पर्वत, २७ माघ/तपाई पर्वतमा रहेर केही घटना दुर्घटना प्रहरीलाई जानकारी गराउँदै हुनुहुन्छ १०० मा फोन गर्दा सचेत रहनुहोस् । जिल्ला प्रहरी कार्यालय पर्वतमा रहेको हटलाईन नम्बर १०० को फोन पर्वतमा नभएर अन्यत्र पुगेको हुनसक्छ । प्रहरीले कुनै अपराधिक क्रियाकलाप घटेमा १०० मा खबर गर्नुहोस् त भन्छ तर त्यो फोनमा डायल गर्दा नजिकको प्रहरी कार्यालयमा पुग्दैन । सन्दर्भ पर्वतको हो । केही महिना अघि देखि पर्वत प्रहरीको फोनमा यस्तो समस्या देखिन थालेको हो । कुनै घटना सम्बन्धि प्रहरीलाई जानकारी गराउन खोज्दा पटक–पटक महानगरीय प्रहरी कन्ट्रोल रानीपोखरीमा पुग्छ । ल्याण्ड फोनबाट सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क भएपनि नेपाल टेलिकमको मोबाइल फोनबाट प्रहरीमा सिधा सम्पर्क नहुने गरेको छ । रानीपाखेरी प्रहरीले पर्वत लगायत बागलुङ र म्याग्दीको फोन समेत आउने गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले काठमाण्डौबाट जारी भएको मोबाइलबाट प्रायजसो समस्या देखिने गरेको र पटक पटक नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि समस्याको समाधान हुन नसकेको बताए । उनले पुनः टेलिकमलाई यस सम्बन्धि जानकारी गराउने बताए । यता नेपाल टेलिकम पर्वतले यस सम्बन्धि कुनै जानकारी नआएको बताएको छ । टेलिकम पर्वतका प्राविधिक प्रमुख केशव भूसालले हटलाइन समस्याका बारेमा केही जानकारी नपाएको र समस्याका बारेमा सम्बन्धित ठाउँमा जानकारी गराएर समाधानको विकल्प खोज्ने बताए ।
Previous Articleसचेतनामुलक कार्यक्रम
Next Article स्ववियुको निर्वाचनले क्याम्पसमा चहलपहल