बागलुङ, २७ माघ/स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा चलहपहल बढेको छ । विद्यार्थीको नेतृत्वदेखि राजनीतिक दलका नेता सम्मलाइ क्याम्पसको गतिविधि नियाल्ने र आफ्नो पक्षको विद्यार्थी जिताउने अभियान पनि शुरु भैसकेको छ । चुनाव आउन १५ दिन मात्र बाँकी रहेकोले निर्वाचन केन्द्रीत गतिविधि, स्वागत, विभिन्न अतिरिक्त क्रियाकलाप गरेर विद्यार्थीहरुले आफ्नो उपस्थिति देखाउन थालेका छन् । लाखौं रुपैयाँ खर्च गरेर नयाँ विद्यार्थी भर्ना गर्ने चलन भने यो बर्ष खासै भएको पाइएन । अघिल्लो बर्ष पनि स्ववियु निर्वाचन हुन्छ भनेर एक डेढ सय विद्यार्थी भर्ना गरेका संगठनहरु अहिले पनि होला नहोला भनेर अलमलिंदा फर्जी भर्ना भने हुन नपाएका हुन् । बरु अन्यौलका बिच स्ववियु निर्वाचन घोषणा भएकोले नियमित विद्यार्थी र क्याम्पसमा पढ्न गइरहेको तर पहिलो बर्षमा भर्ना भैनसकेका हरु पनि छुटेका छन् । त्यस्तै यस अघिको सबै प्रावधान छाडेर २८ बर्ष सम्मका विद्यार्थी मात्र स्ववियु निर्वाचनको उमेदवार बन्न पाउने भएपछि अझै प्रतिष्पर्धा बढेको छ । यो पटक प्रत्यक्ष निर्वाचन मात्र नभएर समावेशी उमेदवारी समेत पर्ने भएकोले मिश्रिम प्रणालीको निर्वाचन हुँदैछ । जसका कारण महिला, दलित, जनजाती र अल्पसंख्यकहरुले पनि क्याम्पस तहमा समेत प्रतिनिधित्व पाउने संभावना छ । राजनीतिक खिचातानीले अस्तव्यस्त भएको भनिएको त्रिभुवन विश्व विद्यालयको स्ववियु निर्वाचन भएमा स्ववियु काउन्सिल र त्रिवि सभामा विद्यार्थीको प्रतिनिधित्व भइ केही अनियमितता कम हुने विश्वास पनि गरिएको छ । २०६५ पछि पहिलो पटक हुन लागेको निर्वाचन भएकोले लामो समयसम्म त्रिविमा अस्तव्यस्तता छाएको थियो । विद्यार्थी प्रतिनिधित्व अभावमा मनोमानी निर्णय पनि भैरहेका थिए । तर विद्यार्थी संगठनमा पनि तानातानको अवस्था सिर्जना भएको समेट टिप्पणी हुन थालेको छ । सोझा साझा विद्यार्थीलाइ सबै संगठनले आफ्नो पक्षमा नाम राखेर सार्वजनिक गरिदिने, अनावस्यक तनाव दिने गरेको गुनासो पनि आउन थालेको छ । तर पनि निर्वाचन हुने भएपछि क्याम्पसमा विद्यार्थीहरुका ठूला व्यानर, झण्डाले झकीझकाउ भैरहेका छन् भने विहान गएर चिया पिएर फर्कने विद्यार्थी नेताहरु दिनभरीनै वरपर भेटिन थालेका छन् । धौलागिरीमै एकमात्र आंगिक क्याम्पस भएकोले धौलागिरी बहुमुखी क्याम्पसमा धेरैको ध्यान केन्द्रीत समेत भएको छ । यहाँ नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं र अन्य विद्यार्थीहरु चुनावी प्रतिष्पर्धामा छन् । निर्वाचन घोषणाले विद्यार्थीमा उत्साह थपिएको भन्दै विद्यार्थी नेताहरुलेपनि राजनीतिक चेतना विकासमा सहयोग पुग्ने बताएका छन् । नियमित कार्यक्रम र छलफलले विद्यार्थीहरुमा राजनीतिक बारेको बुझाइ विकास हुने विश्वास लिएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्ग थापाले बताए । ‘विद्यार्थीको हक हितमा काम गर्ने उमेदवारको रोजाइ र सबैलाइ जागरण ल्याउने अभियानमा जुटेका छौं’ थापाले भने, ‘यस अघि पनि लगातार जितेको स्थान र सबैको सदभाव भएकोले संघकै अगुवाईमा निर्वाचन परिणाम आउने गरी काम गरेका छौं ।’ उनले सबै कार्यकर्ताहरु एकजुट भएर प्रचार अभियानमा लागेको पनि बताए । अनेरास्ववियुका जिल्ला अध्यक्ष शेखर खड्काले निर्वाचन लक्षित कार्यक्रम थालिएको बताए । क्याम्पसमा अखिलको प्रारम्भिक कमिटि गठन भएको र संगठन विस्तार अभियान संचालन गरिएको बताए । ‘यो पटक चुनाव जित्ने तयारीका साथ लागेका छौ’ उनले भने, ‘आचार संहितालाइ पनि पालना गर्दै अगाडि बढ्ने योजनामा छौं ।’ सांगठनिक आधार कायम छ । निरन्तर फलोअप, नेटवर्क,क्रियाशिल छ । सिफ्टकमिटि बनाइरहेको, शैक्षिक सवाल मुद्धामा लागेकोले बिजय सुनिश्चित छ । अखिल क्रान्तिकारीका अध्यक्ष जीवन शर्माले विद्यार्थीको मागमा वास्तविक विद्यार्थी आउनुपर्ने धारणा राखे । उनले विद्यार्थीकै नेतृत्व भएमा मात्र पेशागत माग पुरा हुने पनि बताए । उमेरको हदवन्दी तोकिनुले विद्यार्थीको पेशगत हित भएको पनि बताए । ‘तोकिएकै समयमा निर्वाचन गर्न अहिले सम्म एकल प्यानलकै तयारीमा छौं’ उनले भने, ‘ फागुन १४ गते निर्वाचन नभएमा क्याम्पसमा साझा मंच बनाएर जानुपर्छ भन्ने हाम्रो बिचार छ ।’ अखिल छैठौंका अध्यक्ष सागर कुँवरले पनि निर्वाचन मुखी अभियान संचालन गरिरहेको बताएका छन् । विखण्डनबाद विरुद्धको संघर्षलाइ चुनावी रुपमा प्रयोग गर्ने र राष्ट्रिय एकताको पक्षमा सबैलाइ जागरुक गर्ने छैठौंको अभियान भएको उनले बताए । ‘युवा विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने अभियान स्वरुप अगाडि बढ्छौं’ उनले भने, ‘शिक्षाको असमानता अन्त्य गर्न शैक्षिक समानता पनि एजेण्डा हाम्रो छ ।’ बामपन्थी एकतामा विश्वास गर्ने भएकोले संयुक्त प्यानल बन्ने संभावना उनले बताए । तर एकल तयारी भैरहेको उनको भनाइ छ ।
Previous Articleप्रभावकारी छैन प्रहरीको १०० नम्बर
Next Article बेनी–जोमसोम सडक स्तरवृद्वि हुने