कास्की, २८ माघ – पोखरामा जारी अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै महिलातर्फ न्यु डायमन्ड एकेडेमीको भेट सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग हुने भएको छ ।
पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ आर्मी र महिलातर्फ न्यु डायमन्डले सेमिफाइनलमा सफलता पाएका थिए । दुवैले आयोजक पश्चिमाञ्चलको टिमलाई हराए । पुरुषतर्फ पुलिस र महिलातर्फ एपीएफ क्लब अघिल्लो दिनै फाइनल पुगिसके । फाइनल शनिबार हुनेछ ।बिहीबार पुरुषतर्फ आर्मीले पश्चिमाञ्चललाई २५–२०, १६–२५, २५–१३, २५–२० को सेटमा हराएको हो ।
आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ द म्याच भए । आर्मीका प्रशिक्षक जगदीश भट्टले खेलाडीको ‘ओभर कम्फिडेन्स’ का एक सेट विपक्षीले जित्ने मौका पाएको बताए । ‘खेलाडीको प्रदर्शनप्रति सन्तुष्ट छु । पहिलो सेटपछि खेलाडीमा जितिहालिन्छ भन्ने भावनाले दोस्रो सेटमा पछि परियो,’ उनले भने, ‘तर पछि लयमा फर्कियौं ।’
पश्चिमाञ्चलका प्रशिक्षक कृष्ण थापाले राम्रा खेलाडीको अनुपस्थितिले अन्तिम अवस्थामा नोक्सान भएको बताए । पश्चिमाञ्चलको महिला टिम सेमिफाइनलमै पराजित भएको हो । घरेलु टिमले न्यु डायमन्डसँग ३–१ को सेटमा खेल गुमाएको थियो । प्रतिभा मालीको न्यु डायमन्ड २५–१९, २५–१७, १७–२५, २५–११ ले विजयी भयो । प्रतिभा वुमन अफ द म्याच घोषित भइन् ।
पश्चिमाञ्चलकी प्रशिक्षक कौशिला खत्रीले एकै ठाउँ बसेर खेलाडीले प्रशिक्षण गर्न नपाउँदा हारेको बताइन् । उनले भनिन्, ‘सबै एकै ठाउँ भए ट्ेरनिङ गर्न पाएको भए फाइनल टाढा थिएन ।’