बागलुङ, १० फागुन – जिल्लाका दृष्टिविहीन अमिट केसीको सगरमाथा आरोहणका लागि जिल्लामा सञ्चालन गरिएको अभियानको प्रारम्भमै करिब ८० हजार रुपैयाँ संकलन भएको छ ।
अमिट केसी सगरमाथा आरोहण सहयोग समिति बागलुङले शुरु गरेको अभियानमा सोमबार पहिलो दिनमै ७८ हजार १ सय ११ रुपैयाँ संकलन भएको हो । अभियानका क्रममा कालिका भगवती गुठीबाट २० हजार, सिवाइसी नेपालबाट २५ हजार, क्षत्री समाज बागलुङबाट १० हजार, अभियान बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५ हजार, धौलागिरी आवासीय माध्यमिक बिद्यालयबाट ११ हजार १ सय ११, धौलागिरी बहुमुखी क्याम्पसबाट ७ हजार रुपैयाँ प्राप्त भएको अभियानका संयोजक कृष्णराज लामिछानेले जानकारी दिए । सन् २०१७ अप्रिल २ बाट केसीको सगरमाथा अभियान शुरु भएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण पश्चात जुन १० मा सकिने बताईएको छ ।
आरोहणका लागि लाग्ने आर्थिक खर्चको जोहोका लागि केसीले सबैसँग सहयोगको अपिल पनि गरेका छन् । सार्वजनिक अपिल जारी गर्दै केसीले सगरमाथा आरोहणका लागि करिब एक लाख अमेरिकी डलर (नेपाली एक करोड) लाग्ने बताए । केसीले व्यक्तिगत रूपमा पनि सहयोग अभियान चलाइरहेका छन् । त्यसका साथै बागलुङमा सहयोग समिति मार्फत अभियान शुरु गरिएको र उत्साहजनक रुपमा सहयोग प्राप्त हुन थालेको संयोजक शर्माले बताए । संसारकै दोस्रो र नेपालको पहिलो दृष्टिविहीन व्यक्तिका रूपमा केसीले सगरमाथा आरोहण गर्न लागेकाले सहयोग सबै क्षेत्रबाट प्राप्त हुने उनको भनाई छ । यसअघि सन् २००१ मा अमेरिकी दृष्टिविहीन नागरिक एरिकले सगरमाथाको सफल आरोहण गरेका थिए ।
केसीले आरोहणपूर्व हिमाली भू–भागमा बिभिन्न चरणको आरोहण अभ्यास समेत गरिसकेका छन् । सबै क्षेत्रको गौरवको विषय भएको हुँदा सबै मिलेर अमिटको अभियानलाई सफल तुल्याउन आर्थिक अभियान थालिएको सहयोग समितिका सदस्य सचिव रामप्रसाद घिमिरले बताए । स्नातकोत्तर सम्मको अध्ययन गरे का केसीले यसअघि करिब चार वर्षजति शिक्षण पेसा पनि गरिसकेका छन् । सानै उमेरदेखि पढाइमा पनि अब्बल केसीले ब्रेल लिपिका माध्यमबाट अध्ययन गरेका हुन् ।
अपाङ्गताको क्षेत्रमा क्रियाशील केसी फरक क्षमता भएका व्यक्तिहरूको राष्ट्रिय सञ्जालको अध्यक्ष समेत रहेर काम गरेका छन् ।
Previous Articleविद्युतिय पुस्तकालय स्थापना गर्न दुई पुर्वविद्यार्थीको सहयोग
Next Article सन्ततिलाई सुधार्न आमाबाबु नै गुरु