काठमाडौं, २८ माघ – मिस नेवा: ११३७ को ताज इशु श्रेष्ठले पहिरेकी छन् । राजधानीमा बुधबार भएको १२ औं संस्करणको ग्रान्ड फिनालेमा उनले मुलुकभरका २७ प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । शीर्ष उपाधिसँगै उनले ३० हजार रुपैयाँ र चाँदीको ताज पाइन् । ओजस्वी श्रेष्ठ फस्ट रनरअप र सृष्टि खड्गी सेकेन्ड रनरअप भए । दुवैले क्रमश: २० हजार र १५ हजार रुपैयाँसहित ताज पाए ।
रोज महर्जन मिस टयालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपालभाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट, विनीता डंगोल मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठ मिस चार्मिङ, क्रिजना डंगोल बेस्ट स्माइलसँगै सामाजिक सद्भाव दूत घोषणा भए । त्यस्तै, लेनिना बज्रचार्यले बेस्ट स्किनको टाइटल जित्दा समिता श्रेष्ठले बेस्ट हेयर, सलिना श्रेष्ठले मिस डिसिप्लिन, पल्पसा श्रेष्ठले मिस पर्सनालिटी, ओमिजिना महर्जनले मिस पब्लिक च्वाइस टाइटल पाए । मिस सोसल वेलफेयर एम्बेस्डरमा भने समिता श्रेष्ठ र मोरिना मानन्धर घोषित भए ।
उद्योग राज्यमन्त्री कञ्चन बादेले उनीहरूलाई पुरस्कार बाँडे । प्रतियोगिता निर्णायकमा पूर्वमिस नेपाल एलिशा बज्राचार्य, बैंकर प्रदीपमान प्रधान, कार्टुनिस्ट रविन सायमी, चिकित्सक शिक्षिता श्रेष्ठ, नमुना कलेज अफ फेसन टेक्नेलजीका उपप्रमुख जीवेश्वरलाल श्रेष्ठ र नेपाल बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ थिए ।
नेवार समुदायका सांस्कृतिक, मौलिक ज्ञान एवं अभ्यासलाई नयाँ पुस्तामा प्रवद्र्धन गर्ने उद्देश्यसहित मिस नेवा:ले निरन्तरता पाउँदै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् । ग्रान्ड फिनालेमा गायिका निशा देशारले गायन र नेवा: डान्स एकेडेमीका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
Previous Articleसुन तस्करी प्रकरणमा व्यवसायीले घर छोड्न थाले
Next Article पश्चिमाञ्चलको दुवै भलिबल प्रतियोगितामा हार