बागलुङ, ९ फागुन – जिल्ला प्रशासन कार्यालय बागलुङले चालु बर्षको पहिलो ७ महिनामा १ करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सँगै राहदानी वितरणबाट उक्त राजश्व संकलन भएको शाखा अधिकृत बिष्णुप्रसाद ढकालले बताए । कार्यालयका अनुसार चालु बर्षको ६ महिनामा १ करोड २१ लाख र माघ महिनामा १९ लाख रुपैयाँ संकलन गरेको हो ।
केही बर्षदेखि जिल्लाको सदरमुकाम स्थित प्रशासन कार्यालय र बुर्तिवाङ स्थित सेवा केन्द्रबाट पनि नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सदरमुकाम तर्फ नागरिकता नयाँ बनाउने २ हजार ७ सय ९९ जना रहेका छन् । त्यस्तै प्रतिलिपि बनाउनेहरु १ हजार ५ सय ३२ जना छन् । राहदानी तर्फ साधारण रुपमा बनाउने हरु २ हजार १ सय ९२ जना छन् भने दु्रत प्रविधिबाट बनाउने १ हजार १ सय ९३ छन् । त्यस्तै माघ महिनामा मात्र पनि ४ सय ३५ जनाले नयाँ नागरिकता बनाएका थिए भने २ सय ३९ जनाले प्रतिलिपी बनाएका थिए । चालु बर्ष ३ जनाले अंगिकृत नागरिकता बनाएका छन् ।
प्रशासनले पछिल्लो समय निवेदन पेश गरेको एक घण्टामै नागरिकताको काम गर्ने वातावरण समेत बनाएको छ । ‘आवस्यक जनशक्ति मिलाएर दु्रत रुपमा सेवा दिने व्यवस्था गरिएको छ’ सहायक प्रजिअ धु्रब गिरीले भने, ‘पुरानो भवन र अव्यवस्थित बसाईले अझै समस्या पारेको छ, केही समयपछि प्रशासनको आफ्नै भवनमा सर्न सकियो भने यो सेवालाई अझै चुस्त बनाउन सकिन्छ ।’ टाढादेखि आएका सेवा ग्राहीलाई सहज रुपमा नागरिकता बनाइदिने र घर फर्कने वातावरण बनाउनका लागि कार्यालयले सबै प्रकारका पहल गरेको पनि उनले बताए ।
बुर्तिवाङबाट पनि नगारिकता र राहदानी वितरण गरिएकोले राजश्व र वितरण भएका सेवाको तथ्यांक भने समयमै एकीकृत गर्न नसकिएको ढकालले बताए । समय समयमा एकीकृत गरेपनि चाहेकै समयमा जुटाउन नसकिएको हो । हाल प्रशासनको पुरानो भवन र एकवटा भाडाको भवनमा कार्यालय रहेको छ । एउटै कार्यालयमा सरेपछि भने व्यवस्थापकीय सुधार गरिने योजना रहेको उनले बताए ।
नयाँ र प्रतिलिपि उस्तै
नागरिकता प्रमाणपत्र पाउने नागरिकको जन्मसिद्ध अधिकार हो । तर बागलुङमा नयाँ नागरिकता बनाउने र प्रतिलिपि बनाउनेहरु प्राय उस्तै देखिन्छन् । वैदेशिक रोजगारीमा जाने, जापान र अन्य युरोपियन देशमा जानेहरुले पनि प्राय दोहोरो नागरिकता बनाएको धेरैले आशंका गर्छन् । कतिपयले भने हराएर दोश्रोपटक बनाएको देखिन्छ । तर पनि चालु बर्षकै पहिलो ६ महिनामा २ हजार ७ सय नयाँ नागरिकता वितरण हुँदा १ हजार ५ सय प्रतिलिपि पनि वितरण भएकोलाई भने सामान्य मान्न सकिंदैन ।
राहदानी तर्फ पनि हराएको भन्दै बनाउने उत्तिकै छन् । त्यतातर्फ प्रतिलिपि भनेर नलेखिने भएकोले खासै अंक नदेखिएपनि आधाभन्दा धेरैले दोश्रोपटक बनाउने गरको कर्मचारीहरुले बताए । त्यस्तै दोब्बर रकम तिरेमा द्रुत मार्गबाट राहदानी बन्ने प्रावधान छ । माघ महिनामा मात्र २ सय ९२ जनाले साधारण राहदानी लिएकोमा दु्रत लिने पनि २ सय जना थिए । तुलनात्मक रुपमा कात्तिक र मंसिर महिनामा धेरैजनाले नागरिकता र राहदानी लिने गरेको पनि भेटिएको छ ।
Previous Articleमुक्ति समाजको अधिवेशन २८ गते
Next Article राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित