बागलुङ, २२ माघ/बिहुँको अमर माविमा पढ्ने देवी कंडेलका सबै साथीले बोक्ने झोला एउटै रंग र डिजाइनको छ । उनीहरुले बजारमा पाइने आधुनिक डिजाइन र महंगो झोला बोक्दैनन् । स्थानीय उत्पादन प्रयोगमा उनीहरुले अभियान जस्तै चलाएका छन् । गाउँका महिला उद्यमीले तयार गर्ने झोला बोकेर विद्यालय जाँदा आजकल ड्रेस जस्तै बनेको विद्यार्थीले बताए । सबै साथीले उस्तै झोला बोक्दा गाउँका उद्यमीको व्यापारमा सहयोग पुगेको छभने हाम्रो पहिचान बढेको छ’ एक छात्राले भनिन्, बजारका झोला भन्दा सस्तो र बलियो पनि छ । झण्डै तीन बर्ष अघि एकदुइ जनाले बोक्ने झोलामा आर्कषण बढेपछि अमर माविका झण्डै ५ सय विद्यार्थीले उस्तै झोला किनेका हुन् । विद्यालयमा आउने पाहुनाले एकपटक अडिएर उनीहरुको झोला हेरेर जाने गरेका छन् । बिहुँकै भीमसेन मावि, नरेठाँटी, दुदिलाभाटी, तंग्राम गाविसका दर्जनबढी विद्यालयमा पनि त्यस्ता झोलाको विक्रि भएको उद्यमी सरस्वती परियारले बताइन् । बिहुँ ६ दहपानीका दलित महिलाले निर्वाहका लागि बुनेको झोला विक्रि भएपछि व्यवसायिक बन्न पाएका छन् । विद्यालय र गाउँघरमा भएको विक्रिबाट उनीहरुले घरखर्च पु¥याएर दैनिक बचत गर्न पनि भ्याएका छन् । ‘मजदुरीमा गएर कमाएकोले घरखर्च चलाउनु पथ्र्यो, अहिले घरघरबाट झोला विक्रि भएका छन्’ सचेतना झोला समूहकी अध्यक्ष समेत रहेकी सरस्वती परियारले भनिन्, ‘अहिले हाम्रो जीवनस्तर पनि फेरिएको छ ।’ दलित बस्तीलाइ हेर्ने दृष्टीकोण पनि फेरिएको उनले बताइन् । छिमेकी छन्त्याल र अन्य मगरबस्तीका महिलाले पनि झोला बुन्ने कामलाइ पेशाको रुपमा लिन थालेका छन् । मजदुरी खोजेर भौतारिनेहरुले घरैमा रोजगारी पाएको पनि बताए । ‘घरमा बसेर रोजगारी पाएका छौं’ स्थानीय दिलमाया छन्त्यालले भनिन्, ‘घरको काम सकेर फुर्सद हुनासाथ झोला बुन्न बसिहाल्छौं ।’ उनीहरुले दुइ दिनमा तीनवटा झोला बुनेर प्रति गोटा ५ सय रुपैयाँ सम्ममा विक्रि गर्छन् । यसरी काम गर्दा खर्च कटाएर मासिक १२ देखि १५ हजार रुपैयाँसम्म कमाउन सफल भएको उनीहरुले बताए । एउटै वा अर्डर अनुसार रंगिन धागोबाट उनीहरुले झोला बुन्ने गरेका हुन् । विद्यार्थीले बढी चासो राखेकोले बजार खोज्न समस्या नभएको उनीहरुले बताए । विद्यालयमा झोलाको माग बढेको छन्त्यालले बताइन् । ‘बजारको झोला भन्दा सस्तो र राम्रो पाएकोले धेरैले किनेका छन्’ अमर उमाविकी अर्की छात्रा शर्मिला परियारले भनिन्, ‘अहिले हाम्रा साथीले विद्यालयको ड्रेस जस्तै झोलामा पनि एकरुपता बनाएका छन् ।’ एउटै झोलाले विद्यालयमा ठूलो सानो, धनी गरिव भन्ने भावना अन्त्य भएको उनले बताइन् । विद्यालयले पनि एकरुपता भएकोले बुनेकै झोला बोक्न आग्रह गरेको शिक्षकहरुले बताए । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा जिल्ला लघुउद्यमी संघले ‘साझा सुविधा केन्द्र’ बनाइदिएपछी महिलाहरुले एकैठाउँमा बसेर झोला बुन्ने चलन पनि चलेको हो । चारबर्ष अघि गाउँमा सडक निर्माणको क्रममा प्रभावित बासिन्दालाइ शिपमुलक तालिम दिइएको थियो । सदरमुकाम देखि बिहुँको घोडाबाँधे सम्मको २५ किमी सडक निर्माणको क्रममा प्रभावितलाइ दिइएको व्यवसायिक तालिमले महिलाहरु उद्यमी भएका हुन् । तीमध्ये अहिले २४ जनाले झोला बुन्दै आएका छन् ।