सुर्केमेला युवा क्लबको आयोजनामा बेनी नगरपालिका–४ सुर्केमेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । महिला तथा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताका साथै विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरएको सुर्केमेला युवा क्लबका अध्यक्ष युवराज रोकाले जानकारी दिनुभयो ।
खेल प्रतिभाको प्रष्फुटन र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सेभेन ए साइड फुटबलमा जिल्ला भित्र तथा बाहिरका गरी २४ टिमको सहभागिता रहेको छ ।
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अण बहादुर खडकाले उदटन गर्नुभएको थियो । उहाँले विगतमा भएका प्रयासहरु केही असफल भएका भए पनि अगामी दिनमा त्यस्तो हुन नहुने बताउनुभएको थियो । अध्यक्ष खड्काले सुर्केमेलामा स्थापना भएका पहिलाका दुई वटा क्लबहरु सक्रिय हुन नसकेको स्मरण गर्दै आगामी दिनमा कुनै पनि संघसंस्थाहरु हराउन नहुने बताउनुभएको थियो ।
कार्यक्रममा एनआरएन न्यूजिल्याण्डका अध्यक्ष लालबहादुर केसी, वडा सदस्य सन्दिप खत्री, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ, म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्ती लगायतले मन्तव्य राख्नु भएको थियो । क्लबका अध्यक्ष युवराज रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्थानीय अगुवा खड्कबहादुर पुनले गर्नुभएको थियो ।
पुरुष तर्फ २४ टिम सहभागी भएको प्रतियोगितामा पहिलो पुरस्कार ८० हजार तथा दोश्रो पुरस्कार ४५ हजार रुपैंयाँ नगद सहित ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ ३० हजार रुपैया पहिलो र २० हजार रुपैयाँ दोश्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।