अहिले घरिघरि नामबाट ‘सुन’ हराएजस्तै जीवनबाट पनि मूल्य हराएजस्तो लाग्छ, उनलाई। जसरी स्कुलमा लेखापालले फर्म नभरी पालेलाई भर्न लगाउँदा सुन हुर्र्याएर श्यामसँग ‘सुङ’ जोडिदिएका थिए। उतिबेला त उनलाई लागेको थियो, नामबाट सुन हुर्र्याउँदैमा जीवनको मूल्य त हुर्रिने होइन। घरकाले न्वारन गरिदिएको नाम श्यामसुनबाट गेटपालेले उनको नाम बनाइदिए, श्यामसुङ तामाङ। अहिले भने उनलाई कहिलेकाँही जीवनको सुन चोरिएजस्तो लाग्छ, अलिक फरक सन्दर्भमा।
‘अभाव र दुखको पिङमा सपनालाई सँगै लिएर जीवनलाई मच्चाउनु थियो, मच्चाइयो,’ उनी भन्छन्, ‘तर लयमा मच्चाउन नसक्दा भुइँमा थेचारिएजस्तो लाग्छ। जीवनको मूल्य हराएजस्तो लाग्छ।’ अनुहारमा तन्नेरी रङ देखिए पनि ४७ वर्षे उमेरको लौरो टेकेका तामाङलाई एक्लो बाँच्नुपर्ला भन्ने कल्पनासम्म थिएन तर सबथोक पाएर पनि छन् अहिले, एक्लो। जो कहिल्यै हरेस् खान हुँदैन भनिरहे र कामको जलपले नाम चम्काउँछ भन्दै लागिरहे।
उनै अहिले उत्रिएका छन् डिप्रेसनका गोलीहरु निलेर लयको जीवनमा। जीवनमा कस्ता समस्या आउँछन्, पैसाले निम्त्याउने दुर्भाग्य कस्तो हुन्छ? मान्छे कसरी डिप्रेसनको सिकार हुन्छ र कसरी आफूलाई सकारात्मक बाटोमा हिँडाउन सकिन्छ भन्ने उदाहरण हुन्, पोखरामा संगीतकर्म गरिरहेका श्यामसुङ तामाङ।
श्यामसुङले जन्माए, अमृत हिट
उनीहरुले पोखरामा सांगीतिक ब्यान्ड खोलिसकेका थिए। श्यामसुङ आफैं गीत लेख्थे, मादल र गितार पनि बजाउँथे । अरुका गीतमात्रै गाएर नहुने तर्कसहित उनीहरुको ब्यान्ड आफ्नै गीत निर्माण गर्ने ध्याउन्नमा थियो। एकदिन सतमा बसेर हिमाल हेर्दै श्यामसुङले मनमनै सोचे, ‘म यस्तो गीत लेख्छु जुन गीत सधैँ बाँचिरहोस्।’ नभन्दै एउटा गीत फुर्यो–
जीवन हो घाम छायाँ, सुख दुख दुवै हुन्छ
जीवन हो बिना माया छटपटी तड्पन हुन्छ
समय चक्रमा घुमिरहने घडीको तार हो कि
नशामा झुमिरहने कुनै मुल हो कि
हाँसीहाँसी बाँचिदिन्छ, खुसीमा नाचिदिन्छ
यही हो कि यसको बानी
यो जिन्दगानी, यो जिन्दगानी
उनले आफैं गुनगुनाए। धुन पनि निकाले। ब्यान्डका साथीभाइलाई सुनाए। सबैले मन पराए। उनीहरुको भ्यागा बोन्ड ब्यान्डले पहिलो पटक लामाचौरको गण्डकी बोर्डिङ स्कुलमा कार्यक्रम गर्यो। धेरैले गीत मन पराए। फर्माइस गरे। गीत दोहो¥याएर गाउनुपर्यो । दोस्रो कार्यक्रम गर्यो सभागृहमा सभागृहमा माथिल्लो हल गण्डकी बोर्डिङकै विद्यार्थीले भरियो । यो गीत धेरैले मन पराए । यो गीत माग्नेको लाइन नै लाग्यो। त्यसमा एकजना थिए, नेपथ्यका अमृत गुरुङ।
उनले सुरुमा कसैलाई गीत दिएनन्। यत्तिकैमा ४÷५ वर्ष बित्यो । ‘फेरि पनि नेपथ्यका अमृतले मागेपछि अरुलाई दिनुभन्दा उनैलाई दिन्छु भनेर मैले गीत दिएँ,’ श्यामसुङले भने, ‘गीत पहिलेको भन्दा बिगारेर गाइयो र पनि हिट भयो।’
आफ्नो पनि सँगै नाम आउँछ भनेर उनले गीत दिएका रहेछन । जब नेपथ्यका अमृतले यो गीत गाए, गीत नेपथ्यकै बन्यो। उनको नाम कतै आएन। मान्छेले उनलाई चिनेनन्, नेपथ्यलाई चिने। उनी छायाँमा परे। अहिले यो गीत सुन्नेबित्तिकै मान्छेले नेपथ्यको नाम लिइदिँदा उनलाई घरिघरि चित्त दुख्छ । ‘चित्त दुखाएर पनि के गर्नु अब त त्यो गीत मैले लेखेको हुँ भने पनि मान्छेले पत्याउँदैन।’
गड गिफ्टेड सांगीतिक जीवन
गीतसंगीतमय जीवनलाई श्यामसुङ गडगिफ्ट मान्छन्। पोखरा–१ बगरमा जन्मेका तामाङको घरमा पुरानो प्वाल परेको मादल रहेछ। ६-७ वर्षकै उमेरमा त्यही मादल ठोकेर बस्ने श्यामसुङको तर्कअनुसार अहिलेसम्मको जीवन नै गीतसंगीतमै बाँच्छु भन्नु गडगिफ्टेड हो । संगीतका पारखी भेनाबाट प्रभावित श्यामसुङ गितार बजाउन पनि आफैं सिकेका हुन् । घर हुँदै बारीमा बसेर मादल बजाउने भेनाबाट सिको गर्दै उनी मादल ठोकेर हुर्के । जति उनले मादल ठोकेर गीतसंगीतमा लागे, नियतिले उनीमाथि हम्मर ठोकिरह्यो।
गितार बजाउँदा गितार फुटाइदिने धम्की दिन्थे बाबुले । तर, उनको उठबस नै संगीतमा रमाएकासँग भएपछि कसैको केही जोर चलेन । उनी र उनका साथीहरु अंग्रेजी चक्का किनेर सुन्थे । त्यसैबाट कसैले गितार बजाउँथे, कसैले ड्रम त कसैले गाउँथे। समयको गति रोकिने कुरा भएन, उनीहरु पनि रोकिएनन् । गणेश क्षेत्री, पप्पु, राज गुरुङ, रमेश गुरुङ, केशव गुरुङ र उनी मिलेर एउटा सांगीतिक ब्यान्डलाई जन्म दिए। जसको नाम राखे, भ्यागा बोन्ड। जुन पोखराकै दोस्रो ब्यान्डको रुपमा उदाएको उनी बताउँछन् । त्योभन्दा अगाडि जन्मेको यङ टाइगर हो। जसको नेतृत्व पृथ्वीमान गुरुङले गर्थे।
‘ब्यान्डको जन्म दिएर कार्यक्रम गर्न थाल्यौं। अरुका गीत गाउने, अभ्यास गर्ने गथ्र्याैं,’ श्यामसुङले भने, ‘आफ्नै गीत बनाउनुपर्छ भन्ने लागेर आफैं गीत लेखेर गाउन थाल्यौं।’ त्यही समय थियो, जतिबेला पोखरामा भटाभट सांगीतिक ब्यान्ड जन्मिन थाले । जनआन्दोलनपछि फुर्सदको समयले उनीहरुको समूहले ब्यान्ड जन्माएको थियो । फुर्सदको सांगीतिक कर्मले मात्रै जीवन सुरक्षित नहुने भए पछि ब्यान्डका साथी पलायन भए। ब्यान्ड बन्द भयो। तर, उनले सांगीतिक कर्म निरन्तर गरिरहे। अहिलेसम्म झन्डै १ सय ५० जति गीत लेखेका छन्। ३०÷३५ वटा गीतमा संगीत र आवाज छ । केही उनका गीत रेकर्ड भएर पनि बजारमा आउन पाएनन् । केही गीत कापीमै थन्किएका छन् । तर उनको मुख्य पेसा अहिले पनि गीतसंगीत नै बनेको छ।
सबै भएर पनि एक्लो
श्यामसुङ भन्छन्, ‘पहिलो विहे गर्दा उमेर कच्चै थियो। न व्यवहार बुझेको थिएँ न जीवन चलाउन सिरियस हुनुपर्छ भन्ने बुझ्न सकेको थिएँ।’ उनले २० वर्षकै उमेरमा प्रेम विवाह गरेका रहेछन् । न आम्दानीको राम्रो स्रोत थियो न सम्पन्न परिवार थियो, उनको । ३ भाइका कान्छा श्यामसुङ भाडाको घरमा बस्थे । कर्म संगीतकै गर्थे । सांगेतिक कार्यक्रमबाट प्रशस्त पैसा आउँदैनथ्यो । केही वर्षको सहयात्रामा १ छोरा १ छोरी जन्मे तर अभाव र असमझदारीले मायाप्रेमको मृत्यु गराउन थाल्यो । ‘पैसा नकमाएको चाहिँ होइन तर जिम्मेवार बढ्दै गयो । कमाएको घर खर्चमै सकियो । बचत भएन,’ उनले भने, ‘आर्थिक पक्ष बलियो नभएपछि परिवारमा समस्या थपिँदै गयो । श्रीमतिसँग खटपट बढ्यो।’
त्यो खटपटले सम्बन्धलाई विहेको ७ वर्षभन्दा अगाडि धकेलिदिएन। डिभोर्स भयो। उनी रन्थनिए। छोराछोरीको रेखदेख र जिम्मेवारीमा सघाउन त्यसको १ वर्षपछि अर्को बिहे गरे। उनीबाट अर्को एक छोरा जन्मियो। ‘बुबा बितिसक्नुभएको थियो । आमाले सघाउनुहुन्थ्यो तर दोस्रो परिवारिक सम्बन्धलाई पनि अभाव र समस्याले बिथोलिदियो,’ उनले खुइय काडे । एउटै कोठामा बसेर पनि उनीहरुको मन एक भएन । एकै घरभित्रको छुट्टाछुट्टै दुई कोठामा बस्नुपर्दा मुटु चिरिएजस्तै हुँदो रहेछ उनलाई। अहिले ८ वर्षदेखि उनी एक्लै छन्। उनीबाट छुट्टिएका दुवैको अन्तै विहे भइसक्यो।
दुई वटै सम्बन्ध कसरी बिग्रियो त पक्कै पनि तपाईँमा धेरै कमजोरी थियो होला ? ‘गल्ति मसँग पनि थिए । परिवारलाई धेरै समय दिन सक्थिन । कहिलेकाहीँ मात्रै पिउँथे तर पिएर कहिल्यै नराम्रो गरिन । दायाँबाँया अरु महिलालाई हेर्ने, पछि लाग्ने बानी नै थिएन,’ उनले ओठ कपाउँदै भने।
हरेक पुरुषका सफलता–असफलताका पछाडि महिलाको हात हुने उनी बताउँछन्। ‘बाहिरबाट एउटा स्टान्डर्स जीवन देखिनसक्छ तर यो भित्र के बाँचिरहेको छ, के भोगिरहेको छ भन्ने देखिँदैन,’ उनले सुनाए, ‘मेरो रिस चाहिँ अलि चाँडो उठ्थ्यो। बोली र व्यवहार फरक गर्ने मान्छे मलाई मन पर्दैन ।’ भावनाले मन जित्न सकिएला तर जीवन धान्न पैसा नै चाहिने उनको तर्क छ । भन्छन्, ‘यो एड्भान्स जमानामा मेरो आर्थिक अवस्था बलियो भइदिएको भए मेरो न सम्बन्ध बिग्रन्थ्यो, न म एक्लो हुन्थेँ ।’ कोठामा दर्जनौं सम्मान र मायाको चिनो त उनीसँग छ, तर मायाले सुमसुम्याइदिने औंलाहरु छैनन्।
ब्युझिँएर हेर्दा जीवन
निरन्तर लागिरहन सक्यौं तर रेसमा भाग लिन्न भन्ने उनको अठोट रहेछ। थुप्रै अवसरहरु आए। कार्यक्रमकै शिलशिलामा देशविदेश घुमे तर विदेशमै रहेर रमाउँ भन्ने कहिल्यै लागेनछ, उनलाई। ‘न सेलिब्रेटी बन्न कहिल्यै चाहिन, न मोजमस्ती गरौं भन्ने चाहेँ,’ उनले भने। पैसा कमाएर पनि बचाउन नसकेपछि उनी अहिले पनि भाडाकै घरमा छन्। ‘दुवै पटक घरबार बिग्रियो, आमा हुनुहुन्थ्यो, बित्नुभयो । छोराछोरीले राम्रो वातावरण पाएनन्, उमेर घर्कँदै गयो तर समस्या र अभाव उकालैउकालो लागिरह्यो,’ उनले भने, ‘दुई वर्ष त म डिप्रेसनमै गुज्रेँ । औषधी नै खानुपर्यो।’
सबैले चिताएको पुग्यो भने त्यो जीवन के जीवन भन्ने उनको दिमागमा खेल्न थोलेपछि मनले त्यही समस्यालाई अवसर ठान्यो। ‘मन त बुझाउनैपर्छ । मैले जे भोगिरहेको छु त्यो एउटा जीवन बुझ्ने अवसर हो । जे छैन त्यही खोज्यो भने जीवन त झन दुर्घटनामा पर्छ भन्ने मेरो चेत खुल्यो,’ उनी भन्छन्, ‘यस्ता समस्या नआएको भए मैले कहाँ जीवनका यति धेरै आयामहरु सिक्न पाउँथे होला र ?’ जेठो छोरा लेकसाइडकै एक होटलमा गीत गाउँछन् । छोरीको काठमाडौं विवाह भइसक्यो। कान्छो छोरो अहिले बंगलादेशमा डेन्टल पढ्दैछन् । छोराछोरी आफैं गरी खान सक्ने भए अब आफू बलियो बन्नुपर्छ भन्ने मनमा लागेको छ उनलाई।
बाबुनानीलाई नुहाइदिने, एक्लै बसेर खाना कहिल्यै नखाने उनी अहिले पनि तीन दिन सम्झँदा रहेछन् । ‘बाटोमा एक दिन भेट भएर खाजा खाएको व्यक्तिको त याद आउँछ भने लामो जीवनयात्राका सहयात्री भुल्ने कुरै आउँदैन,’ उनी भन्छन्, ‘तर त्यसैमा भुल्यो भने जीवनले गति भुल्छ भन्ने मैले बुझ्ने मौका पाएको छु, म धेरैलाई सल्लाह पनि दिने गर्छु।’
फेरि बिहे गर्ने योजना छ कि ? ‘कहिलेकाहिँ त्यो कुरा पनि मनमा खेल्छ तर अहिलेको एक्लो जीवनमा रमाइरहेको मात्रै छैन केही योजना पनि बनाइरहेको छु। तत्काल गर्दिन केही समयपछि सोचौंला ।’ उनी नयाँ गीतको अडियो, भिडियोको तयारी गर्दै रहेछन्। ‘फूलबारीमा मेरो डेरानजिक आइपुग्दा कुनै गुनगुन नसुनिए पनि गीतारमा गुनगुनाइरहेको मधुर स्वर भने सुन्न सक्नुहुनेछ, जुन स्वर छिट्टै बजारमा आउनेछ,’ उनी मुस्कुराए। भित्री मनको आँखाले अहिले सत्कर्ममा हिँडाएको उनी बताउँछन्।
ड्राइभिङदेखि मेकानिकलसम्म
उनको पुख्र्यौली सम्पत्ति रहेनछ । ‘सुरुदेखि नै हामीसँग प्रशस्त सम्पत्ति थिएन, भएको पनि बुबाबाट हामीसम्म आइपुगेन,’ उनले सुनाए । पढाइ बीचमै रोकिएको बताउँछन्, तामाङ । धेरै कलाकार विदेश पलायन हुने लहर नै चल्यो । उनलाई विदेशिने बाध्यता नआएको होइन तर मनै मानेन । बरु उनले यही सम्भावनाहरु खोज्दै गए । उनी ड्राइभिङ सिक्न काठमाडौं गए, इलेक्ट्रोनिक्स सिक्न बुटवल र फेरि पोखरा फर्केर मेकानिकल सिके । तर उनको गीतसंगीतमा बाहेक अरु कुनैमा मन रमाएन।
‘मलाई जे दियो र जे दिइरहेको छ गीतसंगीतले नै दिएको छ,’ उनले भने, ‘अहिले पनि मलाई गीतसंगीतकै साधनाले खानबस्न समस्या छैन।’ उनले लामो समय विद्यालयमा संगीत शिक्षकको रुपमा काम पनि गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रममा निम्तो आउँछ। विभिन्न सांगेतिक प्रतियोगितामा निर्णायक बस्न बोलावट हुन्छ । पोखराका सुरुका ब्यान्ड चाखेका श्यामसुङले पछिल्लो नयाँ पुस्ताको खुबी पनि जाँचिरहेका छन्।