काठमाडौँ, २५ माघ – सरकारले बाथ मुटु रोग लाग्न नदिन र प्राथमिक चरणमै उपचार गर्न आवश्यक औषधि देशभर नि:शुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक गृहकार्यसमेत पूरा गरेको छ ।
यसअघि सरकारले अगामी फागुन १ देखि बाथ मुटु रोगका लागि भल्भ फेर्ने या मर्मत गर्ने शल्यक्रियासहितको उपचार नि:शुल्क गर्ने घोषणा गरिसकेको छ । ‘बाथ मुटु रोग भइसकेपछि युवामा देखिने भल्भको मर्मत वा फेर्नुपर्ने समस्याका लागि शल्यक्रियालगायतका उपचार नि:शुल्क गरिसकिएको छ,’ स्वास्थ्यमन्त्री गगन थापाले सोमबार भने, ‘समयमै केही रुपैयाँको एन्टिबायोटिक सहितको उपचार गर्दा शल्यक्रियासम्मको स्थिति आउन दिँदैन, त्यही कारण सरकारले फागुन १ देखि नै लागू हुने गरी देशभर एन्टिबायोटिकसहित औषधि नि:शुल्क गर्न लागेको छ ।’
शल्यक्रियामा हुने अत्यधिक लगानीको भार कम गर्नसमेत घाँटीको संक्रमण हुनासाथ एन्टिबायोटिकसहितको उचित उपचारलाई नि:शुल्क गर्न लागिएको जानकारी उनले दिए । ‘बाथ ज्वरोको प्रारम्भिक अवस्थामै उचित उपचारले स्वास्थ्यसम्बन्धी थप जटिलता आउन नदिन सरकारले एन्टिबायोटिकसहितको उपचार नि:शुल्क गरेको हो,’ थापाले भने ।
बाथ मुटु ज्वरोको ‘सुई’ सहित औषधिसमेत फागुन १ देखि गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा नि:शुल्क सुरु हुनेछ । अरू सरकारी अस्पतालले पनि आफ्नै संसाधनबाट उपलब्ध गराउन सक्ने भए तत्काल नि:शुल्क सेवा सुरु हुनेछ । नसक्ने भए सरकारले केही दिनमै विशेष व्यवस्थासहित सरकारी अस्पतालहरूलाई नि:शुल्क सेवा उपलब्ध गराउन आवश्यक उपकरण उपलब्ध गराउने जानकारीसमेत उनले दिए । यो रोगले मुटुको भल्भ एकपटक बिग्रे शल्यक्रियाबाट मात्र ठीक पार्न वा भल्भ फेर्न सकिन्छ । गंगालालका निर्देशक डा.ज्योतीन्द्र शर्माका अनुसार केन्द्रद्वारा गरिएको एक अध्ययनमा एक हजार स्कुले बालबालिकामा एकदेखि दुई जनासम्मलाई बाथ मुटु रोग लाग्ने गरेको पाइएको छ । उनका अनुसार मुटुको नोक्सान हुनुअगावै यो रोग थाहा पाउनाले र यसपछि २५ वर्षको उमेरसम्म हरेक महिना पेनिसिलिनको सुई लगाउनाले मुटुलाई बढी नोक्सान हुनबाट जोगाउन सकिन्छ ।
स्ट्रेप्टोकोकस ब्याक्टेरिया संक्रमित घाँटीको वा स्कार्लेट ज्वरोको उचित उपचार नहुँदा बाथ मुटुरोग, बाथ ज्वरो लाग्न सक्छ । ब्याक्टेरियाले गर्दा हुने बाथ ज्वरोले गर्दा जोर्नी र मुटुमा असर पर्छ । स्कुल जाने उमेरका अर्थात् ५ देखि १५ वर्षसम्मको उमेर समूहमा यो ज्वरोको असर हुन्छ ।स्ट्रेप्टोकोकल ब्याक्टेरियाका अनेक प्रजातिमध्ये समूह ‘ए’ नै यो रोगको कारक हो । स्कूले बालबालिकामा यो रोगका कारण सुन्निँदा मुटु स्थायी रूपमा क्षतिग्रस्त हुन सक्छ । हाल एन्टिबायोटिकको उपलब्धताले गर्दा फैरिनजाइटिसको उपचारपछि यो रोगमा कमी देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंह बताउँछन् । डा. सिंहका अनुसार यो रोग स्ट्रेप्टोकोकल ब्याक्टेरियाबाट हुने घाँटीको संक्रमणको उपचार नगर्दा अथवा पूर्ण उपचार नगरेको केही दिनपछि हुन्छ । यसमा घाँटीमा संक्रमणको समय ज्वरो, घाँटीको टन्सिलमा रातोपना, घाँटीको गिर्खा (लिम्फनोड) ठूलो वा दुख्ने हुन सक्छ । तर यो लक्षण बच्चा वा किशोरमा कहिलेकाहीं धेरै कम वा नहुन पनि सक्छ । प्रारम्भिक संक्रमणपछि बच्चाहरू दुईदेखि तीन सातासम्म सामान्य रहन्छन् । यसपछि ज्वरोसँगै अन्य लक्षण देखिन थाल्छ ।
समूह ‘ए’को स्ट्रैप्टोकोकल संक्रमणमा सामान्य छालाको संक्रमण वा घाँटीको कडा दुखाइदेखि ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिन सक्छ । डा.सिंहले ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा घाँटी दुख्ने, हल्का ज्वरो आउने, जोर्नीहरू दुख्ने समस्या देखिए बेलैमा चिकित्साकर्मीसमक्ष उपचार गराउन लैजानुपर्ने सल्लाह दिए । मुख्य रूपमा घाँटी संक्रमणको समस्या देखिए स्वास्थ्यकर्मीको सल्लाहमा उचित एन्टिबायोटिक वा औषधिसहितको उपचार प्रक्रियामा गए बाथ मुटु रोग लाग्नबाट जोगिन सकिन्छ ।
Previous Articleअसारमा २० प्रतिशतभन्दा बढी पूँजीगत खर्च नगर्न निर्देशन
Next Article साइबर अपराध बढ्यो, ५६० उजुरी दर्ता