बागलुङ, ६ फागुन – सार्वजनिक क्षेत्रमा बढीरहेको भ्रष्ट्राचारले आमनागरिकका लागि गरिने विकासको उचित प्रतिफल पु¥याउन बाधक भएको कार्यक्रमका सहभागिले बताएका छन् । सदाचार निर्माणका लागि भ्रष्ट्राचारीलाई कारवाही गर्ने मात्र नभइ आचरण सुधारमा पहल गर्नुपर्ने समेत उनीहरुको जोड छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराले बागलुङमा विहिवार आयोजना गरेको ‘अख्तियार दुरुपयोग नियन्त्रणमा आयोगको भूमिका’ बिषयक अन्तरक्रियामा सहभागि र आयोगका अगुवाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा आयोगका पोखरा प्रमुख जानकी बल्लभ अधिकारीले आममानिसमा भ्रष्ट्राचार गर्नु हुँदैन भन्ने चेतनाको विकास गर्ने र नैतिक रुपमा दवाव नदिएसम्म न्युनिकरण गर्न नसकिने बताइन् । भ्रष्टाचार न्युनिकरणमा कर्मचारीतन्त्र, राजनीतिक दल र सर्वसाधारण समेतले कानून उलंघन गर्ने बदनीयत राख्न नहुनेमा अधिकारीको जोड थियो । ‘पढेलेखेकाहरुबाटै भ्रष्ट्राचार भैरहेको देखिएको छ तसर्थ चेतनाको विकास गर्न जरुरी भयो’ अधिकारीले भनिन्, ‘त्यसका लागि जवाफदेहिता बनाउनुनै पहिलो काम हो ।’ जवाफदेहिताको अभावमा देशको विकास र समृद्धिमा अवरोध आएको उनको ठहर छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले कारवाही नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । साथै उनले भ्रष्टाचारीको मनोबल बढेर जाने वातावरण सिर्जना नगर्नका लागि अख्तियारको अझै सक्रियता आवस्यक भएको पनि बताए । आर्थिक पारदर्शिता कायम गर्न सकियो भने भ्रष्टाचार धेरै अन्त्य हुने उनको धारणा छ । प्रजिअ भएर आएपछि आएका गुनासा तत्काल सुनेर समस्या निवारण गर्ने काममा लागेको उनले बताए । कार्यक्रममा सहभागिको तर्फबाट विभिन्न क्षेत्रका अगुवाहरुले कालीगण्डकी नदी दोहन भैरहेपनि अख्तियार र अन्य निकायले नहरेको, शिक्षा, स्वास्थ्य र सरसफाई लगायतको क्षेत्रमा भएका अनियमितता बारे चासो कम भएको र गएका उजुरीमा पनि सुनुवाई नभएको गुनासो समेत गरेका थिए । पछिल्लो समय कालीगण्डकी नदीमा ढुंगा, गिटी उत्खनन् गर्ने क्रममा दोहन भैरहेको पाइएको हो । प्रशासन र अन्तियारले चासो नराख्दा वातावरण प्रदुषण र सास्कृतिक क्षेत्रहरु लोप हुने संभावना बढेको पनि बताए । आयोगले सरकारी तथा सार्वजनिक सेवामा भएका अनियमितता र भ्रष्ट्रचार प्रति बढी चासो राख्ने र आम जनताले पनि ती क्षेत्रमा बढी गुनासा पठाएको घिमिरेले बताए । अनुसन्धान र अभियोजन गरेपनि कारवाही गर्ने निकाय सरकार भएकोले कतिपयले उन्मुक्ति पाएको पनि उनले बताएका थिए । सूचना र श्रोतको सुरक्षा गर्ने कामलाई प्रभावकारी बनाउन सकियो भने मात्र अन्तियारमा उजुरीहरु बढ्ने पनि सहभागिको मत थियो । अख्तियारले सूचनाको व्यापक प्रयोग गर्दै सामाजिक न्याय र सुरक्षा दिने र भ्रष्ट्राचार न्युनिकरणका लागि शुन्य सहनशिलता अपनाउने काम गर्दै आएको घिमिरेको मत छ । सबै क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउन सकेमा भ्रष्ट्राचार अन्त्यनै गर्न सकिने पनि अन्तियारको अभियान छ । अख्तियारका अनुसार हाल बागलुङका विभिन्न सरकारी कार्यालयले गरेका भ्रष्ट्राचार विरुद्ध २९ वटा मुद्दा परेको बताइएको छ । ती मध्ये शिक्षा, स्वास्थ्य, खानेपानी, वन र नगरपालिका लगायतका छन् । ती सबै घटनालाई गम्भिर ढंगले अध्ययन गर्दै भ्रष्ट्राचार नियन्त्रणको काम गरिरहेको बताइएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, अख्तियारको क्षेत्रीय कार्यालयका प्रतिनिधिहरु र जिल्लाका सरोकारवालाले बोलेका थिए ।