म्याग्दी, २५ माघ – दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले ज्यालामजदुरी गरी परिवारको गुजरा चलाउने एक महिलालाई खाद्यान्न साम्रागी सहयोग गरेको छ ।
सहकारीको पाँचौ स्थापना दिवसको अवसरमा लमजुङ जिल्ला स्थायी घरभई हाल पर्वतबेनीमा ज्यालामजदुरी गरेर ६ जना छोराछोरीको गुजारा चलाइरहेकी लक्ष्मी आचार्य क्षेत्रीलाई सोमबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको प्रमुख आथित्यतामा चामल, तेल, नुन, दाल, चिनी, सावुन लगाएतका खाद्य साम्रागी हस्तान्तरण गरिएको थियो । आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्यालामजदुरी गरेर परिवारको खर्च धान्दै आएकी आचार्य क्षेत्रीको दयनीय अवस्थालाई मध्यनजर गरेर सहकारीले मुठीदान कार्यक्रम मार्फत सहयोग हस्तान्तरण गरेको थियो ।
स्थापना दिवसकै अवसरमा बोनम्यारो तथा ब्लड क्यान्सरबाट ग्रसित भगवतीकी कृष्णकुमारी भण्डारीको उपचारमा १५ हजार ५५५ आर्थिक सहयोग कृष्णकुमारी बचाउन अभियानका अभियान्ता कलम खत्रीलाई हस्तान्तरण गरिएको थियो । महिलाको लगानी र ब्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित सहकारीले हालै जिल्लामा सरुवा भएर आएका प्रजिअ पौडेललाई स्वागत गरेको थियो । स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीले बचत तथा ऋण कारोबार बाहेक धेरै सामाजिक क्षेत्रमा काम गरिरहेको बताउँदै नमुना सहकारीको रुपमा स्थापित हुदै गएको सहकारीको प्रगतिको कामना गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका सहसचिव कमल खत्रीले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकी कृष्णकुमारीको उपचारमा सहयोग प्राप्त भइरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रजिअ पौडेलले यूवा तथा स्वरोजगार कार्यक्रम मार्फत लक्षित समुदायमा कर्जाको सुविधा पुग्नुपर्ने बताए । जिल्लामा युवा तथा स्वरोजगा कार्यक्रमका संयोजक समेत रहेका पौडेलले सहकारी मार्फत आर्थिक संगै सामाजिक क्षेत्रमा समेत निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिए ।
दिवसको अवसररमा आयोजित कार्यक्रमको अध्यक्षता सहकारीकी अध्यक्ष जमुना आचार्य, स्वागत उपाध्यक्ष ज्योती लामिछाने र सञ्चालन सचिव विष्णु गौतम सापकोटाले गरेकी थिईन् । सहकारीले आर्थिक अवस्था कमजोर भएका महिला र पुरुष सरह महिलालाई आत्मनिर्भर बनाउन सहुलियतमा ऋण, समान ज्यालाको वकालत, घरेलु हिंसामा परेका महिलालाई कानुनी प्रक्रियामा जान आर्थिक सहयोग, एक वा दुई छोरी भई स्थायी परिवार नियोजन गर्ने दम्पत्तीलाई, सुत्केरी कोसेली, हिंसा पिडित महिला कोष, पेन्सन तथा लखपति बचत योजना लगाएतका सुविधा समेत उपलब्ध गराउने गरेको छ ।