म्याग्दी, २६ माघ – जिल्लाको सदरमुकाम बेनीस्थित खुलामञ्चमा मङ्गलबारदेखि गाविस तथा नगर वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
‘न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले युवाहरु देश विकासका खम्बा भएकाले सामाजिक परिवर्तनमा लाग्नुपर्ने बताए ।
उनले खेलकुदको माध्यमबाट युवाहरुलाई सामाजिकीकरण सहभागी बनाउनुपर्ने बताउँदै समाजमा रचनात्मक भूमिका निर्वाह गर्न गर्नुपर्ने बताएका छन् । नेता थापाले जस्तोसुकै परिस्थिति आए पनि नेकपा एमालेले देश टुक्राउन नदिने भन्दै वर्तमान सरकार संविधान कार्यान्वयन र स्थानीय निकायको चुनावमा केन्द्रीत हुनुपर्नेमा अर्कैको इशारामा लागेर संविधान संशोधन गर्न लागिपरेको आरोप लगाए । संविधान संशोधन नेपाली जनताले नचाहेको विषय भएको भन्दै राजनीतिक सहमति कायम गरी संविधानको कार्यान्वयन र चुनावमा लाग्नुपर्ने उनको भनाई थियो ।
आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाको नगर तथा गाविसबाट पुरुष २२ र महिला १० टिमको सहभागीता रहेको युवा संघ म्याग्दीले जनाएको छ । यसैबीच अनेरास्ववियु र युवा संघ म्याग्दीको बिचमा मङ्गलबारै भएको मैत्रीपूर्ण भलिबल खेलमा युवा संघले अनेरास्ववियुलाई पराजित गरेको छ ।
प्रतियोगिताको अन्य खेलहरु भने बुधबार बिहानदेखि हुने युवा संघ म्याग्दीका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो । प्रतियोगिताको उद्घाटनसत्रमा एमालेका जिल्लास्तरका नेता, युवा संघका नेता, कार्यकर्ता, विद्यार्थी, पत्रकारको सहभागीता रहेको थियो ।
कार्यक्रम युवा संघका अध्यक्ष शाहीको अध्यक्षता, सचिवालय सदस्य रेशम छन्त्यालको स्वागत र प्रचार विभाग प्रमुख कमल बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।