म्याग्दी, २ फागुन/पन्थी डेरीको बेनीको अस्पताल चोक स्थित बिक्री केन्द्रमा बजार अनुगमन टोलीले आईतबार सिलबन्दी गरेको छ । म्याद नाघेको पोका दूध र दही बिक्रीका लागि राखेको पाइएपछि आपूर्ती मन्त्रालय र स्थानीय सरोकारवालाहरुको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो । म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि राखेको र कतिपय पोकामा उत्पादन मिती समेत नरहेकाले सामान बरामद गरि फ्रिजमै सिलबन्दि गरेको मन्त्रालयका शाखा अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार प्लास्टिकमा प्याक गरीने दूध दहिको उपभोग्य समय ४८ देखि ७२ घण्टा हुन्छ । सो पसलमा बिक्रीका लागि राखिएको दूध, दहिको पोकामा लेखिएको उत्पादन मिती २०७३ माघ २२ गते रहेको छ । म्याद नाघेको एक हजार लिटर भन्दा बढी दूध, दही बिक्रीका लागि राखेको भेटिएको थियो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने किसीमले सामान बिक्रीका लागि राखेकाले सिलबन्दि गरि प्रशासनमा बोलाइएको सहायक प्रजिअ शोभाखर पोख्रेलले जानकारी दिए । यसैबीच बेनीका पेट्रोल पम्पहरुमा न्युनतम पूर्वाधार पनि नभएको र सावधानी नअपनाएको अनुगमन टोलीले जनाएको छ । अग्नी नियन्त्रक उपकरण राख्नुपर्ने, शौचालय, पानी टंकी लगायतका मापदण्ड बिनै पेट्रोल पम्प सञ्चालन भएको पाइएकाले सुधार गर्न टोलीले निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव डिलकुमार खड्का, ईश्वरकुमार गिरी, शाखा अधिकृत बास्कोटा सहित स्थानीय प्रशासन, प्रहरी, सम्बन्धित कार्यालय र उद्योग वाणिज्य संघका पदाधीकारीहरुको टोलीले बजार अनुगमन गरेको थियो । पेट्रोल पम्प, औषधि पसल, डेरी, खाद्यान्न पसलहरुको अनुगमन गरिएको हो ।