तेक्वाक्दो, कराँते, उसु लगायतका खेलाडीले विभिन्न प्रस्तुतीहरु देखाएका थिए ।
राष्ट्रिय खेलकुँद परिषदले पठाउने सानो रकममा चन्दा संकलन गरेर समितिले नियमित रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरिरहेको अध्यक्ष परियारले बताए ।
सोमबार भएका खेल
सोमबार उद्घाटन पछि संचालन भएको १ हजार ५ सय मीटरको दौड प्रतियोगितामा सिगाना माविका शक्ति खड्का प्रथम भएका छन् । उनले ४ मिनेट ५२ सेकेण्डमा उक्त दुरी पार गरेका थिए । न्यु एभरेष्टका सुनिल नेपाली द्वितिय र जनशिक्षित माविका रोशन खड्का तृतिय भएका थिए ।
यस्तै सोमबार भएको छात्र तर्फको हाई जम्पमा सिगाना माविका सागर सार्की प्रथम, नवप्रभा बोडिङ्ग स्कुल गल्कोटका कमल परियार द्धितिय र धौलागिरी बहिरा आवासिय माविका बैद्धनाथ चौधरी तृतीय भएका छन् । यस्तै छात्र लङ्ग जम्प तर्फ धौलागिरी बहिरा आवासिय माविका बैद्धनाथ चौधारी प्रथम, न्यू मोर्डन एकेडेमी बुर्तिबाङका लेखनाथ खरेल द्धितिय र गणेश मावि नारायणस्थानका अनिष हरिजन तृतीय भएका छन् ।
छात्र त्रिपल जम्प तर्फ जनताधन माविका ज्ञान प्रसाद सुवेदी प्रथम, गणेश माविका अनिष हरिजन द्धितिय र चिल्ड्रेन लाईफ बोडिङ्ग स्कुलका सुभाष शर्मा तृतीय भएका छन् । यस्तै छात्र तर्फको सटफुटमा न्यू ओएसिस एकेडेमीका सुरभ कुँवर प्रथम, न्यू मोर्डन एकेडेमीका निर्माण सुनार द्धितिय र न्यू एभरेष्ट एकेडेमीका सुनिल थापा तृतीय भएका छन् ।
सोमबार नै भएको छात्रा तर्फको १ हजार ५ सय मिटर दौडमा जनताधन माविकी दुर्गा शर्मा प्रथम भएकी छिन् । उनले उक्त दुरी ५ मिनटे ५५ सेकेण्डमा पार गरेकी थिइन । गणेश माविकी सुप्रिया विकले ५ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै द्धितिय र पृथ्वी माविकी लक्ष्मी कार्कीले ६ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै तृतीय भएकी छिन् । जनताधन माविकी दुर्गा शर्मा र गणेश माविकी सुप्रिया विक खाली खुट्टा दौडेका थिए ।
त्यस्तै छात्रा तर्फको १ सय मिटर दौडमा न्यू एभरेष्ट एकेडेमीकी सन्ध्या रोका प्रथम, धौलागिरी बहिरा आवासिय माविका तिलदेवि गर्वुजा द्धितिय र जनताधन माविकी दिपा क्षेत्री तृतीय भएकी छिन् । यस्तै २ सय मिटर दौडमा फ्युचर ब्राईटर बोडिङ्गकी सञ्जु गौतम प्रथम, जनताधन माविकी गिता क्षेत्री द्धितिय र जनहित माविकी समिक्षा खड्का द्धितिय भएका छन् ।
यस्तै ४ सय मिटर दौडमा जनताधन माविकी दुर्गा शर्मा प्रथम, सिगाना माविकी मुना जिसी द्धितिय र धौलागिरी बहिरा आवासिय माविकी अनिता बुढा तृतीय भएका छन् । यस्तै ८ सय मिटर दौडमा सिगाना माविकी सोविना जिसी प्रथम, गणेश माविकी सुप्रिया विक द्धितिय र जनताधन माविकी दिपा शर्मा तृतीय भएका छन् । यस्तै छात्रा तर्फको सटफुट प्रतियोगितामा धौलागिरी बहिरा आवासिय माविकी तिलदेवि गर्वुजा प्रथम, गणेश माविकी सुस्मिता सुनार द्धितिय र तितौरे माविकी अनुसार कार्की तृतीय भएका छन् ।
यस्तै छात्रा हाईजम्पमा जनप्रेम माविकी सम्झना सुनार प्रथम, चिल्ड्रेन लाईफ बोडिङ्ग स्कुलकी रोशनी बुढाथोकी द्धितिय र धौलागिरी बहिरा आवासिय माविकी जमुना आचार्य तृतीय भएका छन् । यस्तै सोमबार देखि पुरुष भलिवल प्रतियोगिता पनि सुरु गरिएको छ ।
Previous Articleआगलागी पीडितलाई राहत वितरण गरियो
Next Article स्वास्थ्यकर्मीहरुको आन्दोलन जारी