बागलुङ, ६ फागुन – कृषि तथा घरेलु उद्योगको विकास र पर्यटन प्रवद्र्धनका लागि शुक्रवारदेखि बागलुङमा सडक खाना महोत्सव हुने भएको छ । नेपाल राष्ट्रिय व्यपार संगठनले दोश्रो पटक महोत्सवको आयोजना गरेको हो ।
महोत्सवको उद्घाटनका लागि व्यवस्थापिका संसदका विकास समिति सभापति रविन्द्र अधिकारी आउने विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । स्थानीय उत्पादनको प्रचार तथा व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष पुनमप्रसाद शर्माले जानकारी दिए । सडकमै खाने, सडकमै रमाउने र पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम महोत्सवका लागि तय गरिएको हो ।
जिल्लाका पर्यटकीय र धार्मिक क्षेत्रको प्रचार गर्ने तथा जिल्लामा परंपरादेखि संचालनमा आएका र लोप हुन लागेका कला र संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा १८ वटा खानाका स्टल राखिने छन् ।
ट्राउट माछा, केराका सबै परिकार सहितको स्टल, गोविन्दाज शुद्ध शाकाहारी भोजनालय, खीर स्टल, बंगुर सहित विभिन्न प्रकारका खानाका स्टल रहने बताइएको हो । महोत्सवलाई फेसबुकबाट लाईभ प्रसारण समेत गरिने भएकोले ८० हजारले अवलोकन गर्ने बताइएको छ ।
साथै महोत्सवमा ६० लाखको कारोवार हुने र १० लाख आम्दानी हुने तथा ८ लाख खर्च हुने अनुमान छ । साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गीत संगीत लगायतका प्रस्तुतीकरण समेत रहने बताइएकाने छ । अघिल्ला बर्षको सिकाईबाट व्यवस्थित बनाउने र सडकमै खाने र रमाउने वातावरण सिर्जना गर्ने समेत आयोजकको प्रतिवद्धता छ ।
बागलुङमै शुरु हुने लायन्स क्लबको तेस्रो क्याविनेट बैठकले पनि यो महोत्सवलाई थप रौनक बनाउने बताइएको छ । महोत्सवमा बागलुङका सास्कृतिक महत्व झल्कने खालका हनुमान नाँच, लाखे, जोगी नाँच समेत प्रद्र्धशन गरिने बताइएको छ । अध्यक्ष पुनमप्रसाद शर्माको अध्यक्षता र महासचिव प्रकाश चालिसेको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरिषले बोलेका थिए ।
Previous Articleलायन्स क्लबहरुको तेस्रो क्याविनेट बागलुङमा
Next Article ‘भ्रष्टाचार विकासको बाधक’