काठमाडौं, १० फागुन – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गरेका छन् । दिवङ्गत एवम् सङ्घर्षशील पत्रकारको स्मृति र सम्मानमा सञ्चारग्राम सिनामङ्गलमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको ‘पत्रकार स्तम्भ’ मंगलबार अनावरण गर्दै प्रधानमन्त्रीले विगतमा जनआन्दोलन सफल पार्न सञ्चारमाध्यमले भूमिका निर्वाह गरे जस्तै अहिले पनि योगदान दिन जोड दिए ।
निर्वाचन सफलताले अराजकताको अन्त्य गर्दै मुलुकलाई संविधानमा उल्लेख भएअनुरुप समाजवाद र समृद्धिको यात्रातर्फ लैजाने बताउँदै उनले निर्वाचनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि जनताले अनुभूत गर्न थाल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे । उनले भने, ‘अहिलेको संविधानले सिंहदरबारको धेरै अधिकार गाउँमा पुर्याएको छ। निर्वाचनपछि लालपुर्जा, पासपोर्ट, नागरिकता, न्यायपालिका लगायतका सुविधा स्थानीय निकायबाटै जनताले पाउँदा बल्ल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको के हो भन्ने महसुस गर्नेछन् ।’ सञ्चारमाध्यमको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले त्यसका लागि सरकारले गर्नुपर्ने मुख्य कामको विवरण दिन सञ्चारका अगुवालाई आग्रह गरे ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अहिले पत्रकारिता जगत्मा उत्ताउलोपन बढी र विश्वसनीयता कम देखिएको टिप्पणी गर्दै पत्रकारको विश्वसनीयता सकियो भने के होला भन्ने सोच्न आवश्यक रहेको बताए । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने विश्वासका साथ आफूहरुले ‘पत्रकार स्तम्भ’ निर्माण गरेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले ‘पत्रकार स्तम्भ’ले सञ्चारग्रामकै शोभा बढेको बताए ।
स्तम्भमा कलम र कागजका पाना प्रतीकका रुपमा राखिएको छ जसको निर्माण मूर्तिकार राजु पिठाकोटेले गरेका हुन् । स्तम्भमा ‘मेरो पत्रकारिता देश र जनताका लागि’ भन्ने उल्लेख छ ।
निर्वाचनको वातावरण गराउन पत्रकारलाई प्रचण्डको आग्रह
Previous Articleस्वास्थ्यकर्मीहरुको आन्दोलन जारी
Next Article सर्वदलीय बैठक : स्थानीय निर्वाचनमा आम सहमति