झापा, २५ माघ – आयोजक झापा ११ लाई पन्छाउँदै मनाङ मस्र्याङ्दी क्लबले दोस्रो रमपम झापा गोल्डकपको उपाधि जितेको छ ।
यससँगै उसले यो सिजन उपाधिको हृयाट्रिक गरेको छ । माघ २ मा खप्तड गोल्डकप जितेको दुई साता नवित्दै मनाङले आहा ! रारा गोल्डकपको ट्रफी चालेको थियो । सोमबार भएको फाइनलमा मनाङले झापालाई १–० गोल अन्तरले हराएको हो ।
मनाङको जितमा ओलावलेले ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि जितेसँगै मनाङले ७ लाख रुपैयाँ नगद र ट्रफी हात पारेको छभने झापाले ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । निराजन मल्लले गरेको प्रहार झापाका गोलरक्षक एलन न्यौपानेबाट फुत्किएपछि ओलावाले त्यसलाई सदुपयोग गर्दै आकर्षक गोल गरेका थिए ।
गोल गर्ने थुप्रै अवसरहरु झापाले पाएको भएपनि सदुपयोग गर्न नसक्दा उसले गृह मैदानमा हार व्यहोर्नु पर्यो । खेलको पूर्वाद्र्धमा घरेलु टिमलाई निक्कै टक्कर दिएको मनाङलाई उत्तराद्र्धमा झापाले दवावमा राखेको थियो । उद्यपि, गोल गर्न नसक्दा झापाले उपविजेतामा सीमित बन्नु पर्यो ।
दोस्रो हाफपछि दुवै टिम आक्रमक रुपमा प्रस्तुत भएका थिए । १५ औँ मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गोल गर्ने राम्रो मौका गुमाए । रञ्जित श्रेष्ठको फ्रि–किकमा उनले हेडमार्फत गोल गर्न खोजेका थिए । तर, उनको हेड पोष्टबाट बाहिरिएको थियो ।
३२ औँ मिनेटमा सञ्जोग राईले मिलाइदिएको लामो पासमा झापाका कप्तान कर्ण लिम्बु चुकेका थिए । ३९ औँ मिनेटमा झापाका रजिन धिमालको कडा फ्रि–किक मनाङका गोलरक्षक दिनेश थापाले बाहिर हुत्याइदिए । खेलको १३औँ मिनेटमा मनाङका निराजन मल्लको प्रहार बाहिर गएको थियो । १६ औँ मिनेटमा मनाङका कप्तान सुजलको प्रहार झापाका गोलरक्षक एलन न्यौपाने बिट भएको अवस्थामा पोलमा लागेर फर्किएको थियो । दोस्रो हाफका ४२ औँ मिनेटमा झापा बराबरी गर्ने अवसरबाट चुकेको थियो ।
रञ्जित श्रेष्ठको प्रहारले सही दिशा लिन नसक्दा झापाले बराबरी गर्ने अवसर गुमाएको हो । खेलको खेलको म्यान अफ द म्याच मनाङका निराजन मल्ल भए । उनले नगद ७ हजार रुपैयाँ पाए । त्यस्तै, मनाङका रोहित चन्द प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे । झापाका कर्ण लिम्बू र देवेन्द्र तामाङ हाइ स्कोरर बने ।
उनीहरुले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, झापाकै देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्स घोषित भए । उनले पनि नगद १५ हजार रुपैयाँ पाए । झापाका रञ्जित श्रेष्ठले उत्कृष्ट मिडफिल्डर घोषित हुँदै १५ हजार रुपैयाँ नगद पाए भने झापाकै एलन न्यौपाने उत्कृष्ट गोलरक्षक घोषित भए ।
उनलाई १५ हजार ६ सय रुपैयाँ बराबरको एन्ड्रोइड फोन दिइयो । उत्कृष्ट प्रशिक्षक भने मनाङका छिरिङ लेप्चा बने ।
Previous Article‘घामपानी’ नयाँ वर्षमा रिलिज
Next Article मुठ्ठीदान र उपचारको लागि सहयोग