सन्तोष गौतम
म्याग्दी, २७ माघ
जिल्लाको सदरमुकाम बेनीदेखि हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक कालोपत्रे र स्तरवृद्धि हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले बेनी–जोमसोम सडक स्तरवृद्धिका लागि तीन अर्ब पाँच करोड रुपैयाँ लागतको आायोजना सुरु गरेको हो । ७८ किलोमिटर दुरीको सडकलाई फराकिलो बनाइ कालोपत्रे गर्नका ठेक्का प्रक्रिया सुरु गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । यही आर्थिक वर्ष २०७३रु७४ बाट चार खण्डमा विभाजन गरेर आयोजनाको काम हुने भएको छ । सुवेदीका अनुसार दस मिटर फराकिलो र दुई लेनको हुने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने भएको छ । माघ दोस्रो हप्ता ठेक्का प्रक्रिया सुरु भएको आयोजनाको काम आगामी तीस महिनामा सक्ने लक्ष्य छ । आयोजना अन्तरगत विभिन्न ठाउँमा रहेका बेलीब्रिज विस्थापित गरी मोटरेबल पक्की पुल निर्माण गर्ने योजना छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तर्गतको म्याग्दी–मुस्ताङ खण्डको काम गर्न सञ्चालित आयोजनाको कार्यालय जोमसोममा स्थापना भएको छ । हाल कच्ची अवस्थामा रहेको बेनी–जोमसोम सडक वि.सं. २०६४ मा नेपाली सेनाले ट्रयाक खोलेर वि.सं. २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । संघीय संरचना अनुसार प्रदेश नम्बर ४ को भाग्यरेखा मानिएको यो सडकले पुर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए । हिमालपारिको जिल्ला जोमसोम–कोरला सडकमा पनि तीन अर्ब लागत अनुमान
यसैगरी तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको एक सय १० किलोमिटर दुरीको जोमसोम–कोरला सडक स्तरवृद्धिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन् । सडकलाई ११ मिटर फराकिलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने कामका लागि सातवटा खण्डमा विभाजन गरिएको छ ।
Previous Articleस्ववियुको निर्वाचनले क्याम्पसमा चहलपहल
Next Article तारामा व्यापार संगठनको भेला