अलेक्जेन्डर मर्कुरिस
अमेरिका अब थाकेछ । त्यहाँको राष्ट्रपतीय निर्वाचन र डोनाल्ड ट्रम्पको राष्ट्रपतिकालको तीन हप्तामा भएका घटना र तिनमाथि उठेका प्रतिक्रियाबाट यो निष्कर्ष निकाल्न सकिन्छ । अमेरिकाले दशकौंदेखि गर्दै आएको व्यवहारका कारण अन्ततोगत्वा ऊ थाक्ने सुनिश्चित थियो । अमेरिकी सरकारले दोस्रो विश्वयुद्धपछि असाधारण रूपमा विदेशनीतिमा जोड दियो ।
यो कुनै पनि देशका लागि असाधारण कुरा हो र यही विदेशनीतिमा जोडका कारण अमेरिकाको अर्थतन्त्र र समाजको वर्तमान संरचना बनेको हो । अमेरिकी नेतृत्वले विदेशनीतिमा असामान्य चासो देखाएकाले आफ्नै देशका आवश्यकतालाई नजरअन्दाज गर्दै गयो । अनि देशमा समस्याहरू क्रमशः थुप्रिँदै गए ।
दोस्रो विश्वयुद्धअघिको आफ्नो नीतिको विपरीत अमेरिकाले ठूलो खर्चमा विशाल सैन्य शक्ति बनाएको छ र उसका धेरै सैन्यआधारइलाका अन्य देशमा छन् ।
दोस्रो विश्वयुद्धअघि अमेरिकामा नागरिकहरूको संख्या धेरै थियो भने अहिले आएर लाखौं अमेरिकीहरूले सैन्य अनुभव लिइसकेका छन् । अनि अमेरिकी समाज र राजनीतिक विमर्श असाधारण रूपमा सैनिकीकरण भएको छ ।
यो विशाल सैन्य संरचनाका अलावा अमेरिकाले जासूसीको ठूलो सञ्जाल फैलाएको छ । इतिहासमै यति ठूलो सञ्जाल निर्माण भएको थिएन । सन् १९२९ मा अमेरिकी विदेशमन्त्री हेनरी स्टिमसनले ‘सज्जनहरूले एकअर्काको पत्र पढ्दैनन्’ भन्दै साइफर (गोप्य सन्देश) ब्युरो बन्द गराएका थिए । आजकल अमेरिकाको जासूसी संस्था नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) चाहिँ सबैको इमेल पढ्न खोज्छ ।
एनएसएले प्रिजम प्रणालीमार्फत संकलन गरेको विदेशीको इमेल सन् २००८ मा अमेरिकाको अनुसन्धान संस्था एफबीआईले समीक्षा गर्ने अधिकार पाएको थियो ।
यसका अलावा अरू देशका र अन्य समयका जासूसी संस्थाभन्दा विपरीत दोस्रो विश्वयुद्धदेखि अमेरिकी जासूसी संस्था ‘प्रत्यक्ष कारवाही’ (अर्काको देशमा कू गर्ने अनि अन्य किसिमको हस्तक्षेप गर्ने) काममा व्यस्त छ । इतिहासको कुनै पनि समयमा कुनै पनि देशले अर्काको मामिलामा यति धेरै हस्तक्षेप गरेको थिएन ।
अमेरिकाको सैन्य र जासूसी समुदायलाई गैरसरकारी संस्था, थिंक ट्यांक, बुद्धिजीवी, पत्रकारका साथसाथै विशाल वैज्ञानिक र औद्योगिक प्रणालीले सहायता गर्छ । अनि संस्थापनको यही परिधिमा रहेको कूटनीतिक क्षेत्र पनि ह्वात्तै बढेको छ । सन् १९४० मा दुई हजारभन्दा कम संख्यामा रहेका कूटनीतिज्ञहरू अहिले लगभग सोह्र हजार छन् ।
यी सबैको आर्थिक र वित्तीय मूल्य विशाल छ । अमेरिकाको संघीय बजेटको १६ प्रतिशत हिस्सा सैन्य खर्चमै सकिन्छ । अनि अमेरिकाको विज्ञान र निर्माण क्षेत्रको ठूलो हिस्सा सैन्य उत्पादनमा खर्च हुन्छ, त्यसैले नागरिकलाई हित गर्ने वस्तु निर्माणमा अमेरिकालाई मतलब छैन । सैन्य खर्च त एउटा पाटो मात्र हो ।
अरू देशहरूलाई आफ्नो गठबन्धनको जटिल सञ्जालमा बाँध्नका लागि अमेरिकाले दोस्रो विश्वयुद्धपछि सुरक्षात्मक आर्थिक नीतिलाई पल्टाएर अरू देशका सामान आफ्नोमा भित्र्याउने हिसाबले अर्थतन्त्र खुल्ला ग–यो ।
अहिले अमेरिकाले आफूलाई संसारको वित्तीय प्रणालीको केन्द्रमा राखेको छ । सन् १९४४ मा उसले आफ्नो मुद्रा डलरलाई विश्व व्यापारको केन्द्र बनाउन जोड दिएको थियो ।
यससँगैका अन्य आर्थिक नीतिका समस्याका कारण अमेरिकामा आयातको मात्रा बढ्दै गयो अनि उद्योग कलकारखाना अरू देशमा सर्दै गए ।
यस सँगसँगै विशाल सैन्य संरचना अनि विदेशनीतिमा जोड दिने नेतृत्वका कारण युद्धहरू बढेको बढ्यै छन् ।
पहिलो र दोस्रो विश्वयुद्धमा अमेरिका प्रायः युद्धमा अल्झिएन तर दोस्रो विश्वयुद्धपछि, विशेषगरी सन् १९९० पछि, ऊ निरन्तर युद्धमै छ । ओबामा प्रशासनकालमा त अमेरिकी सैन्य कारवाही नभएको दिन नै थिएन ।
यो उन्मादी गतिविधि र यससँग जोडिएका आर्थिक र सैन्य नीतिको खर्च अमेरिकी जनताले उठाउनुप–यो । त्यसैले त्यहाँका जनतालाई कर तिर्न लगाइन्छ अनि विदेशमा बनेका वस्तु किन्न लगाइन्छ र छोराछोरीलाई विदेशमा युद्ध लड्न पठाइन्छ ।
यी नीतिहरूले अमेरिकीहरूको जागिर खोस्ने काम मात्र गरे, बदलामा केही दिएनन् । अनि यी नीतिको भौतिक र मनोवैज्ञानिक फाइदा चाहिँ सीमित सम्भ्रान्त वर्गले मात्र उठाए । यस्ता सम्भ्रान्तहरू वाशिङटन र केही तटीय इलाकाका शहरमा बस्छन् ।
वास्तवमा जुनसुकै साम्राज्यको नियति नै यही हो । साम्राज्यले उठाउने नाफा केही सीमित सम्भ्रान्तको हातमा पुग्छ र साम्राज्यको बढ्दो खर्च चाहिँ आमजनताले उठाउनुपर्छ ।
यसको परिणामस्वरूप सामाजिक तथा आर्थिक असमानता बढ्छ र समय बित्दै जाँदा वर्गीय द्वन्द्व बढ्छ । अन्ततोगत्वा साम्राज्य चलाउनका लागि चाहिने खर्च उठाउन जनतालाई गाह्रो हुन्छ र उनीहरू विद्रोह गर्छन् । त्यसपछि उनीहरू साम्राज्य अन्त्य गर्न माग गर्छन् र देशको आवश्यकतामा जोड दिन लगाउँछन् ।
सन् १९४० को दशकमा बेलायतमा यही भएको थियो र डोनाल्ड ट्रम्पको विजयपछि अमेरिकामा पनि यही भइरहेको छ । साम्राज्य त्याग्दा बेलायतको सम्भ्रान्त समाजले ठूलै चिन्ता देखाएको थियो र त्यसका परकम्पहरू अझै महसूस हुँदैछन् । तर यो संक्रमणलाई बेलायती समाजले राम्ररी सम्हाल्यो । दोस्रो विश्वयुद्धमा बेलायती गठबन्धनले जितेकाले पनि उसलाई संक्रमण प्रक्रिया सम्हाल्न सजिलो भयो । तर अमेरिकाले साम्राज्यबाट पछि हट्नका लागि गर्नुपर्ने व्यवस्थापन ठूलै चुनौतीका रूपमा रहेको छ ।
अहिले त लक्षणहरू शुभ देखिँदैनन् । अमेरिकाको सम्भ्रान्त समाज नयाँ राष्ट्रपतिका सबै नीतिको घोर विरोध गरिरहेको छ । राष्ट्रपति आफैंलाई पनि पछि हट्ने यो प्रक्रियाको बारेमा पूर्ण ज्ञान छ जस्तो देखिँदैन ।
सन् १९०२ मा बेलायतको साम्राज्यवादी मिसनमाथि गम्भीर प्रश्न उठ्दा त्यहाँका साम्राज्य सचिव जोसेफ चेम्बरलेनले बेलायत ‘थकित महायोद्धा’ भएको भनी बिलौना गरेका थिए ।
अमेरिकाका सम्भ्रान्तहरूले आफ्नो देश थकित महायोद्धा भएको स्वीकारेमा मात्र त्यस देशको भविष्य सुखमय छ । आफूलाई अरूभन्दा फरक देशका रूप नलिएर सामान्य मुलुक ठान्नु अनि आराम गर्नु अमेरिकाको हितमा छ ।
मानवअधिकार र संवैधानिक कानूनका ज्ञाता अलेक्जेन्डर मर्कुरिसले स्पुतनिकन्युजमा प्रकाशन गरेको लेख ‘अमेरिका इज टायर्ड’ को सम्पादनसहितको अनुवाद । अनुवादक – विन्देश दहाल
Previous Articleमहासंघको अधिवेशनले तातेको बागलुङ बजार
Next Article सुन तस्करसँग मिलेरै बनेका अर्बपति