धर्म सापकोटा (राजु)
घरबाट अपरिचित पाहुनाहरू बाहिर निस्केपछि छोरीले सशंकित हुँदै बाबुलाई सोधी -‘बाबा तिनिहरु को हुन्? किन आएका? तिनीहरु सँगै आएको केटाले चाहीं मलाई निकै घुरेर हेर्दै थियो।’
छोरीले नै आफैं सोधेपछि बाबाले भने-‘तिनीहरु तिम्रो बिहेको कुरा लिएर आएका हुन छोरी। उनीहरुलाई तिमी साह्रै मन पऱ्यौ अरे।’
छोरीले रिसाउँदै भनि -‘बाबा, मलाई नै थाहा नदिई कसरी मान्छेहरु यहाँ बिहेको कुरा लिएर आउँछन्? म त अहिले मरिगए पनि बिहे गर्दिनँ।’
आमाले सम्झाईन् -‘निर्णय नै त कहाँ भएको छ र छोरी ? निर्णय त तिमीले नै गर्ने हो । हामीलाई त राम्रै लागेर हो, तिमी पनि सोच।’
‘ममी तपाई पनि मेरो कुरा प्रष्ट सँग सुन्नुस्- पहिलो कुरा त म पढ्दैछु, मेरो अहिले बिहे गर्ने बेला भएको छैन। दोस्रो कुरा मलाई यो केटा मन पनि परेको छैन, यो केटा मेरो लागि योग्य पनि छैन।’
बाबाले सम्झाउदै भने – ‘त्यसो नभन छोरी, केटो उत्तम छ। पढाई पनि राम्रै छ, सम्पति पनि छ। बाबु आमाको एक्लो छोरा हो ।’
बिचैमा कुरा काट्दै छोरीले भनि- अनि के त ? एक्लो छोरा हुँदैमा मैले नै बिहे गर्नुपर्छ भन्ने छ र ?’
बाबाले भने -‘बिदेसमा बस्छ, उतै जागिर छ, त्यतीमात्र हैन, अझ उतैको ग्रीनकार्ड होल्डर हो रे।’
बाबाको कुरा सुनेर छोरी एकछिन मौन भई । मनमनै दोहोर्याई ‘ग्रीनकार्ड’। धेरैबेर सोचेपछि एकदमै आज्ञाकारी छोरी झै बनेर भनी-‘अब हजुरहरूले मन पराएको केटालाई मैले कसरी नाईं भन्न सक्छु र ?’
शनिबार राजधानीमा लोकार्पण लघुकथा संग्रह “बहिर्गमन”बाट
Previous Articleयुवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग
Next Article अमृत गुरुङ हिट बनाउने श्यामसुङ